यी हुन् ११ घण्टा उल्टो दौडिएर काठमाडौँबाट दोलालघाट पुग्ने सञ्जय
काठमाडौँ: विश्व पर्वतारोही सञ्जय पण्डित ११ घण्टा ४१ मिनेट ५७ सेकेन्ड निरन्तर उल्टो दौडेर काठमाडौंबाट दोलालघाट पुगेका छन् ।
लामो दुरीका धावक पण्डित कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्म (५२.२ किलोमिटर) उल्टो दौडिएका हुन् । उल्टो हिडेरै अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को सफल आरोहण गरेका पण्डितले नयाँ कीर्तिमान बनाएका छन् । २२ नोभेम्बर २०१४ मा उनले अष्ट्रेलियाको सर्वोच्च शिखर सफल आरोहण गरेको दिन पारेर मंगलबार उल्टो दौड गरेका हुन् ।
धावक पण्डितसँगै नेपालका चर्चित धावक भूमिराज राई, म्याराथन धावक सुरेन्द्र बस्नेत र केन्याका धावक पिटर मोङ्गेसहित १० जना दोलालघाट पुगेका थिए ।
मंगलबार बिहान ७ बजेर २५ मिनेटमा पूर्वअर्थ मन्त्री डा. रामशरण महत, ट्राफिक प्रमुख डीआइजी प्रकाश अर्याल, हिसानका अध्यक्ष रमेश कुमार सिलवाल, पूर्व सांसद् वीरबहादुर सिंह लगायतले राजधानीबाट उनलाई संयुक्त रुपमा बिदाइ गरेका थिए ।
दोलालघाटमा पुग्दा उनलाई प्रहरी प्रमुख वीरेन्द्रकुमार सिंह तथा स्थानीयबासीले स्वागत गरेका थिए । सञ्जयसहितको टोली दोलालघाटमा मङ्गलवार बेलुका ८ बजेर १४ मिनेटमा पुगेको थियो ।
पण्डितको टोलीलाई दौड अवधिभर नेपाल पुलिस तथा ट्राफिक पुलिसले साथ दिएको थियो ।
‘मैले यो संसारलाई मान्छे उल्टो हिँड्नमात्र होइन, उल्टो दौडन पनि सक्छ भन्ने कुरा प्रमाणित गरिदिएको छु’, दौड पूरा गरेपछि अन्नपूर्णसँग खुशी साट्दै पण्डितले भने, ‘अष्ट्रेलिया र अफ्रिकाको सर्वोच्च शिखर उल्टो हिँडेर आरोहण गर्दा लामो दुरी दौडन सकिन्छ भन्ने आत्मविश्वास बढेको थियो । आज त्यो आत्मविश्वास प्रमाणित भएको छ ।’