कृषि विश्वविद्यालयमा प्रवेश परीक्षा र राजनीति
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कृषि तथा पशु विज्ञान अध्ययन संस्थानकै पालादेखि निष्पक्ष प्रवेश परीक्षाको लागि धेरै पहिलेदेखि नाम चलेको शिक्षण संस्था हो । बरु अरू नाम चलेका शिक्षण संस्थाका प्रवेश परीक्षा कहिलेकाहीं विवादमा परेको सुनिन्थ्यो ।
रामपुरमा विवाद परेको थाहा छैन । पंक्तिकारले पनि २०३५ सालमा प्रवेश परीक्षा दिएर रामपुरमा कृषि स्नातक अध्ययन प्रारम्भ गरेको थियो । सयवटा वस्तुगत प्रश्नको सही उत्तर छान्न एक घन्टाको समय हुन्थ्यो । त्यसबेलाको एउटा प्रश्न– एक धार्नी फलाम र एक धार्नी कपासमा कुन गह्रौं हुन्छ ?
गएको कात्तिक २५ र २७ गते स्नातक तहको भेटेरीनरी र फिसरिजको लागि प्रवेश परीक्षाको कार्यक्रम थियो । परीक्षार्थी धेरै भएकाले रामपुरलगायत भरतपुर र अन्यत्र पनि परीक्षा केन्द्र थिए । त्यसको केही दिनअघि नै परीक्षार्थीको नामावलीसहित परीक्षा केन्द्रको तालिका प्रकाशित भएछ । त्यसलाई लिएर विद्यार्थीबाट विरोध भएछ, भनसुन र चलखेल हुन सक्ने आशंकामा । व्यवस्थापनले उक्त कुरा महसुस गरेर प्रकाशित तालिका रद्द गरेपछि अर्को तालिका प्रकाशित गरेछ । यो दुवैतर्फबाट भएको राम्रो काम थियो ।
कात्तिक २५ गते बिहानै विद्यार्थी सकिनसकी मेच, टेबुल, बेञ्च बोकेर यताउती गरिरहेका थिए । मैले भन्ठानें, परीक्षा कक्ष तयारी गर्नको लागि सघाउँदै होलान् । गेटबाहिर पौने साततिर पुग्दा त्यहाँ त मेला सुरु भइसकेको रहेछ ।
सबैले आआफ्ना राजनीतिक दलका चुनाव चिन्ह र तिनका नेताहरूका ओजस्वीपूर्ण तस्बिरसहितको ब्यानर र टिसर्ट लगाएर मूल सडकको किनारमा सहयोग डेस्क राखेर बसेका थिए । हाम्रा विद्यार्थी कति लगनशील रहेछन् भनेर गर्व पनि लाग्यो ।
डेस्कको सम्पर्कमा आउनेको नाम र मोबाइल टिप्थे, अनि पम्पलेट÷ब्रोसर दिन्थे । विस्तारै भीड बढ्दै गयो । त्यसको करिब १५० मिटर पर क्याम्पसको भेटेरीनरीतर्फ जाने गौंडामा पनि त्यस्तै चहलपहल थियो । त्यहाँ पनि दुईजना विद्यार्थी मुक्कामुक्की गर्न लागेका रहेछन् ।
यी देख्दा नेपालको राजनीति पो राजनीति, भर्खरै अमेरिकामा सम्पन्न भएको राष्ट्रपतिको निर्वाचन के राजनीति हो र भन्ने लाग्यो । त्यहाँ निर्वाचन नहुञ्जेल एकले अर्कोलाई तल्लो स्तरसम्मै खेदो खने । निर्वाचन सकिएपछि एकले अर्कोको तारिफ । हामीकहाँ जस्तो जरैदेखि पलाएको राजनीति कहाँ पो होला र ! अनि आमाबाबुले हाडछाला घोटेर कमाएको पैसाले त्यसरी दिलोज्यान दिएर राजनीति गर्ने विद्यार्थी कार्यकर्ता र भोलिका नेता र राजनेता ती मुलुकमा कहाँ पाऊन् ? हाम्रा दल र नेताहरू ज्यादै भाग्यमानी र स्रोतयुक्त छन् । स्वयंसेवी स्वतस्पूmर्त निस्कन्छन्, अनि दल र संगठनका लागि तँछाडमहाड गर्छन्, मरिमेट्छन् । मान्नैपर्छ ।
कात्तिक २७ गते रामपुरको क्याम्पस गेट पुग्दा साँझ सवा ५ बजेको थियो । बाहिर दुईचारजना प्रहरी र भित्रपट्टि डिनको कार्यालयवरपर केही भीड र प्रहरी भ्यान थिए । परीक्षा सकिएकै दिन नतिजा प्रकाशित गरिहाल्ने भएकोले मलाई लाग्यो, उत्तरपुस्तिकाको जाँच हुँदै होला र सुरक्षाको लागि प्रहरी बसेका होलान् ।
कोठामा पुग्नुअघि घुम्ती पसलका साहुजीसँग एकैछिन हेलो भो । मैले भनेँ, आज त रमाइलै भयो होला नि, झगडा त भएन नि ! उत्तर पाएँ– किन नहुनु, गाडी नै फोडे । उनले थपे, यो क्याम्पस त राजनीतिको लागि नाम चलेकै छ नि ।
त्यसपछि क्यान्टिनमा पुगें । क्यान्टिनका थापा भाइले भने, सर त आउनु भो, फेरि भोलिदेखि ‘साइन–डाइ’ रे ! हो र ! त्यसो भए त मेरो तालिम कार्यक्रम पनि नहुने होला, म त भोलि नै फर्कन पाउने भएँ भनेर ठट्टा गरेँ । मैले पनि सुनेको मात्रै हुँ, बुझेर मात्र फर्कनु होला भनें । मेरा विद्यार्थी सागर जीसीलाई फोन लगाएँ ।
उनले पनि त्यस्तै हल्ला छ, एक हप्ताको लागि होस्टेल खाली गर्ने रे । पढाइ त बन्द नहोला कि भने । खाना खाँदै थिएँ, अर्को विद्यार्थी सुष्मा मरहट्टाको फोन आयो, उनको फिल्ड अनुसन्धानको सिलसिलामा । उनले पनि पाँच दिनको लागि होस्टेल बन्द गर्ने कुरा सुनेकी रहिछन् ।
क्यान्टिनमा बस्दाबस्दै त्यहाँ भएका विद्यार्थीसँग कुरा बुभेँ, दुई भिन्न संगठनबीचका विद्यार्थीबीच भरतपुर परीक्षा केन्द्रमा झगडा भएको रहेछ । त्यही झगडा रामपुरमा पनि सल्किएछ । प्रहरीले लाठीचार्ज गरेछन् । केही विद्यार्थीलाई पक्रेछन् । धेरैले प्रहरीको कुटाई खाएछन् । भोलिपल्ट के भएछ भनेर क्यान्टिनमै आएका विद्यार्थीसँग सोधेँ । हो, पाँच दिनको लागि बन्द भएछ, होस्टेल छोड्दैछन् । धेरै घर गइसके भने । पछि आपैmंले सूचना पढेँ । प्रवेश परीक्षा सकिएपछि केही असामान्य अवस्था सिर्जना भएकाले कात्तिक २७ देखि मंसिर २ गतेसम्म पठनपाठन बन्द रहने र छात्राबास खाली गराउने सूचना रहेछ ।
‘साइन–डाइ’ होइन । गएको तिहार सुरु हुनु केही दिन अघिसम्म करिब एक महिना रामपुरमा ‘साइन–डाइ’ थियो । विश्वविद्यालयमा झगडा, तोडफोड र खासगरी दुई पक्षका विद्यार्थीबीच झगडा भएर स्थिति नियन्त्रणभन्दा बाहिर गएमा वा जानसक्ने देखिएमा प्रशासनको सहयोगमा अनिश्चितकालको लागि बन्द गर्ने र होस्टेल अनिवार्य खाली गराउनेलाई ‘साइन–डाइ’ भन्ने रहेछ । त्यसअघि ‘साइन–डाइ’ भनेको मलाई थाहा थिएन ।
कात्तिक २५ गते लिएको परीक्षाको नतिजा सोही दिन बेलुकी नौ बजेतिर प्रकाशित भएछ, र कात्तिक २७ कोचाहिँ राति दुई बजे । सुनेअनुसार सो दिनको घटनालाई लिएर केहीले प्रवेश परीक्षाको नतिजासमेत रोक्ने प्रयास गरेका रहेछन् । तर पहिलादेखिको साख जोगाउन धेरैको जोड र प्रयासमा राति नै परीक्षाफल प्रकाशित भएछ । त्यो राम्रो भयो । भेटेरीनरी र फिसरिजतर्फ १७ सय ४६ जनाले परीक्षा दिएकोमा नौ सय ८४ जना भेटेरीनरीमा र ३५२ जना फिसरिजमा उत्तीर्ण भएछन् (उत्तीर्ण अंक, १०० मा ४०) ।
तीमध्ये भेटेरिनरीमा ५० र फिसरीजमा १६ जनाले मेरिट लिस्टअनुसार भर्ना पाउँछन् । कृषितर्फ ३७ सय ९६ जनाले परीक्षा दिएकोमा १४५३ उतीर्ण भएछन् । तीमध्ये रामपुरमा १६५ र कास्कीको पुरनचौरमा ५० जनाले मेरिट लिस्टअनुसार भर्ना पाउँछन् ।
एउटा रमाइलो पक्ष के छ भने एएफयूको कृषि संकायतर्पmको डिनको कार्यालय र त्रिविको डिनको कार्यालय एउटै भवनमा छन् । मूल ढोकामा एएफयूतर्फ तालाबन्दी र त्रिवितर्फ खुला थियो । त्यो कसरी सम्भव भयो भने भवन एउटै भए पनि दुइटा मूल ढोका सँगसँगै छन् । एउटा ढोकामा तालाबन्दी एएफयूको नाममा र अर्को ढोका खुला त्रिविको नाममा ।
यहाँनिर राम्रो कुरा के छ भने मुलुकको राजनीति र शिक्षाको अवस्था जेजस्तो भए पनि कृषि क्षेत्रमा उच्च अध्ययन गर्न चाहनेहरु (महिला र पुरुष दुवै) बढ्दो छ । यो कृषि क्षेत्रको लागि उत्साहप्रद छ र मुलुककै लागि राम्रो सूचक हो ।
यो त भयो एएफयूतर्फको प्रवेश परीक्षा । त्रिवि र एएफयूबीच कचमच भएपछि केही वर्षयतादेखि त्रिविले रामपुर छोडेर लमजुङ र पक्लिहवामा मात्र कृषि स्नातक कार्यक्रम चलाउँदै आएको छ । यो वर्षदेखि त्रिविले फेरि रामपुरमै कृषि स्नातक खोल्ने निर्णय गरेको सुनियो । भर्नाको लागि विज्ञापन भइसकेको छैन ।
यसै विषयलाई लिएर एएफयूका विभिन्न प्राध्यापक संगठनले विरोध जनाएका छन् भने जिल्लास्तरमा राजनीतिक छलफल भएछ । त्यसबेला एएफयूका पक्षधर स्थानीय नेताहरू अहिले एएफयू र त्रिवि दुवै चाहिन्छ भन्न थालेका छन् रे ! त्रिविले चितवनकै शक्तिखोर (तत्कालीन माओवादी क्यान्टोन्मेन्ट) मा कृषि कलेज खोल्ने कार्यक्रम पनि छ । जे होस्, अहिलेको विद्यार्थीको चाप नै राम्ररी धान्न नसकिरहेको अवस्थामा दुइटा विश्वविद्यालयले एकै ठाउँमा पठनपाठन गर्दा कसरी गुणस्तरीय पढाइ र अन्य व्यवस्थापन हुन सक्ला ? अर्को यसले नयाँ झगडाको बीउ रोप्ने पक्का छ ।
माथि उल्लिखित सूचनाअनुसार मंसिर २ सम्म होस्टेल खाली राख्ने र पठनपाठन बन्द हुने थियो । त्यसअगावै केही प्राध्यापक र विद्यार्थी संघ संगठनले कात्तिक २७ गतेको घटनालगायतलाई लिएर अनिश्चितकालीन बन्दको आह्वान गरे । सोहीअनुरूप बन्द भयो र नयाँ भर्ना प्रक्रिया पनि अवरुद्ध भयो । यही मंसिर ६ गतेदेखि खोलिने हल्ला थियो । यो लेख तयार गर्दासम्म बन्दै थियो । लामो समयदेखि पटकपटक भइरहेको बन्दले विद्यार्थी धेरै मर्कामा परिरहेका छन् । यद्यपि, बन्दको विरुद्ध सबैको मुख बन्द छ ।
बन्दका बेला गेटहरूमा ५÷६ वटा ताला लागेका हुन्थे । हडताल र बन्द गर्नेहरू विभिन्न विद्यार्थी संघसंगठनलगायत प्राध्यापक र कर्मचारीको संघसंगठन पनि हुन्थे । माग आआफ्नै हुन्थ्यो । माग हेर्दा सबैको जायजै लाग्थ्यो । त्यसभित्र केके राजनीति घुसेका हुन्थे, त्यो तिनै जानून् ।
एउटा रमाइलो पक्ष के छ भने एएफयूको कृषि संकायतर्फको डिनको कार्यालय र त्रिविको डिनको कार्यालय एउटै भवनमा छन् । मूल ढोकामा एएफयूतर्फ तालाबन्दी र त्रिवितर्फ खुला थियो । त्यो कसरी सम्भव भयो भने भवन एउटै भए पनि दुइटा मूल ढोका सँगसँगै छन् । एउटा ढोकामा तालाबन्दी एएफयूको नाममा र अर्को ढोका खुला त्रिविको नाममा । यस्तो रमाइलो पहिलेपहिले पनि देखिन्थ्यो । त्यसबेला यो भवन बनाउनेले भोलि यी दुइटा हुन्छन् भनेर बनाएका होइनन् । जे होस्, अहिले काममा आएको छ ।
यसरी एएफयूको आफ्नै आन्तरिक समस्या अनि त्रिविसँग सम्पत्ति हस्तान्तरणलगायतको विषयमा किचलो । त्यसमाथि चरम राजनीतिक हस्तक्षेप । कहिले र कसरी यो विश्वविद्यालयले विशुद्ध प्राज्ञिक र अध्ययनशील वातावरण पाउने ? मैले बुझेको अहिले यी दुइटा विश्वविद्यालयबीचको किचलो केको लागि भन्दा राजनीतिको लागि । राजनीति केको लागिभन्दा दलविशेषको भागबन्दा र खेल मैदानको लागि । होइन भने दुवै विश्वविद्यालय सरकारी नै हुन् । अहिले मुलुकमा सरकार एउटै छ ।
यी दुईबीचका समस्यालाई सरकारको एउटै निर्णयले समाधान गर्न सक्छ । तर गर्न किन चाहन्नन् ? सबैले बुझेकै हो, रामपुरको कृषि क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउने (पछि बन पनि जोडियो) । रामपुरको कृषि क्याम्पसलाई छोडेर त्यही परिसरमा छुट्टै कृषि विश्वविद्यालय बनाएको हो भने त्यो आवश्यक नै थिएन । किनकि पहिलेकै कृषि क्याम्पसले मिनी कृषि विश्वविद्यालयको काम गर्दै आएको थियो र त्यो नै काफी थियो ।
किन देखाउनको लागि मात्र छुट्टै विश्वविद्यालय चाहियो ? अर्कोतिर त्रिविले लमजुङको सुन्दरबजार र रूपन्देहीको पक्लिहवामा अन्डरग्र्याजुएट र काठमाडौंको कीर्तिपुरमा पोस्टग्र्याजुएट कार्यक्रम चलाइरहेकै छ । फेरि रामपुरमै किन चाहियो ? एएफयू त त्रिविकै सन्तति हो ।
दुइटा विश्वविद्यालयबीचको समस्या कहिलेकाहीँ पानी बाराबारको स्थितिसम्म पुगेको बुझिन्छ । करिब दुई महिनाअघि त्रिवितर्फ नयाँ डिन नियुक्त भएपछि रामपुरमा भएको आफ्नो कार्यालयमा पद बहाली गर्न आएछन् । अर्को पक्षले पस्नै दिएनछ । एकातिर अवस्था यस्तो छ, अर्कोतिर तीबीच अति सुमधुर सम्बन्ध पनि छ ।
जस्तै– अहिले त्रिविका प्राध्यापक एएफयूका रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष छन् । यसले पनि देखाउँछ, समस्या आन्तरिक होइन, राजनीतिक हो । सरकार र दल मिलेर एउटा ठोस निर्णय गर्यो भने समस्या तुरुन्तै समाधान हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफै रामपुरकै पूर्वविद्यार्थी हुन् र चितवननिवासी पनि । त्यसैले दुई विश्वविद्यालयबीचको झगडा उनैले अविलम्ब टुंग्याउनुपर्छ ।