काठमाडौेमा १८ देशको लोकसंगीत
काठमाडौंः प्रविधिको विकासले साघुरिँदै गएको विश्वमा लोकसंस्कृति हराउँदै गएको छ । राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा यतिबेला १८ देशका लोकसंगीतसम्बन्धी चलचित्रहरू देख्न पाइन्छ । बिहीबारदेखि ‘छैटौं लोकसंगीत फिल्म महोत्सव' सुरु भएको हो । पहिलो दिन बिहीबार चिली, ओमान, दक्षिण अफ्रिका, नेपाललगायतका देशका वृत्तचित्र तथा चलचित्र देखाइयो ।
ओमानको परम्परागत संगीतको बारेमा पिटर हडसनले बनाएको वृत्तचित्र रोचक थियो । वृत्तचित्रमा परम्परागत संगीतलाई अहिलेको पुस्ताले कसरी अगाडि बढाइरहेको छ भन्ने कुरा देखाइएको छ । अहिले विवाह पार्टी वा अन्य कार्यक्रममा धेरैजसो डिजे राखेर संगीत व्यवस्थापन गरिन्छ ।
तै पनि केही युवाले परम्परागत संगीत जोगाइरहेका छन् । सामाजिक सञ्जालमार्फत यी संगीतलाई अन्य देशमा पनि फैलाउने काम गरिरहेका छन् । यसमा पुरानो पुस्ताले गर्व गरिरहेको छ । अर्को रोचक कथा थियो दक्षिण अफ्रिकाका किशोरहरूको ‘स्केटिङ' मोह ।
दक्षिण अफ्रिकाको लाङ्गाका बालक तथा किशोरहरू ‘स्केटिङ' कै लागि छिटोछिटो गृहकार्य सक्ने कथा त्यहाँ देखाइएको छ । बाटो बाटोमा ‘स्केटिङ' गर्दै सबैलाई चकित पारेको दृश्य वृत्तचित्रमा कैद छ । उनीहरूको सिकाइ प्रक्रिया, सिक्दासिक्दै लडेको दृश्यहरू रमाइलो थियो । वृत्तचित्रले त्यहाँको एउटा कथालाई टपक्क टिपेको छ ।
नेपाली वृत्तचित्र ‘सारंगी मेरो सारंगी तिम्रो' मा पद्मबहादुर गन्धर्वको कथा थियो । सारंगी बनाएर बजारमा बेच्ने पद्मबहादुरको पूरै परिवार यसमा संलग्न छ । सारंगी नै उनीहरूको मुख्य व्यवसाय हो । सारंगी बनाउने सबै प्रक्रिया वृत्तचित्रमा देखाइएको छ ।
सूचनाको संवाहक गन्धर्व जातिको सारथि सारंगीको माग अहिले देशमा भन्दा विदेशमा बढि छ । तनहुँमा जंगलको रूख ढालेर त्यही काठबाट सारंगी बनाई काठमाडौंमा बिक्री गर्न ल्याउँदासम्मको सम्पूर्ण कथा वृत्तचित्रमा समेटिएको छ ।
तीनदिने महोत्सवमा १८ देशका २८ वटा वृत्तचित्र तथा चलचित्र देखाइनेछ । दिउँसो १ बजेदेखि ५ बजेसम्म तीनवटा शो हुन्छन् । नेपाली लोकबाजा संग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सहआयोजनामा सुरु भएको महोत्सवमा सर्वोत्कृष्ट तथा उत्कृष्ट गरी ६ वटा चलचित्रलाई पुरस्कृत गरिनेछ ।
यसका लागि अन्तर्राष्ट्रिय निर्णायक समिति गठन गरिएको छ । सोही अवसर पारेर लोकबाजा संग्रहालयमा बेलायतका वृत्तचित्र निर्माता तथा अनुसन्धाता र कार्यक्रमका निर्णायक टोलीका सदस्य करेन बोसवालले लोकसंगीत र संस्कृतिसम्बन्धी अडियो भिडियो डकुमेन्टेसन तालिम दिइरहेका छन् । १४ दिने तालिममा १८ जना सहभागी रहेको जानकारी संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले दिए ।