फाटकशिला विद्यालयलाई नबिल बैंकको सहयोग
काठमाडौः नबिल बैंकले सिन्धुपाल्चोकको फाटकशिला माध्यमिक विद्यालयलाई विद्यालय निर्माणका लागि सहयोग स्वरूप चार लाख एक हजार सात सय प्रदान गरेको छ । भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीको पढाईमा सहयोग पुगोस् भनेर नबिल बैंकका कर्मचारीले आफ्नो तलबबाट कट्टा गरी उक्त सहयोग प्रदान गरेका हुन् ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले सहायक महा–प्रबन्धक रमेशप्रसाद लोहनी र विनयकुमार रेग्मीका साथै बैंकका कर्मचारी संघका पदाधिकारीलगायत अन्य कर्मचारीको उपस्थितिमा उक्त विद्यालयका प्रधानाध्यापक इश्वर चौलागार्इंलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । साथै भवन निर्माणका लागि भवनको शिलन्याससमेत भएको छ ।
बैंकका कर्मचारीकोतर्फबाट भूकम्पबाट बास गुमाउन पुगेका पीडित परिवारलाई अस्थायी बसोबासका लागि सिन्धुपाल्चोकको भिमटार तथा दोलखाको सुनखानी गाविसका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको थियो ।