संविधान संशोधनले देशमा राजनीतिक द्वन्द्व निम्त्याउँछ: ज्ञवाली
काठमाडौं: नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको तयारीले मुलुकमा राजनीतिक र सामाजिक द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्।
प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनको काठमाडाैंमा शुक्रबार उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा भएको बताए। उनले भने,' संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ, यसको मानक परिभाषा सुन्ने मन छ।'
ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताए। रासस