बिर्सिएका भगीरथ जैसी 

बिर्सिएका भगीरथ जैसी 

‘खिलशर्मा राजीवलोचन जोशी स्मारक प्रतिष्ठानको २८ औं पुष्पका रूपमा ‘प्रसिद्ध ज्योतिषी भगीरथ जैसी' (? ) नाम दिएर एक पुस्तक प्रकाशित भएको पाइयो । प्राज्ञ दिनेशराज पन्तले लेख्नुभएको कृति विवाहपञ्चमी २०७२ साल पुस १ गते विमोचित भएको थियो । गोर्खाका भगीरथ जैसी को थिए ? उनले कस्ता काम गरेका थिए ?

तिनका प्रसिद्धिका बारेमा इतिहास लेखी ‘प्रसिद्ध ज्योतिषी'को उपाधि पनि दिइएको सन्दर्भ छ । उनी बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै समयतिरका देखिन्छन् । लेखकीय वक्तव्यमा उक्त कृतिका पात्र ‘प्रसिद्ध ज्योतिषी भगीरथ जैसी'को अनुसन्धान गर्दाको यात्रा वृत्तान्त पनि छ । लेखक भन्नुहुन्छ- ‘गोर्खाका इतिहास तयार पार्ने प्रसंगमा वि.सं. २०३७ साल मार्गमा गोर्खाको विभिन्न ठाउँमा जाने प्रसंगमा म ‘लुइँटेलबजार' पुगेँ । मेरो त्यस यात्रामा ऐश्वर्यधर शर्मा पनि हुनुहुन्थ्यो ।

अनुसन्धान यात्रामा जाँदा सकेसम्म आफ्नो अनुसन्धानसँग सम्बद्ध सामग्रीको पनि संकलन गर्ने पद्धति मैले लिएको थिएँ ।भगीरथ जैसी सन्दर्भको लेखककै अर्को कृति संवत् २०६५ साल माघ १३ गते प्रकाशित छ ।

लेखकका गोर्खा र नेपालको इतिहास सम्बन्धमा केन्द्रित विभिन्न विषयका पुस्तकहरू २४ लेखी सक्नुभएको छ । उहाँ इतिहास ‘संशोधन-मण्डल'का संस्थापक स्व. पं. नयराज पन्तका कान्छा सुपुत्र हुनाले विद्वान पिताद्वारा स्थापित इतिहास अनुसन्धान कार्यलाई दाजुभाइ भएर निरन्तरता दिँदै ‘पूर्णिमा' प्रकाशन गर्ने कार्य जसोतसो धानिरहनु भएको छ ।

उहाँ ‘जगदम्बा श्री'जस्तोपुरस्कारबाट विभूषित हुनुहुन्छ । उहाँबाटै उपरोक्त सन्दर्भमा लेखिएको पहिलो कृति ‘विद्वाच्छिरोमणि हेमराजको गोर्खासम्बन्धी अनुसन्धान' नामबाट प्रकाशित छ । पुस्तकको लेखकीय वक्तव्यमा ‘पितामह हेमराज पण्डितज्यू (वि.सं. १९३५-२०१०) को संग्रहमा रहेको र पछि अंशबन्डा हुँदा काका ईश्वरीराज पाण्डे (वि.सं. १९९१-२०५२)को अंश भागमा परी उहाँबाट मैले पाएको भनी एउटा कापी (सम्भवतः कुनै मूल लेखबाट सारिएको अंश श्री प्रकाश ए.राजबाट धेरै वर्षअघि मैले पाएको थिएँ ।

त्यसलाई नै पछि ‘विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान' भनी मैले प्रकाश गराएँ पनि । त्यसमा भगीरथ जैसी सम्बद्ध सामग्री पनि निकै देखिए । पं. हेमराज पाण्डेले यिनी विद्वान् देखिन्छन् भनेकाले यिनको बारेमा भिन्नै एउटा पुस्तक निकाल्नुपर्छ भन्ने विचार मलाई आयो ।

पुस्तक अध्ययन गर्दा ‘वि.सं. १८६६ मा श्री ५ गीर्वाणबाट (तिनका कान्छा ? ) छोरा भाष्कर जैसलाई खर्दारी मान दिएको पत्रमा रमापति जैसीको नाति कमलापति जैसीको छोरा पद देवकोटा वतन लकाङ (ङ्ग ? ) भगीरथ जैसी भनी लेखिएबाट र वि.सं. १९९८ मा (१८ वर्षीय ? ) श्री ५ राजेन्द्रबाट भाष्कर जैसीलाई खर्दारी मान दिएको पत्रमा भने कमलापति जोसी (? )को नाति भगीरथ जोसी (? )को छोरा पद देवकोटा वतन गोर्खा लकां (ङ्ग) भाष्कर जोसी भनी लेखिएबाट भगीरथ जैसिका बाबु कमलापति जैसी र बाजे रमापति जैसी देखिन आउँछन् ।'


 वीर योद्धाहरूलाई पन्छाएर जथाभावी ‘राष्ट्रिय विभूति' बाँडिएका छन् । आधा नेपाल गुमाउनेको जयजयकार गर्ने र विभूषित गर्ने गराउने चलन बसेको छ । यस्तो अचम्म खोज्न पर्दा नेपाल नै उदाहरण देखिन्छ । इतिहास निर्माण व्यापारको वस्तु बनाइँदै आएको छ

रमापतिका बाबु चम्पाकर उपाध्याय जुम्लाबाट (संवत् १६? ३र? ) गोर्खा आए भनी देवकोटा वंशावलीमा लेखिएको छ । चम्पाकर उपाध्यायदेखि भगीरथ जैसीका छोराहरूसम्मको वंशक्रम यस प्रकार छ- ‘चम्पाकर पाध्या - सोमु - नरोत्तम- रमापति - कमलापति - भगीरथ र उनका पुत्रहरू जेठा कुलानन्द माहिला लक्ष्मण, साहिँला वीरभद्र (विरु जैसी) कान्छा भाष्कर देखिन्छन् । (जेठा कुलानन्द पश्चिमको युद्धमोर्चामा शहादत भएका थिए । उनका एकमात्र छोरा ज्योतिर्विद चक्रपाणि पनि पश्चिमकै युद्ध-अलमोडा सम्भावित ? ) मोर्चामा शहादत भए । उनको विवाहित पत्नी सती जाँदा । २१ मुरी खेत भूमिदानसहित अन्य दान गरेकी प्रमाण स्मरणयोग्य छ ? )

‘भगीरथ जैसीको मृत्यु वि.सं. १८८४ (? ) को महाष्टमीमा भयो । त्यसबेला उनी ८३ वर्ष ६ महिना १४ दिनका थिए भन्ने अनु श्रुती देवकोटा परिवारमा छ । महाष्टमीको दिन अष्टमीका दिन पहिलेदेखि गरिँदै आएको कालरात्रि पूजा र दसैंको बली चढाउने प्रथा बन्द हुनाले उनको मृत्यु महाष्टमीकै दिन भएको कुलमा कथन मान्नुपर्ने होला ।

भगीरथ जैसीलाई गन्धाक्षत दिँदा सुनले मोडिएको होम गर्ने सुरो र माने कचौरा पाएको प्रसंग कुलमा चर्चित छ । यो सुरो राजकीय यज्ञादि गर्दा उनी आचार्य बनेर होमादी गर्दा प्रयोग गर्दथे । हनुमानढोका दरबारको नासलचोक (नृसिंह भगवान्को मूर्ति रहेको स्थान)बाट श्री भवानीको मन्दिरतिर पस्नेद्वारकै बगलमा उनको अनुष्ठानस्थल रहेको कुलमा श्रुतिको रूपमा सम्झना गरिन्छ । यस्ता अनेक विषय रहेका वंशावलीलगायतका वस्तु खोजीको विषय देखिन्छ ।

भगीरथ जैसी राष्ट्रिय इतिहास निर्माणमा कुनै महत्व नपाएका लाग्दछन् । तथापि केही प्रकाशित ऐतिहासिक ग्रन्थमा उनको नाम यदाकदा घुसेका भने नदेखिइने होइनन् । ऐतिहासिक पत्र संग्रह (२०१४) पहिलो भाग (पृ. १०१), प्रसिद्ध राजज्योतिषि लीलानाथ पाण्डेले तयार पारेको तिथ्यावलीको (पृ. ११) मा ‘भगीरथ्या' भनिएको यिनै थिए भनी तिथ्यावली संकलन र सम्पादक विद्वान प्राज्ञ पन्तको टिप्पणी रोचक छ ।

इतिहास प्रकाशमा सन्धिपत्र संग्रह (भाग १) को (पृ. ३०९, ३१०) को प्रसंग अत्यन्त महत्वपूर्ण छ । त्यो विषय कोट्याउँदा कताकता राष्ट्रिय ऐतिहासिक एकीकरण अभियान नै दुर्घटनातिर परेको सम्झिने अवस्था छ । संवत् १८६८ साल वैशाख सुदी २ रोज १ को उक्त लालमोहर (? ) दिँदा त्यसको बेहोरामा ‘भगीरथ जैसी'को नाम देखिन्छ ।

पत्रमा ‘आगे जैकृष्ण जैसीके भगीरथ जैसीको षायल षर्दारिमानको पगरि बक्स्यौं...' भन्ने वाक्य विश्लेषणयोग्य छ । बोलीबाट स्पष्ट गर्छ भगीरथ जैसीलाई खोसेर जैकृष्ण जैसीलाई सैनिक सेवाका दरबन्दीबमोजिमका राजकीय खान्की, खुवा, बेख, बिर्ता, पुरस्कार आदि सम्पूर्ण झिकेर जैकृष्ण नामका जैसीलाई नियुक्ति दिएको स्पष्ट हुन्छ ।

पत्रको पुछारमा श्री मच्चौतारिया फत्यजंग शाह काजी रणध्वज थापा काजीसमेत ३ जनामार्फत लेखिएको छ । भगीरथजस्तो महान् हस्तीलाई हटाउने गरी भएकोले सो निर्णय गर्दा मुख्त्यार सेनाध्यक्ष भीमसेन थापा र अन्य भारदारहरूको दस्तखत किन भएन ?

त्यसरी जारी भएको लालमोहनले गुटबन्दी र पक्षपात रहेको स्पष्ट हुन्छ । त्यो समय श्री ५ गीर्वाणयुद्धविक्रम शाहको राज्यकाल नै हो । राजा त्यसबखत नाबालक नै देखिन्छन् । लालमोहरको जिम्मा नायबी अधिकार प्राप्त कान्छा बडामहारानी ललित त्रिपुरासुन्दरीको हातमा देखिन्छ ।

महारानीको संरक्षणमा जेठो दाजु काजी रणध्वज थापालाई बडाकाजीले राख्नुभएको स्मरणीय छ । काजी रणध्वज थापा बडाकाजी अमरसिंह थापाका विवाहित जेठी पत्नीतर्फका जेठा सुपुत्र हुन् । बडाकाजीका पत्नीहरूको यकिन संख्या र पत्नीहरूका नाम अझै अनुसन्धानीय छन् ।

इतिहासविद् पन्तको उपरोक्त ऐतिहासिक ग्रन्थमा प्रकाशित अनेक लालमोहर, रुक्काहरू अनुसार विचार गर्दा भगीरथ जैसी निकै ठूलो हस्ती भएको र उनको महत्वपूर्ण कार्यहरू रहेका अनुमान गर्न सकिन्छ । यस प्रसंगमा इतिहास प्रकाश सन्धिपत्र संग्रह भाग (१) पृ. ३६५ को व्यहोरा पनि उल्लेख गर्नु उपयुक्त लाग्दछ ।

‘सतहुँमा बाइसी चौबीसो सामेल भै बस्याका थिया हान्न काजी वंसराज पान्डे सर्दार प्रमु मल्ल यक मुख गरि गया सर्दार केहरसिं बस्न्यात पर्‍या काजी वंशराज पांडे घा लागी पक्री पर्वत्याले लग्या लस्कर धेरै षेत (र) रह्यो जो वाच्याका भीर्कोटमा आई बस्या ताहापछि गुमस्ता ढोरै थियो वाही वस्या ढोर चौवीसीसँग मिल्दा चौविसीले घेरा दी चौध दिन घेरा पर्‍या नेपालबाट गोहारी दीन आयाका काजी श्री हर्क पंथ काजी घौकलसिंह बस्न्यात संम आई घेरा पन्याका लस्कर पनी वांच्याका मस्र्याङदीको जंघार तरी सामेल भै बस्या ।'

यससँग ठूलो प्रसंग गाँसिन आउँछ । नेपालका कुनै पनि खोलानाला नदी गंगामा पूलपुलेसा थिएनन् । हिउँदमा मात्र सानो पचखैय्या डुंगीबाट वारपार गरिन्थ्यो । वर्षाद्मा ती सब डुंगा झिकेर थन्क्याउने यथार्थ छ ।

यस परिस्थितिमा यत्रा ठूला नदीहरूमा हजारौं गोर्षाली सेना कसरी जंघार तर्दथे । असम्भव मौसममा पनि गोर्खाको युद्ध विजय भएकै पाइन्छन् । यहाँ ढोरको १४ दिन लामो युद्ध परेको र सर्दार केहरसिंह बस्न्यात परेका, दामोदर पाँडेका पुत्र वंसराज पाँडे घाइते भै पर्वत राज्यमा थुनिएको अवस्था देखिन्छ ।

त्यसबखत ‘काजी वंशराज पाँडे सर्दार कहर्सिं बस्न्यात सर्दार प्रभू मल्ल तनहुँ लमजुंको गुमस्ता ली काली साँधको विरा उठाई कास्कीको भंडारी ढीकमा बस्न गया सेती तरी वर्साम्मीको रस्ता ली नुवाकोट हान्न गया टेकन आडमा ठूलो लडाञी भयो लडाञी बिग्र्यो थोरो हटि काजी वंसराज पांडे सर्दार प्रभु मल्ल बस्या सर्दार कहसिं लस्कर ली तनहुँका अमलको बाटो गरि रिसिङ घीरीङ अंमल गरी के लादीमा षाडो पषाल्या ताहा पछि भीर्कोटका किहुँमा लडाञी भयो जिती सर्भयो ।

तस्तै बीचमा तनहुंले कुल गर्दा ग्रीम्हाकोटमा गुमस्ता भै गयाका तनहु काटियो ताहा पछि गह्रौं सर गरि पैञ्युका धुवांकोटमा कटक भयो जिति पैञु सर्भयो काजी वंसराज पांडे सर्दार प्रभु मल्ल सामेल भै साजा बस्या'

यी युद्धमा भगीरथ जैसी सेनाका साथै रहेका पाइन्छन् । यी युद्धहरू विजय भएपछि त्यसबखतका अत्यन्त प्रभावशाली काजीबहादुर भण्डारीलाई दिएका ढोरका अम्मलमध्ये सहेल्या वारिपारिको १० मध्ये आठ खेल (अर्थात् एक हजार मुरीको खेतमध्ये आठ सय मुरी फल्ने खेत) बहादुर भण्डारीलाई धादिङ भूमी सट्टापट्टा दिई भगीरथ जैसीलाई ढोरको सो सहेल्या वारिपारिको आठ सय मुरी सम्पूर्ण जग्गा दिइएको थियो ।

माथि उल्लेख भएअनुसार भगीरथ जैसीलाई खोसेपछि उक्त पदमा जैकृष्ण जैसीबारे इ. प्र.सं.सं.भाग १, पृ. ३१०, ३११ बाट स्पट हुन्छ । जसबाट भागीरथका ‘ढोरको अम्मलको सहेल्या वारिपारि, ततहुँको चोया बिसाउने, बन्दीपुर, लमजुङको रानीनास खान्गी गोर्खा टीकावल्लभको मानाचामल (लकाङको अम्मलको १÷४०) कास्की भुर्जुङ खोला, शिवनारान पाल्पालीको विह्वा (कास्की पोखरापारि फेवातालको निकासबाट सिँचाइ गर्ने गरी बिह्राएको खेत १/९२) भगीरथलाई दैनिक भोजन गर्दा सिधादानबापत माना चामल दिएको भूमि टक्टक्याई जागिरबाट खोसिएको स्पष्ट गर्दछ ।

भगीरथका कुमाउ गढवाल, भोट (डिर्गचा), पाल्पा, उत्तरभारत, जुमला तर्फबाट युद्धसम्बन्धी कतिपय युद्ध सान्दर्भिक विषय र उनका जीवनका उतारचढाउ पत्नी वियोगसम्बन्धी धेरै अनु श्रुति छन् ।

उनीद्वारा बनाइएको पौवा (हाल पाताल भएको)श्री इशानेश्वर महादेव, ठाँटीचउर बगैंचा, जैसीको वन र काठमाडौं पशुपतिनाथ मन्दिर क्षेत्रका स्मारकहरूको अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण कार्य बाँकी छ । पन्तको ग्रन्थ, ‘प्रसिद्ध ज्योतिषी भगीरथ जैसी' नामक पुस्तकमा उल्लेख भएको परिशिष्ट ५० अनुसार गोर्खा १८७१-७३ को गोर्खा-अंग्रेज युद्धसम्बन्धी बयान अध्ययनयोग्य छ ।

पुरातत्व विभागको प्रकाशन प्राचीन नेपाल र पुरातत्व पत्रसंग्रह, ऐतिहासिकपत्र संग्रह र शाहकालीनका पत्रसंग्रहजस्ता भेटिने प्रकाशन अध्ययन गर्दा भर्खरका १८ वर्षीय युवक सेनाध्यक्ष कर्णेल उजिरसिंह थापा, रणवीरसिंह थापा र दलभञ्जन पाँडेलाई बुटवल र मकवानपुरका युद्धहरू विजय गराउनमा उनै एक्ला परिपक्व र निर्णयदायक सल्लाहकार भगीरथ जैसी दाउन्नेगढीमा मोर्चा कसेर बसेका शाहकालीन पत्र संग्रहहरू हेर्दा पनि स्पष्ट हुन्छ ।

प्राचीन नेपालअनुसार गोर्खाली सेनाका भन्दा अंग्रेजीका युद्ध हातहतियार, तोपहरू अत्याधुनिक बताइएको छ । २२ फणी तोपहरूबाट कुसुमघाटको दूरीदेखि मार गरी उति टाढाको गोर्खालीहरूको बुटबल दरबार ध्वस्त पारिदिने क्षमता भएका यन्त्र र हतियार लिएका थिए । अनुभवी पाल्पाली राजाका मन्त्री कनकनिधि तिवारी र उनका पुत्र युद्ध कौशल (गोरखपुर) को अंग्रेजी छाउनीमा सैन्य तालिम प्राप्त गरेका छोरा (? ) पनि स्थानीय (भारतीय कालाजात भनिने गरिएको सेना) ठूलो सेना लिई मोर्चा कसेका बताएको पाइन्छ ।

उनका लडाकुसहित सय, छबिस (१२० ? ) र तिवारी पितापुत्र खेर गएको संख्या पाइन्छ । नौ हजार (कतै १२ हजार भनिन्छ ? ) गोरा सैनिक अत्याधुनिक नालकन्दी हतियारसहित जनरल उदई (सामुऐल उड ? ) छुट्टै मोर्चा कसेर बसेका थिए ।

कल्पना गर्नै कठिनलाग्दो भीषण युद्ध पल्टाउने बुटबलमा रहेका करिब आठ सय जति गोर्खाली सेनामात्र रहेको बताइन्छ । गोर्खाली सेनासँग घरेलु भरुवा बन्दुक, घरमा बनेको गोब्रे बारुद्ध, खुँडा, खुकुरी, गुलेली, घुएँत्रोजस्ता खरखजाना भएका सेनालार्ई कति कठिन भयो होला । कल्पना गर्दा पनि जीउ सिरिंग हुन्छ । ‘प्रसिद्ध ज्योतिषी भागीरथ जैसी' (पृष्ठ ७८)मा अनुसूचित संख्याहरू ५० पुरातत्व विभागको प्रकाश ‘प्राचीन नेपाल' २४ संख्याको उद्धरण ‘गोर्खाली विजययात्रा वर्णन' हेर्दा त्यो युद्ध स्थिति झल्किन्छ ।

पाल्पाका तैनाथी लिएका काजी भीमसेन थापाका पिता जनरल अमरसिंह थापाको निधन भएपछि कर्णेलीको पगरी लगाई पठाइएका काजी नयसिंह थापाका जेठा छोरा कर्णेल उजिरसिंह थापालाई पाल्पाको तैनाथी दिई पठाइएको थियो । कर्णेलीको पगरी पाएका उजिरसिंह थापा त्यसबखत मात्र १८ वर्षका जवान थिए ।

त्यसअगाडि उनमा युद्ध भूमि र युद्धको ज्ञान कति थियो त्यो कल्पनातीत छ । यत्रो युद्धको ज्ञान भएका तालिम प्राप्त सेनाका अरू अफिसर पनि देखिन्न । त्यस्तो युद्ध पनि विजय भएको छ । त्यहाँ ‘भगीरथ जैसीको साइत'ले भन्ने कुरा बताइएको छ । यसबाट के बुझिन्छ भने हाम्रा भएका इतिहास निर्माण बिनाअध्ययनका काल्पनिक कथाजस्ता लाग्नु स्वाभाविक छ । इतिहास निर्माण गर्ने सत्ताधारीहरूका कृपा आकर्षित गराउन वा आफूलाई इतिहासविद् देखाउने अभीष्ट पूरा गर्ने मात्र हुन सक्छ ।

वीर योद्धाहरूलाई पन्छाएर जथाभावी ‘राष्ट्रिय विभूति' बाँडिएका छन् । आधा नेपाल गुमाउनेको जयजयकार गर्ने र विभूषित गर्ने गराउने चलन बसेको छ । यस्तो अचम्म खोज्न पर्दा नेपाल नै उदाहरण देखिन्छ । इतिहास निर्माण व्यापारको बस्तु बनाइँदै आएको छ । यस्तै प्रगमनले धेरै वीरहरूको इतिहास मेटिएको छ । ‘गोर्खा राष्ट्रिय चिन्तन परिषद्'लाई सहयोग गरी इतिहास निर्माण गर्ने भावना नै जाग्न सकेन । गोर्खाका ती भगीरथ जैसीलाई ‘तुच्छ' जाति सूचक ‘जैसी' ठानिन्छ ।

काजी रणवीरसिंह थापा, काजी दलभञ्जन पाँडे, काजी जगञ्जित पाँडेजस्ता महारथीहरूको आजका पुस्ताका युवाहरू अनभिज्ञ छन् । इतिहासका गौरव बिर्सिइने प्रगमन देख्दा इतिहास नै मेटिने जस्तो कहाली लाग्न थाल्छ । धेरैको इतिहास यसरी नै मेटिएका छन् ।

‘भोटु पाँडे' पनि यिनै पंक्तिमा पुर्‍याइए । उनको सोह्रखुट्टे पाटीहरू सबै एकएक गरी मास्ने कार्य अघि बढेको छ । पकनाजोल नयाँबजार बसाइदिने र ‘सोह्रखुट्टे पाटी संस्कृतिको प्रणेतालाई भर्खर जन्मेका बालकले के देख्ला ? । सोह्रखुट्टे पाटी संस्कृतिका संस्थापक उनले बालाजु उद्यान, पुल्चोक र भगतपुर (भक्तपुर) आदिमा बनाएका स्मारकहरू कति दिन रहने हुन् ? थाहा छैन । कवि शिरोमणिको काव्यशाला रहेको ठाउँ एकताका रोधीघर दोहोरी (जाँडशाला) बन्न पुगेको पनि देखिन्थ्यो ।

भोटु पाँडेको सोह्रखुट्टेको विशाल नागपोखरी सफाइ गरेर कमलका फूल राख्लान् भन्ने लाग्दा एकाएक महानगरका फोहोर थुपार्दै भरियो । अब त एकातिर वरिष्ठ र भद्र नागरिकशाला र ‘प्रबुद्ध नागरिक मिलनस्थल लेखिएका साइनबोर्ड राखिएका दृश्य देखेर टुरिस्टहरू फोटो खिच्न तल्लीन हुन्छन् । कतै पहेँलो तारा क्लब त कतै कविशिरोमणि लेखनाथ सदन बन्न पुग्छ । कतै नेपाली भाषासेवी मानिएका ‘असीम' गोपाल पाँडेको अर्धकदको मूर्ति लिएर बसेका छन् ।

अबको इतिहास निर्माण त यसरी नै सुरु गर्ने हो कि भन्ने मार्गदर्शन बुझ्न बाध्य छ । यस्ता पौराणिक इतिहास दुई पुस्तापछि अनाथ बन्छन् भने ‘गुठ' र गुठी र गोठ र गोठाला जति पनि नरहने अवस्था छ ।

भक्तपुरमा सल्लाका रूख रोपेर ‘सल्लाधारी' बनाई सकेपछि भोटु पाँडेले ठमेलको छेउमा पनि सल्लाधारी बनाई सल्लाका रूख रोपेको सुनिन्थ्यो । यो सल्लाधारी ठाउँको नाम नै बदलिदिएका छन्, माइक्रोबसका ड्राइभर-खलासीले । भुइँचालोले पनि छोएन त्यहाँका सोह्रखुट्टे सल्लाघारका झोपडीपट्टि भित्र मदशाला र सौन्दर्य बिक्रीकेन्द्र । यस्तै रहेछ ‘वागमती सभ्यता (? )' भन्ने ठान्दै बस्न बाध्य छन्, वृद्ध अशक्त नागरिक ।


अहिले परिप्रेक्ष्यमा वर्तमान संविधानको प्रस्तावनाको दोस्रो अनुच्छेदमा ‘राष्ट्रहित, लोकतन्त्र र राष्ट्रनिर्माणदेखि अखण्डता'का कुरा उल्लेख छन् । तर, राष्ट्रको निर्माणमा यस्ता अभूतपूर्व योगदान दिनेहरूको सम्झना गरिएको पाइएन् । यसरी राष्ट्र जोडेर राष्ट्रियता स्थापना नगरिदिएको भए आजको जनआन्दोलन केका निम्ति र कहाँ गरिन्थ्यो होला ? यस्ता विभूतिहरूलाई संविधानको प्रस्तावनामा स्मरण गर्नु के अपराध हुनेछ र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.