डा. केसीसँगको पहिलो वार्ता निष्कर्षबिहिनः स्वास्थ्य गम्भीर
काठमाडौँः सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आइतबार बिहानदेखि भइरहेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ ।
सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिए । वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन ।
अरु विषयमा सहमति नजिक रहेपनि त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनलाई बर्खास्ती गर्ने विषयमा कुरा अघि बढेको छैन ।
शिक्षा मन्त्रालयमा बिहान साढे ११ बजेदेखि सुरु भएको वार्ता ४ः३० बजे सकिएको थियो । वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै अन्य चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धि विभिन्न माग राख्दै डा केसी १४ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनमा छन् ।
सरकारले शनिबार शिक्षा सचिव श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।
डा केसीका तर्फबाट डा वाइपी सिंहको संयोजकत्वमा डा रञ्जन झा, डा सचित शर्मा, डा जीवन क्षेत्रीलगायत छन् ।
यसैबीच, निजी मेडिकल कलेज सञ्चालकले सरकारले आन्दोलनरत डा केसीका माग पूरा गराउन वार्ता समिति गठनप्रति असहमति जनाएका छन् ।
डा केसीसँग वार्ता टोली गठन गर्दै गर्दा त्यसमा निजी क्षेत्रको संलग्नता नभएको भन्दै उनीहरुले वार्ता टोलीको विरोध गरेका हुन् ।
आइतबार एक प्रेस विज्ञप्तीमार्फत एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा सुरेश कनोडियाले आफूहरुको संलग्नता बिना गठन गरिएको समिति निजी क्षेत्रलाई मान्य नहुने बताएका छन् । रासस