देशभरका शिवालयमा सतबीज छर्नेको घुइँचो

देशभरका शिवालयमा सतबीज छर्नेको घुइँचो

काठमाडौः हिन्दू धर्मावलम्बीहरुले पितृमोक्षको कामना गर्दै काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरका शिवालयमा सोमबार शतबीज छरिएको छ । मंसिर कृष्णपक्ष त्रयोदशीका दिन शिवालयहरुमा परिवारजनले मृतकको सद्गतिको संकल्पसहित शतबीज छरी र अघिल्लो साँझदेखि रातभर दियो बाली बाला चतुर्दशी मनाएका छन् ।

द्वादशीका दिन आइतबार दियो बाली रातभर जाग्राम बसी भजनकीर्तन गर्नेहरुले सोमबार शतबीज छरेका हुन् । सोमबार मुलुकभरका शिवालयमा शतबीज छर्नेको घुइँचो थियो । महाद्वीप बाल्नाले मृत्युवरण गर्ने आत्माले समेत सत्गति प्राप्त गर्ने र शिवालयमा शतबीज छर्नाले मृतात्माले वर्षभरि खान पाउने र तृप्त हुने विश्वास गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषले मृगस्थली र कैलाश डाँडामा शतबीज छर्ने व्यवस्था मिलाएको थियो । दिवंगत भएका बुबाआमाको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सातथरिका बीउ मिसाएर शतबीज छरेका थिए ।

शतबीजमा अमला, बिमिरो, निबुवा, कागती, भोगटे, सुन्तला, अनार, केरा र उखुजस्ता फल र विभिन्न किसिमका फूल पनि मिसाएर छर्ने गरिन्छ । अन्य शिवालयमा भन्दा पशुपतिनाथ परिसरमा छर्ने शतबीजको विशेष महत्व रहेकाले मुलुकभरबाट आजका दिनका लागि काठमाडौं आउने गर्छन् ।

कैलाशडाँडामा भेटिएका भक्तपुरको नगरकोटस्थित खरिपाटीका ७७ वर्षीय होमनाथ बाँस्तोलाले आमाबुबा र पत्नीका नाममा शतबीज छरेको बताए । उनले अन्नपूर्णसँग भने, ‘केही वर्षदेखि लगातार अघिल्लै दिन पशुपतिमा आउँछु, दीप बालेर रातभर भजनकीर्तन गरी बिहान नुहाएपछि उनीहरुको नाममा शतबीज छर्ने गरेको छु ।'

बुढानीलकण्ठबाट आएका पूर्ण खड्काले पाशुपत परिसरका मृगस्थली र कैलाश डाँडामा शतबीज नछरी कुल्चेमात्र पवित्र हुने मान्यता रहेकाले संभव भएसम्म आउने गरेको बताए । उनले भने, ‘यी ठाउँमा छोराछोरी आए आएनन् भनेर पितृले हेर्छन् र आफ्नो नाममा शतबीज छरे नछरेको पनि हेर्छन् भन्ने गरिन्छ ।'

उनले गएराति हुने भजनकीर्तनसँगै आफू घाँसे गीतमा पनि रमाउने गरेको बताए । उनले भने, ‘हिजो साँझदेखि सुरु भएको घाँसेगीत सोमबार साँझसम्म पनि गाइरहेका छन् । उमेरले होला, अहिलेका आधुनिकभन्दा यस्ता घाँसे गीतमा मन रम्दोरहेछ ।'

सोमबार अपराह्न कैलाश डाँडामा एक दर्जनजति समूहमा लोप हुन लागेको घाँसेगीत गाइरहेका थिए । कोही पितृप्रसाद बाँडिरहेका त कोही खाइरहेका थिए भने कोही घाम ताप्दै बदाम खाने अनि कोही सुन्तलाका केस्रा छोडाइरहेका थिए । शतबीज र धुलोको पर्वाह नगरी ललितपुर सुनाकोठीका ७० वर्षीय रामचन्द्र बस्नेत, बनेपा जनगालका ६१ वर्षीय केशव केसीको जोडी पाटन सुन्धाराकी ६१ वर्षीया शान्ति महर्जन र बौद्ध रामहिटीकी ५० वर्षीया साइली क्षेत्रीको जोडीसँग दोहोरीझैं लाग्ने घाँसे गीतमा सवालजवाफमा जमेका थिए ।

बीच बीचका केही शब्द दोहोर्‍याएर चलनचल्तीको भन्दा फरक भाकामा गाइने उक्त गीतको रसमा रमाउनेहरु हौस्याउँदै थिए, ‘हो, अलि यस्तै रसिलो सन्दर्भ आउनु पर्‍यो ।' वृद्ध जोडीले गाए, ‘यी मायाको पोका तर दिन्छन् यिनैले धोका...।' असारे गीतले पनि चिनिने घाँसेगीतमा रसिला सवाल-जवाफ आउन थालेपछि वृद्धवृद्धा र युवा पनि धकेलाधकेल गरेर गाउनेछेउमा पुगेर सही थप्थे ।

वृद्धवृद्धाको उमेरतर्फ व्यंग्य गर्दै एक अधवैंसेले भने, ‘गाउनेहरुको उमेर मिल्दो रैछ, अन्त जमेको रैछ ।' गीतमा जमेका बस्नेतले महर्जनतर्फ फर्किएर भने, ‘नत्र कोई आएनन् त, यस्तै चाहिएको रहेछ । नरिसाउनु है गीतको सवालजवाफमात्रै हो ।'

पितृहरुलाई सम्झिने कैलाश डाँडामा यस्ता भाकामा जम्ने जोडी झन्डै दर्जन थियो । उनीलाई ३०, ४० जनाको समूहले घेरेको हुन्थ्यो । घाँसे गीतमा जम्न थालेपछि ठट्टा पनि बढ्दै गयो । एक वृद्धले गायकगायिकाको जोडीको ध्यानाकर्षण गरे, ‘उमेर त मिलेकै छ, जन्तीको पनि कमी छैन ।'

केसीले केही वर्षदेखि बाला चतुर्दशीका दिनमा घाँसेगीत गाएर दिन कटाउने समूहहरु भएको जानकारी दिँदै उनले थपे, ‘यसले रसिलो ठट्टामात्र गरेको छैन, लोप हुन लागेको घाँसे गीतको जगेर्ना पनि गरेको छ ।' कोषका कर्मचारी होमप्रसाद नेपालका अनुसार, एकादशीका दिन पशुपति आर्यघाटस्थित बत्सलेश्वरीमा भेडा काटेर बली चढाएपछि शतबीज छर्नका लागि बाटो खुल्छ ।

पाशुपत क्षेत्रको विशेषगरी मृगस्थली क्षेत्रमा शतबीज छर्नुपर्नेमा सहज र सबैले देख्ने स्थान भएकाले धेरै कैलाश डाँडामा जाँदा त्यहाँ घुइँचो हुने तर मृगस्थली ओझेलमा पर्ने गरेको उनको भनाई छ । उनले भने, ‘आज पाटनको च्यासलबाट दुईवटा माछाको प्रतीक बोकेर बाजागाजाका साथ टोलटोलमा छिर्दे देउता दर्शन गराएर आउने टोलीले मृगस्थलीको भागलभुगल महादेवमा आएर होम-होमादी गर्छन्, त्यसपछि शतबीज छर्ने काम सकिन्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.