ट्रम्पको विजय र नेपाली चासो

 ट्रम्पको विजय र नेपाली चासो

अमेरिकी राष्ट्रपतिको चुनावमा ‘डोनाल्ड जोन ट्रम्प, सिनियर’ को विजय विश्वको बहुचर्चित र नसोचेको घटना हुन पुगेको छ । अमेरिकी चुनावको नेपालमा के चासो ? भन्नेहरूसमेत ट्रम्पको विजयपश्चात् टीकाटिप्पणीमा लागेका छन् ।

अमेरिकाजस्तो अगुवा प्रजातान्त्रिक देशमा पनि नतिजा घोषणापछि विरोधमा उग्र प्रतिक्रिया भयो, जुलुस निस्के जुन अमेरिकाको इतिहासमा नौलो कुरा हो । चुनाव पहिले ट्रम्प पक्ष चुनावमा धाँधली हुन सक्छ भनिरहेको थियो भने चुनावपश्चात् अर्को पक्ष पुनः गणना हुनुपर्छ भनेर माग गर्दैछ !

संविधानअनुसार निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको र विपक्षी पराजित प्रत्याशीले हार स्वीकार गरी बधाईसमेत दिइसकेको चुनावको विरोध किन ? यसले अमेरिकी जनता र प्रजातन्त्रमाथि पनि प्रश्न खडा भएको छ ।

ट्रम्पको विजय अप्रत्यासित त होला, तर के यसमा आश्चर्यचकित हुनुपर्छ ? यसका पूर्व संकेतहरू अन्यत्र प्रकट भएका थिएनन् र ? बेलायतमा युरोपीय संघबाट छुट्टिने पक्षले जित्नु, भारतमा भारतीय जनता पार्टीले जित्नु र अन्य देशमा उग्र राष्ट्रवादी शक्तिले जित्नु अमेरिकामा प्रखर राष्ट्रवादी ट्रम्पले जित्नुभन्दा कम अप्रत्याशित घटना हुन् र ? के अमेरिकाविरोधीहरूले त्यही नारामा अन्यत्र जित्नु र विश्वमा फैलिँदो आतंकवाद र अनियन्त्रित आप्रवासनको विरोध गरेर निर्वाचन जित्नु शक्तिशाली राष्ट्रको लागि वर्जित हुनुपर्छ र ? यस्ता प्रश्नहरू स्वाभाविक रूपमा उठेका छन् ।

ट्रम्पको जित हिलारी क्लिन्टनको हारभन्दा पनि संसारभरिका र विशेषगरी अमेरिकी ‘पण्डित’ हरूको हार भने पक्कै हो । यीमध्ये अधिकांशले लज्जास्पद रूपमा आफ्ना कुरा फिर्ता लिनुपरेको छ ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार भए पनि न पूरै रिपब्लिकन, न डेमोक्र्याट, न बौद्धिक, न संस्थापन पक्ष उनको समर्थनमा देखिन्थ्यो । पूर्वराष्ट्रपति जर्ज बुससहित धेरै रिपब्लिकन नेताहरू खुलेरै ट्रम्पको विपक्षमा लागेका थिए । तसर्थ यो जित ‘रिपब्लिकन’ ट्रम्पको भन्दा ‘आत्मनिर्भर’ ट्रम्पको थियो भन्दा अत्युक्ति नहोला । यसलाई प्रखर राष्ट्रवादी अमेरिकीको जितभन्दा उचित होला । बीबीसी न्युजमा एन्थनी जच ‘ट्रम्पको जितको एक प्रमुख कारण’ गोराको लहर’ लाई मान्छन् ।

विश्वमा ‘इस्लामिक आतंकवाद’ को खतरा छ, अमेरिकामा आप्रवासको समस्या छ भनेर भन्ने अवसर ट्रम्पले कहिले पनि चुकेनन् र विपक्षीलाई समेत स्वीकार गराउन जोड गरे, जुन कुरा विपक्षीले नजरन्दाज गरिदिए ।

उनको यो अडान ‘मूक’ मतदाताहरूको समर्थन पाउन सफल भयो । ट्वीन टावरमाथिको हमला, अमेरिकामै पटकपटक भएका आतंकवादी हमला, हालै युरोपका विभिन्न सहरहरूमा भएका आतंकवादी हमला र शरणार्थीको चाप, विश्वका अन्य क्रूर आतंकवादी हमलाले पक्कै पनि अन्य देशमा जस्तै अमेरिकीको मनमस्तिष्कमा प्रभाव पारेको हुनुपर्छ ।

तसर्थ अमेरिकाको यो ‘अप्रत्यासित’ घटना अप्रत्यासित नभएर साधारण अमेरिकी जनताको ताकत र अभिव्यक्तिभन्दा उपयुक्त होला । अमेरिकाजस्तो उदारवादी देशमा उदारवादीले नै जित्छन् र जित्नुपर्छ भन्नेहरूलाई भने यो नतिजा ठूलो ‘आघात’ हुन पुगेको छ । अहिलेको साघुरिँदो विश्व र अमेरिकाको यो नतिजाले के कुरा इंगित गर्छ भने अहिलेको अमेरिकी जनता पनि विश्वका अन्य देशका जनताजस्तै सोच राख्छन् र उनीहरूबाट मात्रै ‘उदार, आदर्शवादी र परिपक्व’ परिणाम आशा गर्न सकिँदैन ।

ट्रम्पको विजयपश्चात् नेपालमा पनि यसबारे धेरै चर्चापरिचर्चा भएको छ । नेपालका संस्थापन पक्षलाई पनि यो नतिजाले सोच्न बाध्य बनाएको हुनुपर्छ । यसले एउटा राम्रो कुरा के स्थापित गरेको छ भने मूक र ओझेलमा परेकाहरूलाई बेवास्ता गरेर र झुक्याएर अहिलेको समयमा धेरै शासन गर्न सकिँदैन, न आत्मकेन्द्रित र दलगत स्वार्थले अगाडि बढिन्छ ।

नेपालको हालको अवस्थालाई ‘अभिभावकविनाको परिवार’ सँग तुलना गर्न सकिन्छ । खर्च गर्न सबैमा होड छ, तर आर्जना गर्न कसैको क्षमता र चाहना छैन । यस्तो अवस्थामा पुर्खाको आर्जन र विदेशी विप्रेषणले धानेको हालको नेपालको अर्थतन्त्र सानो कम्पनले पनि धराशायी हुन सक्छ ।

नेपालका दलहरू अब राज गर्ने हामीले नै हौं, जनताले वर्षभर गाली गरे पनि भोटको दिन हामीलाई नै रोज्नुपर्ने अवस्था छ भन्ने सम्झेर आत्मकेन्द्रित र दलगत स्वार्थअनुसार काम गर्न व्यस्त छन् ।

चलयमान समयले इतिहासमा धेरैलाई पाखा लगाइदिएको छ र फेरि त्यस्तै नहोला भन्न सकिन्न । नेपालीहरू टुटेका सपनाहरूले त्रसित र किंकर्तव्यविमूढ अवस्थामा रहेको प्रतीत हुन्छ र यसको अभिव्यक्ति कुनै न कुनै रूपमा प्रकट हुने नै छ ।

धर्मको कुरा हाल चर्कंदै आएको अवस्था छ । नेपालमा इतिहासमा कहिल्यै नउठेको धर्मसम्बन्धी विवाद नेपाललाई संविधानमा धर्म निरपेक्ष घोषणा भएपछि सुरु भएको छ । यसैको सहारामा पहिलो संविधानसभाको चुनावमा सानो पार्टी दोस्रो चुनावमा चौथो ठूलो पार्टी हुन पुगेको छ ।

अहिले नेपालको अर्थतन्त्र विप्रेषणको भरमा चलेको छ । अमेरिकाको अपेक्षित संरक्षणवादी नीतिले अरबलगायत अन्य देशहरूमा मन्दी आउन सक्छ र त्यो नेपालको लागि घातक हुन सक्छ ।

नेपालको हिमाल, पहाड, तराई जोड्ने र हिन्दुको प्रचण्ड बहुमत रहेको नेपालमा धर्मको मुद्दा कसै न कसैले अझ आक्रामक रूपमा उठाउने नै छन् । भारतलगायत अन्य मुलुकमा धर्मको मुद्दाले चुनावमा विजयी हुन सकिन्छ भने नेपालमा यो मुद्दालाई उक्साएर लाभ लिन खोज्ने कोही हुने नै छन् । अमेरिकामा ट्रम्पको विजयले पनि यस्ता कट्टरवादी विचारधारालाई प्रेरणा नै दिनेछ । यसका लागि एक तेजतर्रार अगुवाको मात्र खाँचो देखिन्छ र समयले त्यसलाई पनि ल्याउनेछ ।

नेपालसँग जोडिएको भारतको विहार र उत्तरप्रदेशमा जातिको समीकरण चुनावको निर्णायक विषय बन्ने गरेको छ । यसलाई ‘सोसियल इन्जिनियरिङ’ भन्ने गरिएको छ । नेपालमा पनि तम्तयार रहेको यो विषय उठाउनेहरू पनि पक्कै हुनेछन् ।

संवेदनशील रहेको नागरिकताको विषयलाई पनि आफ्नो पक्षमा पार्न मरिमेट्नेहरूको पनि कमी हुने छैन । यस्तै संघीयता, गणतन्त्र, समावेशीका विषयहरू पनि संविधान जारी गरेसँगै समाधान भए भन्ने सोचाइमा पनि कुनै दम छैन । चुनाव एक यस्तो ‘लडाइँ’ हो, जहाँ भोट प्राप्त गर्न ‘जुनसुकै’ उपाय अपनाइनेछ र बहुमतलाई आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गरिनेछ ।

विगतमा यस क्षेत्रमा हुने चुनावहरूमा बहुसंख्यक भोट बाँडिने र अल्पसंख्यक भोट ध्रुवीकरण हुने कारणले अल्पसंख्यकको मत जितहारको कारण हुने गरेको छ । तर हाल आएर यस्तो प्रवृत्तिमा परिवर्तन आउन थालेको छ ।

भारतको चुनाव, अमेरिकामा ट्रम्पको विजय, बेलायत युरोपेली युनियनबाट बाहिरिने निर्णय यस्तै बहुसंख्यकहरूको धु्रवीकरणको परिणाम हो भनेर निष्कर्ष निकाल्न धेरै विश्लेषणको आवश्यकता छैन । नेपाल पनि यस्ता विषयहरूमा प्रवेश हुने टड्कारो सम्भावना देखिन्छ । यस्ता धारणालाई हालका विश्वका चुनाव परिणामहरूले स्पष्ट इंगित गरेको छ । मुस्लिम देशहरूमा मात्र यस्तो सोच रहिआएकोमा हाल आएर अन्यमा पनि विस्तारै यो प्रवृत्ति प्रवेश गर्दै गएको देखिन्छ ।

चुम्बकमा एउटा ध्रुव जति शक्तिशाली हुन्छ अर्को धु्रव पनि त्यत्तिकै शक्तिशाली हुने वैज्ञानिक सिद्धान्त जस्तै एकातर्फको निर्मम आतंकवादी गतिविधिको प्रतिक्रिया अहिले विश्वभर देखिन थालेको छ । इतिहास पक्कै हालभन्दा अझ निर्दयी थियो होला, तर त्यसबेला सञ्चार र जनचेतनाको अभावमा यस्ता आतंककारी क्रियाकलापको स्थानीय असर मात्र हुने गर्दथ्यो । हाल विश्वव्यापीकरणले एक ठाउँको क्रियाकलापले विश्वभरि नै असर पुर्‍याउन थालेको देखिन्छ । हाल यस्ता परिघटनाबाट न अमेरिका अप्रभावित रहन सक्छ, न भारत, युरोप, अरब, न नेपाल नै ।

अहिले नेपालको अर्थतन्त्र विप्रेषणको भरमा चलेको छ । अमेरिकाको अपेक्षित संरक्षणवादी नीतिले अरबलगायत अन्य देशहरूमा मन्दी आउन सक्छ र त्यो नेपालको लागि घातक हुन सक्छ । तसर्थ ‘पाताल लोक’ भनिने गरेको अमेरिकाको चुनाव र यसबाट हुनसक्ने असर विश्वव्यापी हुनेमा दुईमत छैन ।

नेपाल र नेपालीलाई लोकतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षता, जातीय राज्यसहित सुनौलो भविष्यको चारो देखाउँदै सत्तामा पुग्न सफल हालका शासक वर्गलाई पनि आफ्ना प्रतिबद्धता बिर्सेर जनताको अभिमत जित्न र शासन गर्न सजिलो हुने छैन ।

अबको बाटो विद्रोह गरेर सत्तामा पुग्नुभन्दा कठिन रहेको कुरा स्पष्ट भएको छ । ट्रम्पको अप्रत्यसित विजय तथा विश्वका अन्य यस्तै घटनाक्रमबाट बहुसंख्यकलाई चिढ्याएर र फुटाएर तथा अल्पसंख्यकको तुष्टीकरणबाट मात्र सत्तामा टिकिरहन सकिँदैन भन्ने सन्देश दिएको छ । हालको चुनाव परिणामले अमेरिका पनि अन्य मुलुकजस्तै विश्व समीकरणभित्रकै एक सदस्य तथा प्रमुख खेलाडी रहेको इंगित गर्दछ ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.