संशोधनले खिलराजको पुनरावृत्ति !

संशोधनले खिलराजको पुनरावृत्ति !

शक्ति संघर्षको होडबाजीका कारण संविधान जारी गर्दा एकमत प्रमुख तीन दल विभाजित छन् । तराई–मधेसका भूमिपुत्रको हितमा नभई अंगीकृत नागरिकको विस्तार गर्न लागिएको देशको कित्ताकाटसँगै संविधानमा दोस्रो संशोधनको अभ्यासले राजनीतिमा धु्रवीकरण बढ्दोे छ । त्यससँगै संवैधानिक अंगहरूबीच बढ्दो द्वन्द्वले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ ।

२०७४ माघसम्म गर्नैपर्ने संसद्, प्रान्त र स्थानीय तहको निर्वाचनको वातावरण बन्ने संकेत नदेखिएपछि नेपाली सेनाले खुलेरै आफ्नो चिन्ता व्यक्त गरेको छ । देशको वस्तुस्थिति साँच्चिकै तरल र अस्थिर छ यतिबेला । राजनीतिक शक्ति देशप्रति संवेदनशील अनि जनताप्रति जिम्मेवार र उत्तरदायी नभएपछि सेना चिन्तित हुनु स्वाभाविक हो ।

सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा चोट पुगेको कुनै पनि देशको सेनाले टुलुटुलु हेरेर बस्न सक्दैन पनि । लोकतन्त्र, गणतन्त्र र धर्मका नाममा देशलाई विदेशीको प्रयोगशाला बनाउने आपराधिक अभ्यास जारी रहिरहने हो भने देशको अस्तित्व रक्षाको लागि पनि राजनीति दलको हातबाट फुत्काउनुपर्ने परिस्थिति आउन सक्छ ।

लोकतन्त्र पुनस्र्थापनाको दस वर्ष, राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको पनि आठ वर्ष र संविधानसभाबाट संविधान जारी भएको एक वर्ष बितिसकेको छ । यसबीचमा शक्ति संघर्षबाहेक लोकतन्त्र तथा गणतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनमा सिन्कोसमेत भाँचिएको अवस्था छैन ।

संविधान जारी हुनुअघिका असन्तुष्टि यथावत् छन् । सत्तालाई मात्र केन्द्रविन्दुमा राखेर निर्णय गर्ने गराउने प्रचलन हावी भएको छ दलहरूमा । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीसमेत संविधान संशोधनबाट देशलाई दीर्घकालीन रूपमा के असर पर्छ भनेर गम्भीर हुनुभन्दा पद धरापमा पर्ने हो कि भनी बढी चिन्तित देखिन्छन् ।

आजको विकृतिको पृष्ठभूमिमा विभिन्न गलत अभ्यास भए । माग्नेले जे मागे पनि दिनेले दिन्छु भनिदियो । पुष्पकमल दाहालले विद्रोहताका सबै जातिलाई राज्य दिन्छु भनिदिए । हिमाल, पहाड र तराई मिलाएर तीन प्रदेश भनिरहेका गिरिजाप्रसाद कोइरालाले मधेस आन्दोलनले उग्र रूप लिएपछि मधेस एक प्रदेश कबोल गरे । देशको कार्यकारी जिम्मेवारी लिएपछि आइलाग्ने समस्याको समाधान गर्न सक्नुपर्छ । प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद र विद्रोही नेताका रूपमा पुष्पकमलले बाँडेका र पूरा गर्न नसकेका आश्वासनका कारण उत्पन्न पीडा आज सिंगो देश र जनताले भोग्नुपरेको छ ।

पुष्पकमल दोस्रोपटक प्रधानमन्त्रीमा आसीन छन् यतिबेला । केपी ओलीले संविधान संशोधनमा नसघाउने बताएपछि आफूहरुविरुद्ध षड्यन्त्र हुन लागेको भन्दै आवश्यक परे फेरि क्रान्ति गर्छु भनेर बोलिदिए उनले । देशको कार्यकारी प्रमुख रहेको व्यक्तिले कसविरुद्ध क्रान्ति गर्ने ? सेनाका अभिव्यक्ति आउनुमा प्रधानमन्त्रीको मन्तव्यको उक्साहट छैन भनेर कसरी मान्ने ?

बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका दाहाल भौतिक रूपमा जीवित रहे पनि राजनीतिक रूपमा उनको अवसान भइसकेको छ यतिबेला । प्रजातान्त्रिक दलका मान्यतामा स्थापित भइसकेपछि रूपान्तरण हुनैपर्छ ।

माओवादीका एजेन्डा सबैले स्विकारेकै हुन्, तर नेतृत्वले शान्तिमा आएपछि आफ्नो अपेक्षित भूमिका निर्वाह गर्नै सकेन । माओवादी अध्यक्ष पुष्पकमलले भन्न सक्नुपथ्र्यो, ‘अब हामीले चाहेजस्तो लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ ।

संविधानसभाबाट संविधान पनि बनिसकेको छ, हामी जिम्मेवार राजनीतिक दलको रूपमा स्थापित भइसकेका छौं । अब विद्रोही मानसिकता त्यागेर राजनीतिक कार्यकर्ताको भूमिकामा रहनुपर्छ । विद्रोही होइन, जनताका सुखदुःखको साथीमा रूपान्तरण हुनुपर्छ ।’ आफूले लडाएका लडाकुलाई यति मात्रै भन्न सकेको भए सायद न माओवादीको यो हविगत हुन्थ्यो, न देश विदेशीको खेलमैदान ।

जनताको चाहना र इच्छाबमोजिम हिँडेर बाहिरी एजेन्डा अस्वीकार गरेको भए आज न देशलाई संघीयता काउसो हुने थियो न त नेतृत्व र लोकतन्त्रप्रति यो हदसम्मको वितृष्णा । अब पनि दाहालले देशलाई कथित माओवाद, जातिवाद र क्षेत्रीयतावादको दुष्चक्रबाट बाहिर निकाल्न सकेनन् भने यी तीनवटा वादका कारण देश गम्भीर दुर्घटनामा पर्ने निश्चित छ । जसको आधारभूमि नेतृत्वकै दैनिक क्रियाकलापबाटै सिर्जित भइरहेका छन् ।

लडाकुको नामको पैसाकै दुरुपयोगका कारण लोकमान जन्माइए, आज उनकै नाममा अख्तियारलाई मारिँदै छ । हिजो लोकतन्त्रको अभ्यासका नाममा न्यायलाई कठघरामा राखेर खिलराज रेग्मी जन्माइए । संविधानसभा जारी भएपछि व्यवस्थापिकामा रूपान्तरण गरिएको संसद्प्रति जनजनमा असन्तुष्टि छ ।

संविधान संशोधनमा देखिएको पछिल्लो रिहर्सल दाहालको लागि अर्को कलंकित घटना बन्नेछ, इतिहासमा । हो, दाहालले सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि निकै ठूलो कसरत गरे तर आज त्यो आयोग बेवारिस जस्तो भएको छ । संक्रमणकालीन न्याय विचलित भएको छ ।

विधिको शासन कायम गर्ने भनियो तर अदालतले दोषी प्रमाणित गरेका व्यक्तिलाई राजनीतिक संरक्षण दिने काम दाहालबाटै भयो । सत्य निरूपण तथा मेलमिलाप आयोगलाई टुंगोमा पु¥याउन सकिएन भने यसले थप जटिलता निम्त्याउनेछ । त्यो जटिलताको सिकार पनि दाहाल नै हुनेछन् ।

देशकै पुरानो र (अ)लोकतान्त्रिक पार्टीका सभापति प्रधानमन्त्री रहेका बेला न्याय मागिरहेको एउटा माओवादी पीडित नन्दप्रसादले अनशनमै ज्यान गुमाउनुपर्‍यो, अहिलेसम्म उनको अन्त्येष्टि हुन सकेको छैन ।

वर्तमान सत्तासीन गठबन्धनले दर्ता गरेको संविधान संशोधनको प्रस्तावले मुलुकलाई थप अन्योलतर्फ धकेलेको छ । यस्तो संविधान संशोधनले न मधेसीको हित गर्छ न त सिंगो नेपालको ।

कानुनले दोषी ठहर गरेका व्यक्ति राज्यद्वारा संरक्षित भएपछि कानुन सानालाई मात्र रहेछ भन्ने पुष्टि भयो । मेडिकल शिक्षाका बेथितिविरुद्ध लडिरहेका गोविन्द केसीको पनि त्यही अवस्था आयो भने केही फरक पर्ने छैन राज्यलाई । व्यक्तिगत जीवन र पार्टीमा लोकतन्त्रको मूल्यमान्यता पालना नगर्नेले देशमा लोकतन्त्र संस्थागत गराउँछ भनेर हामी कतिन्जेल कुरिरहने ?

हुन त कांग्रेसका लोकतान्त्रिक अभ्यासकै प्रतिफल हुन्, अहिलेका गतिविधि । ६ जना मन्त्री हटाएर सुरु भएको कांग्रेसी लोकतान्त्रिक अभ्यास, मध्यावधि निर्वाचन, गणेशमानको अपमानजनक बहिर्गमन, कृष्णप्रसाद भट्टराईलाई सरकारबाट गलहत्याउने निर्णय हुँदै गणतन्त्रको यात्रासम्म आइपुग्दा उसले आफ्नो सिद्धान्त सत्तासँग साटिसकेको छ ।

उसले २०६३ अघि आफ्नो बाटो कुन थियो भन्ने पनि बिर्सिसकेको छ । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्ने विमलेन्द्र निधिका राष्ट्रियताप्रति अभिव्यक्त टिप्पणीले नेपाल स्वतन्त्र र स्वाधीन राष्ट्र नभएको प्रमाणित गर्छ । उनले मधेसकेन्द्रित दलले चाहेअनुसार संविधान संशोधन हुनुपर्छ मात्र भनेनन्, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने स्पष्ट अडान राखे । तराईमधेसमा अधिकांशले मैथिल भाषा बोल्छन्, हिन्दी बोल्दैनन् । अंगीकृतका लागि छुट्टै राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने निधिको विचारले उनको राष्ट्रियताप्रतिको अडान कस्तो होला भनेर अनुमान गर्ने ?

संविधान संशोधनमा एमालेको बाटो सकारात्मक छ, तर मुलुकलाई लोकतान्त्रिक मार्गबाट बाहिर जान नदिने खतरातर्फ भने उसले सजगता अपनाउनैपर्छ । लोकतान्त्रिक व्यवस्थाका निम्ति चुनौतीका रूपमा हेरिएको छ, अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई । लोकतान्त्रिक पद्धति कसरी निरंकुश हुँदोरहेछ भन्ने सन्देश पनि अमेरिकी जनताको निर्णयले पुष्टि गरेको छ ।

अमेरिकी निर्णयको प्रभाव यहाँ पनि नपर्ला भन्न सकिन्न । नेपालमा राप्रपा एकीकरण पनि त्यसैको संकेत हो । वर्तमान सत्तासीन गठबन्धनले दर्ता गरेको संविधान संशोधनको प्रस्तावले मुलुकलाई थप अन्योलतर्फ धकेलेको छ ।

कसैको दबाबमा अंगीकृत नागरिकताधारीलाई राज्यको उच्च ओहोदामा पुर्‍याउने गरी संविधानमा संशोधन गरियो भने त्यो मुलुकको लागि घातक हुनेछ । यस्तो संविधान संशोधनले न मधेसीको हित गर्छ न त सिंगो नेपालको ।

त्यसैले विद्यमान राजनीतिक दृष्टिकोणबारे पुनर्विचार जरुरी भएको छ । नेपालको नियतिलाई राजनीतिक रूपमा सच्याउने जिम्मा नेतृत्वलाई नभई आम नागरिकलाई दिन ढिलाइ गर्नु हुन्न ।

नेताबाट भाग्य कोरिने अवसरबाट जनता पटकपटक चुकिसकेका छन् । विगत १९ वर्षदेखि हुन नसकेको स्थानीय निकाय निर्वाचन तत्कालको विकल्प हो । अहिले विवादित बनेको संघीयता, धर्म निरपेक्षता र गणतन्त्रबारेको जनमतसंग्रह पनि त्यही निर्वाचनसँगै गर्दा उपयुक्त हुनेछ ।

निर्वाचनले नेतृत्वको परीक्षण मात्र गर्ने छैन, नेपाली नेताको विवेकभन्दा बाहिर रहेको राजनीति पनि लिकमा फर्कनेछ किनकि दबाबमा संविधानमा पटकपटक संशोधनले संविधानको स्वीकार्य बढाउने नभर्इ नयाँ खिलराजकाे पुनरावृत्ति गराउने सघाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.