आईसी, सीमा र रामदेव

आईसी, सीमा र रामदेव

नेपाल-भारत खुला सीमा नियमनबारे पंक्तिकारले एक वर्षयता अन्नपूर्ण दैनिकको लेखरचना पृष्ठमा नियमितजसो आफना धारणा राख्दै, दोहोर्‍याउँदै र विषय प्रसंगले मिलेसम्म त्यसमा फेरि साँध लाउँंदै आएको छ ।

नेपाली जनताले गत वर्ष आफ्नो मतादेशको बलमा नयाँ संविधान जारी गरेपछि त्यसको कार्यन्वयनका सन्दर्भमा उत्पन्न केही असन्तोष र जटिलतालाई लिएर भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाइरहेको अवस्थामा सीमा नियमनको आवश्यकतामाथि बहस एक किसिमले सुरु भएको थियो ।

यसलाई एउटा तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली जनता र नेपाल हित चाहने सबै सरोकारवालाबीच निरन्तर संचेतना अभ्यास जरुरी छ । यसैअन्तर्गतको एउटा व्यक्तिगत स्तरको मेलो हो योे लेख शृंखला पनि । जसलाई फेरि एकपटक उठान गर्ने एउटा फरक प्रसंग निस्केको छ- भारत सरकारले पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउँदै बजारबाट सबै नोट खिच्ने निर्णय ।

हुन त यो सीधै नरेन्द्र मोदी सरकारले भारतीय सिमानाभित्रको उद्देश्यका लागि यो निर्णय गरेको हो । चाहे त्यो कालो धन उखेलेर निकाल्ने कारण हो या नक्कली नोट या आतंकवादको दुहाई अथवा भनौं मोदीले नजिकिँदो चुनावको लागि फालेको अस्त्र । यो विशुद्ध भारतीय मामिला हुनुपर्ने थियो, नेपालको होइन । तर नेपालको लागि यो कुनै एउटा समसामयिक घरेलु समस्याजस्तै भएको छ भन्दा पनि फरक पर्ने अवस्था छैन ।

औपचारिक र बैंकिङ च्यानलबाट नेपाल आउजाउ हुने भारतीय रुपैयाँ नोट अलपत्र पर्ने छैन । त्यसमा चिन्तै परेन । चिन्ता ती भारतीय रुपैयाँ नोटका हुन्, जुन नेपाली भूमिमा लुकाएर राख्नुपर्ने बाध्यता थियो । अब त्यो कता लगेर साट्ने ? थोरैतिनोका कुराले यस्तो हुन्थेन । नेपालीहरू नोटका थैला बोकेर सीमावर्ती भारतीय सहरका बैंकमा भीड लाग्दा त्यकाँका प्रहरीले बल प्रयोगै गर्नुपरेको खबर आइरहेका छन् । यो अवस्थाको फाइदा उठाउन बिचौलियातन्त्र हाबी हुने नै भयो ।

नेपाल र भारतबीचको द्विपक्षीय व्यापारमा चोरीनिकासी र पैठारीको ठूलो हिस्सा छ । करछली एउटा सर्वस्वीकार्य मामिलाजस्तो बन्दै आएको छ । किनकि राजनीतिक र प्रशासनिक संरक्षणमै यो हुने, भइरहने कुरा हो । अझ खुला सीमाले यसलाई अत्यन्तै सहज बनाइदिएको छ, दक्षिणवर्ती क्षेत्रको जनजीवनमै यो प्रत्यक्ष घुसेको छ, अनि राष्ट्रभरकै उपभोग चक्रमा निर्बाध फैलिइरहेको छ ।

राज्यको सघन नियन्त्रण संयन्त्र भएर मात्र वाणिज्य र पारवहन सञ्चालित हुने विषय यतिबेला एउटा परिहासको अवस्थामा छ । त्यसकारण न राज्यको ढुकुटी बलियो छ, न ढुकुटीका भण्डारेहरूमा त्यसलाई चुस्त राख्नुपर्छ भन्ने ध्येय छ । सबैले यसैमाथि खाइखेली गरेर धन्दा टिकाउने प्रचलन बसेको छ अनि त्यसकै जगमा राजनीति टिकाएर देश थिलथिल्याउने (चलाउने होइन) काम भइरहेको छ ।

भारत स्वयं आकारको हिसाबले विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भए पनि विश्वमा सुशासन र सम्पन्नताको लागि परिचय बनाएको मुलुक होइन । भारतको पनि विकास सूचकांकमा सबैभन्दा पुछारका बिहार र उत्तर प्रदेशसँग अधिकांश सीमा जोडिँदा सानो र संवेदनशील मुलुक नेपाललाई झन् अप्ठेरो छ ।

छिमेकहरूको चरित्रबाट पर्ने ‘स्पिलओभर' प्रभाव नेपालमा टड्कारो छ । हिजो बिहारबाट डकैती भित्रन्थ्यो, चोरीपैठारी चल्थ्यो । आज सामाजिक सुरक्षालाई समयले केही बलियो बनाएको छ, तर चोरीनिकासी झन्झन् बहुआयामिक र चुनौतीपूर्ण बन्दै गएका छन् ।

यसका कारण जरामा रहेका समस्या समाधान हुन सकेका छैनन् । जरामै पुर्‍याएर औषधी गर्ने काम पनि हुन सकेको छैन । त्यो जरा भनेकै सीमा हो । खुला सीमाचाहिँ रोगाएको जरा बराबर हो, जसबाट रुखले जमिनबाट लिनुपर्ने पोषकतत्व लिन सक्दैन ।

यतिबेला नेपालमा गाडधनका आईसी नोटहरूले धनी रुवाउने काम गरेको छ । आखिर समस्या आफ्नै नागरिकलाई परेको हो । आईसीका जगेडा चोरी च्यानलकै मात्र हुन पनि भन्न मिल्दैन । नेपाल र भारतबीचको सहज सम्पर्कका कारण व्यक्तिका आवश्यकताले समेत मानिसहरूसँग आईसी हुने कुरा भयो ।

उपचारलगायतका कारणले मानिसहरू आईसी साथैमा राख्छन् । तर भारतले ठ्याक्कै प्रतिबन्ध लगाइदियो, प्रभावचाहिँ निर्भरतामा निर्वाह गरिरहेका नेपालीहरूलाई पर्न गयो । निर्भरता सधैँ खतरनाक चीज हो, जसले अनपेक्षित घटना, परिस्थिति सामना गर्ने तागत दिँदैन । नेपालमा पटकपटक यो दशा दोहोरिँदै गएको देख्न सकिन्छ । पेट्रोलियम र इन्धन निर्भरताले पोहोर के दशा भोग्नुपर्‍यो, सायद नेपालीहरूले बिर्सन सक्ने छैनन् ।

नेपाल र भारत एकदमै सन्निकट छिमेक मात्र होइनन्, अत्यन्तै नजिकका, लगभग समान सांस्कृतिक र सामाजिक आयामका कारण कहिल्यै टाढा रहन नसक्ने बन्धुबान्धवबराबरै हुन् । जसरी एकाघरे बन्धुबान्धव समय र परिस्थितिले तेल पानी एकै पिना बाहिर भने झैं कुनै-कुनै बेला जुट्नैपर्छ, जुन कुरा एकाटोले छिमेकीमा नहुन पनि सक्छ ।

त्यसैगरी नेपाल र भारत पनि समय अन्तरालका राजनीतिक दरार हुँदाहुँदै पनि कसैले गरेर वा चाहँदैमा बैरी हुन सक्दैनन् । अझ भारत र नेपाल त सधैं मिलेरै बस्नुपर्ने, सहकार्यबाट आआफ्नो उन्नति गर्दै जानुपर्ने अवस्थामा छन ।

यतिबेला नेपालमा गाडधनका आईसी नोटहरूले धनी रुवाउने काम गरेको छ । भारतले ठ्याक्कै प्रतिबन्ध लगाइदियो, प्रभावचाहिँ निर्भरतामा निर्वाह गरिरहेका नेपालीहरूलाई पर्न गयो । नेपालमा पटकपटक यो दशा दोहोरिँदै गएको देख्न सकिन्छ । पेट्रोलियम र इन्धन निर्भरताले पोहोर के दशा भोग्नुपर्‍यो, सायद नेपालीहरूले बिर्सन सक्ने छैनन् ।

किनकि हिमालयबाट समुद्रतर्फ जाने पानीले बनाएको सम्बन्ध छ यी मुलुकबीच । जनस्तरमा जबर्जस्त मैत्री मूल्य कायम छन् । केले कुरा बिगा¥यो त ? प्रस्ट छ, खुला र अव्यवस्थित सीमा । जतिसुकै मिलोमतो भए पनि गौंडा, साँधको ठेगान भएन भने द्वन्द्व अवश्यम्भावी छ । संकटहरू आइरहन्छन् । आफ्ना आफ्नो गरिखाने, कम्तीमा अहितको चेष्टामा नजाने भन्ने एकमत भए मात्रै यो द्वन्द्वको निराकरण सम्भव छ ।

असल छिमेकी भएका नाताले नेपालले यतिबेला मोदी सरकारले उठाएको कदमलाई सकरात्मक रूपमा लिनैपर्छ । भारतले त यसबाट एक किसिमको थिति मिलाउने उद्देश्य राखेको छ । नेपालमा पर्ने असर आफ्नो ठाउँमा छ ।

तर फेरि पनि भारतले यो कदम केही वर्षपछि उठाएको खण्डमा हामीले आईसी नोटको चिन्ता लिन नपरोस् । नेपालीले विहारका बैंकमा पुगेर लाठी खान नपरोस् । हामीले हेक्का पुर्‍याउनुपर्ने त्यति हो । त्यसको लागि उपाय खोज्दै जाँदा हामी फेरि उही बहसको घेरामा पुग्छौं ।

रामदेवको उद्योग

रामदेवले बीरगन्ज जडिबुटी औषधी उद्योग खोल्ने विषय यतिबेला चर्चामा छ । नेपाल र भारत सम्बन्ध एक वर्ष पूर्ण तीक्ततामा बितिसकेपछि हालको भारतीय राजनीतिक संस्थापनसँग निकै निकट रामदेवको नेपाल मोह फेरि जागेको छ । दुनियाँलाई योग सिकाएर रामदेवले हुनसम्मै राम्रो गरेका छन् ।

भुइँचालो आउने बखत ठ्याक्कै नेपालमै नेपालीका साथ बसेका उनले सहयोग पनि गरे । पृथ्वीको गर्तबाट आएको भुइँचालोको घाउ बिसेक नहुँदै नेपालले अर्को भुइँचालो खेप्नुपर्या‍े- भारतीय नाकाबन्दी । यो उग्र भुइँचालोमा चाहिँ उनी मौनव्रतमा बसे ।

८५ प्रतिशत हिन्दु दाजुभाइ बसेको तपोभूमिमा रामदेवको आशीर्वाद पाएको नेतृत्वले नाकाबन्दी लगाएको थियो । उनले नरो वा कुन्जरोको शैलीमा समेत बोलेनन् । उनको मौनता निसन्देह व्यापारिक कपटजस्तो थियो ।

अहिले रामदेवले उद्योग खोल्न लाग्नु स्वागतयोग्य छ । नेपालीहरू माथिल्लो कर्णालीमा पनि रामदेवले जसरी लगानी गरिएको खण्डमा खुसी हुने थिए । पञ्चेश्वर त्यसैगरी अगाडि बढे झन् दंग पर्ने थिए । रामदेवले जडिबुटी उद्योग खोल्ने माहोल बनाउँदा हाम्रा राष्ट्रपतिले समेत औधि उत्साह प्रकट गर्नुभयो, प्रधानमन्त्री त टाइ लगाएरै कपालभाँती गर्न थाल्नुभयो ।

रामदेवको यस्तो मोह अनि नेपाली नेताहरूको त्यस्तै मिल्दो उत्साह दुई राज्यको उच्च राजनीतिक नेतृत्वमा दिगो र दर्बिलो ढंगमा अनूदित हुनु, त्यसमा दुवै पक्षले आआफ्ना स्वार्थलाई न्यायोचित र वस्तुपरक ढंगले निर्दिष्ट पार्नु अत्यन्तै जरुरी छ । ताकि रामदेव, उनका नेताहरूले भोलिका दिनमा नेपाल भन्ने छिमेक देशमा मैत्रीभाव छ, सम्मान छ तर त्यसका पनि साँध सिमाना छन्, मौलिक प्रक्रिया छन्, भन्ने बुझ्न सकून् ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.