महाभियोग प्रस्तावमाथि मतदानमा ढिलाइ
सोलः दक्षिण कोरियामा काण्डबाट प्रभावित राष्ट्रपति पार्क ग्युन हायमाथि महाभियोगको प्रस्तावमाथिको मतदान एक साताका लागि पछि सारिएको छ । उनले आफूले छिटै पदबाट हट्न चाहेको बताएपछि मतदानको कार्य पछाडि सरेको हो ।
राष्ट्रपति पार्कका आफ्नै दलका सांसदहरूले पनि उनीमाथि महाभियोग लगाउने प्रस्तावलाई समर्थन जनाएका थिए । हाल उनीहरूले यस विषयमा मतदान हुनुपूर्व छलफल गर्न चाहेका छन् । यस्तो छलफल एक सातापछि हुने सम्भावना छ ।
राष्ट्रपति निवास ब्लु हाउसले पनि यस काण्डमा नयाँ चरणको अनुसन्धानमा उनले सघाउने र नयाँ नियुक्त विशेष अधिवक्ताले गर्ने सोधपुछमा उनी सहभागी हुने स्पष्ट पारेको छ ।
राष्ट्रपति पार्कमाथि उनका विश्वासपात्र चोइ सुन–सिलसँग मिलोमतो गरेको र चोइको व्यक्तिगत फाइदाका लागि संस्थाहरूलाई लाखौं डलर चन्दा दिन बाध्य पारिएको आरोप लगाइएको छ । चोले कोरियाका प्रसिद्ध कम्पनी सामसङ लगायत ठूला कम्पनीसँग ६ करोडभन्दा बढी घूस लिएको बताइएको छ ।
उनले यस विषयमा संसद्लाई निर्णय गर्न दिइने बताएकी छन् । यस अनुसन्धानमा राष्ट्रपति पार्कलाई आशंकित व्यक्तिको रूपमा लिइएको छ र फौजदारी अभियोगमा अनुसन्धानमा परेकी उनी पहिलो राष्ट्रपति बनेकी छन् ।
उनले प्रत्यक्ष भिडियो सम्बोधनमा सांसदहरूले शक्तिरिक्तपना कम गर्न तथा शासनमा अराजकता हुन नदिने अवस्था सिर्जना गरी शक्ति हस्तान्तरणको अवस्था सिर्जना गरे आफू पदबाट हट्ने बताइन् । उनका आलोचकहरूले भने उनले महाभियोगको प्रयासलाई ढिलाइ गर्न उक्त प्रयास गरेको आरोप लगाएका छन् ।
उक्त सम्बोधनले उनकै साएनुरी पार्टीका केही सदस्यको चित्त बुझेको देखिएको छ र यसले प्रतिपक्षी दलको प्रयासमा बाधा उत्पन्न गराएको छ । राष्ट्रियसभामा महाभियोगको प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ । संसद्मा तीनवटा विपक्षी दलसँग संयुक्तरूपमा ५५ प्रतिशत सिट छ ।
यसअघि पार्ककै दल साइनुरीका करिब ३० सांसदले पहिले राष्ट्रपतिलाई पदमुक्त गर्ने प्रयासमा सहयोग गर्ने बताएका थिए । पार्कको सम्बोधनपछि उक्त कुराबाट उनीहरू पछि हटेका छन् । प्रतिपक्षले राष्ट्रपति पार्कले तत्कालै निसर्त पदबाट हट्नुपर्ने अडान लिएको छ भने उनीप्रति समर्थन जनाउनेले नियमित रूपमा उनको पलायन हुनुपर्ने माग राखेका छन् ।
दुई दिनअगाडि मात्रै १५ लाखभन्दा बढीले सोलमा धर्ना दिएर प्रदर्शन गरेका थिए । पार्कविरुद्ध लाखौंले विरोध प्रदर्शन गर्दै आएका छन् । उक्त प्रस्ताव पारित भएमा पार्क तत्काल निलम्बित हुनेछिन् । उनका प्रधानमन्त्रीले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
राष्ट्रपति पार्कलाई पदमा रहँदासम्म देशद्रोह बाहेक फौजदारी अभियोग लगाउन सकिन्न तर पदमुक्त भएपछि त्यसो गर्न सकिन्छ । राष्ट्रपति पार्कले बुधबार प्रतिपक्षको नियन्त्रणमा रहेको संसद्ले सिफारिस गरेका एक अधिवक्तालाई उक्त काण्डमा छानबिन गर्न दिने कुरामा सहमति व्यक्त गरेकी छन् ।
विशेष अधिवक्ताले राष्ट्रपति पार्कसँग अन्तर्वार्ता लिनेछन् र सरकारी अनुसन्धानकर्ताले गरेको अनुसन्धानको आधारमा चार महिनाभित्र प्रतिवेदन तयार गर्नेछन् । यसअघि राष्ट्रपति पार्कले आफूमाथि सोधपुछ गरिने कुरालाई अस्वीकार गर्दै आएकी थिइन् ।