रामजानकी विवाह महोत्सव भव्य
जनकपुरधामः साताव्यापी मनाइने रामजानकी विवाह महोत्सवअन्तर्गत बिहीबार जानकी मन्दिरमा भव्यतापूर्वक धनुषयज्ञ सम्पन्न भएको छ । धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले जनकपुरमा आफ्नी छोरी सीताको विवाहका लागि योग्य वर चयन गर्न धनुषयज्ञ आयोजना गरेका थिए ।
राजा जनकले शिवको अति नै बलियो धनुष यज्ञमा राखेर त्यसलाई उठाएर बान चढाउनसक्ने व्यक्तिसँग आफ्नी छोरीको विवाह गर्ने सर्त राखेका थिए । त्यही सर्त स्वीकार गर्दै अयोध्याका राजकुमार रामले धनुषयज्ञमा भाग लिई शिवको धनुषलाई उठाएर बान चढाउन खोज्दा धनुष भाँचिएर तीन टुक्रा भएको थियो ।
शिवको धनुषको एक टुक्रा आकाशमा, अर्को पातालमा र तेस्रो टुक्रा जनकपुरभन्दा २० किलोमिटर टाढा रहेको धनुषाधाम भन्ने स्थानमा खसेको किंवदन्ती छ ।
धनुषाधाममा अहिले पनि धनुषको टुक्रा खसेको स्थानमा धनुषजस्तै ढुंगाको प्राकृतिक आकृति बनेको छ । धनुष खसेको स्थानमा मन्दिर बनाइएको छ । त्यहाँ हजारौं पर्यटक दर्शन गर्न जाने गर्छन् । रामले धनुष भाँचेपछि राजा जनकले सीताको विवाह रामसँग गर्ने निर्णय गरेका थिए ।
सोही कथालाई यथार्थ बनाउँदै जनकपुरमा प्रत्येक वर्ष विवाह महोत्वसका क्रममा धनुषयज्ञ गर्ने परम्परा छ । धनुषयज्ञमा सहभागी हुन जानकी मन्दिरमा हजारौं श्रद्धालु र पर्यटकको भीड लागेको थियो ।
प्रशासनिक निकायका प्रमुख, राजनीतिक दलका नेताहरूसमेत यज्ञमा सहभागी हुन मन्दिर पुगेका थिए । महोत्सवअन्तर्गत शुक्रबार तिलकोत्व, शनिबार मटकोर र आइतबार रामसीता विवाह आयोजना हुनेछ ।