विश्व सम्पदा सूचीमा योग
पेरिसः संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले योगलाई बुधबार विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । योगलाई अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ ।
योगलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको जानकारी युनेस्कोका प्रतिनिधि रुचिरा काम्बोजले बिहीबार दिएका हुन् । युनेस्कोका अनुसार अमूर्त सांस्कृतिक सम्पदामा मौखिक परम्परा तथा अभिव्यक्ति, प्रदर्शन कला, सामाजिक रीति रिवाज, चाडपर्व, ज्ञानलाई समावेश गरिन्छ ।
यसअघि योगलाई खेलकुद विधाअन्तर्गत राखिएको थियो । खेलमा समावेश गरिएकै कारण योगलाई विश्व सम्पदा सूचीमा राख्न नमिल्ने तर्क राखिँदै आएको थियो । योगलाई विश्व सम्पदा सूचीमा राख्न भारतले माग गरेको थियो ।
योग दक्षिण एसियामा हजारौं वर्षदेखि प्रचलित छ । युनेस्कोले ट्विट गर्दै भनेको छ, ‘कुनै भेदभावबिना योग सबै वर्ग, लिंग र धर्मका लागि उचित छ ।' यसैगरी क्युबाको रुम्बा नाच र पेरुको सिजर नाच पनि विश्व सम्पदा सूचीमा समावेश भएका छन् ।