पाकिस्तानमा आतंकवाद निर्मूल पार्ने सेनाको घोषणा
इस्लामाबादः पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतंकवादविरुद्धको पाकिस्तानबाट आतंकवादलाई निर्मूल पार्ने घोषणा गरेका छन् । पाकिस्तानी पूर्व सेनाधिपति जनरल रहिल सरिफले अवकाश प्राप्त गरेपछि नियुक्त भएको भोलिपल्ट जनरल बाज्वाले यस्तो घोषणा गरेका हुन् ।
आफूले कुनै पनि वि श्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता पनि उनले प्रकट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेनाले पाकिस्तानी तालिवानी र आतंकवादी विदेशी सशस्त्र विद्रोहीविरुद्ध कारबाही चलाई सुरक्षा प्रदान गरिरहेको उत्तरी बजिरिस्तानको आदिवासी क्षेत्रको भ्रमणमा गएका जनरल बाज्वाले उक्त अभिव्यक्ति दिएका हुन् ।
उत्तरी बजिरिस्तानको त्यस क्षेत्र धेरै वर्षसम्म आतंकवादी सशस्त्र विद्रोहीको कब्जामा रहेकोमा सन् २०१४ को जुनमा पाकिस्तानी सुरक्षा बलले तीव्र सैनिक कारबाही चलाई मुक्त गरेको थियो । कारबाहीका क्रममा वीरगति प्राप्त गर्ने सेनाका अधिकृत तथा जवानहरू र राष्ट्रिय प्रहरीबलका सुरक्षाकर्मीहरूको स्मरणमा श्रद्धाञ्जलि चढाउँदै जनरल बाज्वाले अब यस क्षेत्रमा कहिले पनि आतंकवाद फर्किन नदिने अठोट गरेका छन् । सैनिक संख्याको हिसाबले पाकिस्तान संसारको छैटौं शक्तिशाली देश हो ।
अफगानिस्तानको सीमाना पर्ने यस क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी पार्ने उद्देश्यले पाक-अफगानिस्तान सीमा सुरक्षा सम-सैन्य बल (प्यारामिलिटरी - फ्रन्टियर कप्र्स) अपरिहार्य रहेको स्पष्ट पारेका छन् । त्यस क्षेत्रमा सुरक्षाबल शीघ्र खडा गर्न कदम चालेको पनि उनले खुलासा गरेका छन् ।
पाकिस्तान र अफगानिस्तानबीचको २ हजार ६ सय किलोमिटर लामो र ठाउँ ठाउँमा विकट पहाडी भूभाग रहेको सीमाक्षेत्रको सुरक्षा व्यवस्था फितलो रहनाले सशस्त्र आतंकवादीहरूका लागि दुवैतर्फ आउजाउ गर्न सजिलो र सुरक्षित क्रीडास्थलसरह भइरहेको छ ।
उनले पदभार ग्रहण गर्दा भारत-पाकिस्तान सिमानामा देखिएको तनाव कम गर्ने बताएका थिए । उनले नियन्त्रण रेखामा छिटै स्थिति सुधारिने बताए । यसका लागि सञ्चारमाध्यमबाट सहयोग अपेक्षा गरेको उनको भनाइ थियो । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भइरहेका बेला उनी प्रधानसेनापति नियुक्त भएका छन् ।
आइएस कमान्डर मारिए
काबुलः पू्र्वी अफगानिस्तानका बुधबार अफगान सैनिकको सहयोगमा प्रहरीको एक समूहले आतंककारीविरुद्ध जारी राखेको कारबाहीमा इस्लामिक स्टेट (आइएस) का एक कमान्डरसहित अन्य केही आतंककारीको मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किलो मिटर पूर्वमा रहेको नान्गार्हारको प्रान्तको प्रान्तीय राजधानी ती आतंककारी मारिएको प्रान्तीय प्रहरी प्रवक्ता हज्रात मसरिक्वालले बताएका छन् । आइएस कमान्डर जाहिदसहित केही आतंककारी मारिएका बताइएको छ । कारबाहीमा के कति संख्यामा हताहत भएका हुन् त्यो भने प्रस्ट पारिएको छैन ।