सुरजको शालीन यात्रा

सुरजको शालीन यात्रा

'पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो
छरिएर बसे के भो सन्तान त एउटै हो'

जुन गीत नसुन्ने कमै होलान् । यो राष्ट्रिय भावले भरिएको गीत मन नपर्ने सायदै होलान् । गीत धेरैको जिब्रोमा झुन्डिए पनि यसका गायकबारे धेरैलाई हेक्का नहुन सक्छ । गायक सुरजकुमार थापा संगीत क्षेत्रका अब्बल खम्बा भए पनि चर्चाको दुनियाँमा भने त्यति आइहाल्ने स्वभावका होइनन् । घरभित्रै संगीतको बलियो सरोबर पाएका थापाले संगीतयात्रा भने २०४६ सालबाट थालेका थिए ।

आमा त्यसै पनि पहिलो गुरु हुन् । त्यसमाथि सुरजकी आमा तीर्थकुमारी थापा नेपाली संगीत आकाशमा निकै चम्किएकी तारा हुन् । उनले भने, 'आमाको त्यही संगीतको न्यानोले मेरो सांगीतिक मनलाई थप सिञ्चित गरिदियो ।' उनी भित्रको संगीत मोहलाई माझ्ने काम संगीतकार, गायक तथा रचनाकार अम्बर गुरुङले गरे । आफूलाई अम्बरको सच्चा चेला भन्न रुचाउने सुरजले रेडियो नेपालको बाल कार्यक्रममा बाल गीत रेकर्ड गरेर संगीत यात्रा थाले ।

उनले २०४८ सालमा संगीतकार मानसिंह थुलुङद्वारा संगीतबद्ध गीत 'म त डुबिसकेको छु' गीत गाएर रेडियो नेपालको स्वरपरीक्षा पास गरे । पहिलो गीत भने उनले रत्न बेहोसीको रचना र संगीतमा 'भाग र गुणा' गाएर रेकर्ड गराए । त्यसपछि सुरजले पहिलो आधुनिक गीत भैरवनाथ रिमालको शब्द र भूपेन्द्र रायमाझीको संगीतमा 'बाटो हेर्छु आशा बोकी' गाए । स्वर्गीय प्रवीण गुरुङको संगीतमा उनले 'धेरै बेर राख्न सक्दैनौं' बोलको गीत चलचित्रका लागि गाएर त्यस क्षेत्रमा पनि आफूलाई अब्बल देखाउने काम गरे ।

सुरजले २०४८ सालमा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय गायन प्रतियोगितामा प्रथम स्थानमात्रै पाएनन् बृहत् भक्ति संगीत प्रतियोगिमा गायनतर्फ प्रथम स्थान लिए । २०५५ सालमा भएको देशव्यापी प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा गायनतर्फ उनी तृतीय भए । २०५९ मा रेडियो नेपालले गरेको प्रतियोगितामा उनी द्वितीय बने । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहको 'गद्दी आरोहण रजत पदक' समेत प्राप्त गरेका सुरज इमेज अवार्ड २०७२ मा उत्कृष्ट युगल गायक अवार्ड पाउन सफल भए । योलगायत उनले थुप्रै सम्मान पुरस्कार पाए पनि पछिल्लो पुस्ताका गायक झैं चर्चामा भने कमै छन् ।

'आज उदाउने भोलि अस्ताई जानु राम्रो होइन', उनले भने, 'संगीत नदी हो निरन्तर बगिरहनु राम्रो ।' आधुनिकदेखि चलचित्रका गीतमा स्वर दिएका सुरज नेपालयले आयोजना गर्ने पलेटी कार्यक्रममा वरिष्ठ गायकहरूका गीतमा प्रस्तुत हुन्छन् । दुई वर्षअघि उनको पहिलो एकल स्वरको एल्बम 'चिनारी' सार्वजनिक भएको थियो । उनको व्यस्तता कलेक्सन एल्बमहरूमा बढी हुन्छ । १३ वर्षदेखि 'नेपथ्य' ब्यान्डमा आबद्ध सुरजको गायन कौशलता मञ्चमा प्रस्तुत हुँदा नै बढी देखिन्छ । हेर्दा सामान्य र सरल देखिने उनी संगीतका गहिरो साधक झैं लाग्छन् ।

स्वदेश तथा विदेशमा एकल तथा समूहगत गायनमा धेरै पटक प्रस्तुत भएका सुरजले २५ वर्षभन्दा लामो संगीत अनुभव गरेका छन् । शालीन व्यक्तित्वका धनी सुरजको जन्म २०३३ साल भदौ ७ गते आमा तीर्थकुमारी थापा र बुवा प्रेमबहादुर थापाको सन्तानका रूपमा भएको थियो । महेन्द्र आदर्श विद्या श्रमबाट माध्यमिक तह पूरा गरेका उनले नमुना मच्छिन्द्र क्याम्पसबाट प्रमाणपत्र तह र शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरे । घरमै लोकसंगीतकी सागरजस्ती आमाबाट प्रेरित सुरजले आफ्नो संगीत गुरुका रूपमा भने अम्बर गुरुङलाई माने । गुरुङबाटै दीक्षित उनले गायन निखारे, संगीत सिके । गायक सुरज बहुआयामिक गीत गाउन अभ्यस्त छन् । उनी गजल, आधुनिक र शास्त्रीय गीत एवं पपगीत गायनमा उत्तिकै अब्बल मानिन्छन् ।

सुरजले 'चिनारी' नामक एकल एल्बम र 'निशानी ५३', 'हे भानुभक्त', 'दिल दिल', 'नभए तिमी', 'सम्पदा', 'रहरको लहर' 'रोशी खोला' जस्ता एल्बम संगीत क्षेत्रलाई दिइसकेका छन् । 'यसपालि त जन्ती बाख्रो खान पाइने भो', 'गहिरो घाउ' जस्ता गीत चर्चित छन् । 'घरसंसार', 'अबला' जस्ता चलचित्रमा उनको संगीत निकै रुचाइएको थियो । सुरजसँग गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, रत्नशमशेर थापा, किरण खरेल, शान्ति ठटालजस्ता व्यक्तित्वसँग सहकार्य गरेको अनुभव छ । सांगीतिक यात्राका क्रममा अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, फिनल्यान्ड, हल्यान्डलगायतका देश पुगेका सुरज १५ वर्षदेखि विभिन्न विद्यालयमा संगीत गुरुका रूपमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.