मलेसियामा अलपत्र दुई शव नेपाल पठाइयो
क्वालालम्पुर: रकम अभावका कारण मलेसियाका अस्पतालमा अलपत्र परेका दुई नेपालीको शव नेपाल फर्काइएको छ । वैदेशिक रोजगार प्रवर्द्रधन बोर्डले रकम निकासा गरेपछि लामो समयदेखि यहाँका अस्पतालमा अलपत्र ती शव नेपाल फर्काइएको हो ।
एक वर्षअघि मृत्यु भई केहडा अस्पतालमा रहेको खोटाङका दिलबहादुर सार्की र मलाया युनिभर्सिटीमा रहेको भक्तबहादुर नेपालीको शव शुक्रबार नेपाल पठाइएको हो । यसअघि चितवनका राजकुमार विक र मकवानपुरका अक्कलबहादुर मोक्तानको शव नेपाल पठाइएको थियो ।
अवैध रूपमा मलेसियामा रोजगारी गरिरहेको समयमा मृत्यु भएका उनीहरूको शव रकम अभाव एवं आफन्तको पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भएको थियो ।
गत महिना मात्रै आठवटा नेपालीका शव मलेसियाका विभिन्न अस्पतालमा अलपत्र परेको समाचार अन्नपुर्ण पोस्टमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि यस विषयमा बोर्डले शव नेपाल पठाउन विशेष चासो राखेको थियो । उक्त विषयमा बोर्डले मलेसियास्थित नेपाली दूतावासमा औपचारिक पत्र पठाई जानकारी मागेको थियो भने यहाँका मजदुर संगठनले समेत चासो राखेका थिए ।
विभिन्न अस्पतालमा अलपत्र रहेकामध्ये एकजना नेपालीको शव अस्पताल प्रशासनले नै व्यवस्थापन गरेको नेपाली दूतावास मलेसियाले जनाएको छ । सुनसरीका श्रवण चौधारीको शव केएल अस्पताल प्रशासनले व्यवस्थापन गरेको दूतावासको भनाइ छ । उनको पनि एक वर्षअघि नै मृत्यु भएको थियो । अस्पतालले उनको शव जिम्मा लिन पटकपटक आग्रह गरे पनि परिवारले त्यसको जिम्मा नलिँदा शवको व्यवस्थापन गरिएको हो । मलेसियाका अस्पतालमा हाल झापा शनिश्चरेका अर्जुन दाहाल र गेला कालिकोटका लक्ष्मण थापाको शव एक वर्षदेखि अझै अलपत्र छन् ।
मृत्यु भएर लामो समय अस्पतालमा अलपत्र शवका आफन्तलाई दूतावासले सम्पर्कमा ल्याउने र शव जिम्मा लगाउने पहल गर्दै आएको छ । तर आफन्त एवं परिवारका सदस्य सम्पर्कमा नआउँदा शव अलपत्र पर्ने गरेको दूतावासको भनाइ छ ।