तराई–पहाड टुक्र्याउने गरी ल्याइएको संशोधन प्रस्ताव ‘राष्ट्रघाती’: न्यौपाने
ललितपुरः चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानले सरकारले तराई र पहाड टुक्र्याउने गरी सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई ‘राष्ट्रघाती’ प्रस्तावको संज्ञा दिएका छन्।
संविधान संशोधन प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा आन्दोलन चर्किरहेका बेला न्यौपानेले आन्दोलनप्रति आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।
ललितपुरको गोदावरीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले संविधान संशोधनको राष्ट्रघाती भएकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे। ‘मधेसी मोर्चालाई मात्रै खुसी बनाउने काम चुरेभावर पार्टीलाई स्वीकार्य छैन’, उनले भने,‘सदिऔँदेखि मिलेर बसेका तराई र पहाडका जनतालाई विभाजन गर्ने काम कदापि गर्नु हुँदैन।’
मधेसी मोर्चाले तराई र पहाडी जिल्लाहरू टुक्र्याएर राष्ट्रिय अखण्डतामाथि चुनौती दिन खोजेको न्यौपानेले आरोप लगाए। न्यौपानेले मुलुकलाई बिखण्डनतर्फ लैजाने कुनै पनि षड्यन्त्रको प्रतिकार गर्न आफूहरु तयार रहेको बताए। उनले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप पनि लगाए।