संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस
गुल्मीः सरकारले संविधान संशोधनमा ५ नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको विरोधमा गुल्मीमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । संशोधन प्रस्ताव तुरुन्त फिर्ता गराउन दबाब दिन भन्दै गुल्मीमा मसाल जुलुस प्रर्दशन भएको हो । संयुक्त आन्दोलन समितिको आयोजनामा सदरमुकाम तम्घास बजारमा मसाल जुलुस भएको हो ।
प्रदर्शनकारीले विभिन्न नाराबाजीसहित सरकारलाई तुरुन्त संशोधन फिर्ता गर्न आग्रह गरेका छन् । सरकारले जनभावना विपरित संविधान संशोधन प्रस्ताव ल्याएको उनीहरुको आरोप छ ।
संयुक्त आन्दोलन समितिले सोमबार तमघासमा जनसभा गर्ने भएको छ । जनसभामा विभिन्न गाविसका सर्वसाधारण उपस्थित गराउने तयारी सुरु भएको छ ।
आन्दोलनरत पक्षको अवरोधका कारण गुल्मीमा आइतबार सरकारी कार्यलयमा कामकाज ठप्प भएको छ । आन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, विद्यार्थी संगठनलगायतले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेका हुन् ।
बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् । बन्दको अवज्ञा गरेको भन्दै तम्घास बजारबाट मोटरसाइकल नियन्त्रणमा लिएको अनेरास्ववियु गुल्मीका सहसंयोजक शोभाखर गिरीले जानकारी दिए ।
बजार, पसल र उद्योग बन्द भए पनि गुल्मीका शैक्षिक संस्थामा भने प्रदर्शनकारीले कुनै अवरोध गरेका छ्रैनन् ।