म कंगाल थिएँ तर..

म कंगाल थिएँ तर..

चर्चित ‘ह्यारी पोर्टर’ शृंखलाकी लेखक जेके रोलिङ विश्वकै धनाढ्यमध्ये गनिन्छिन् । कुनै समयमा उनलाई खाना जुटाउन पनि मुस्किल पथ्र्यो । असफल विवाह, असफल करिअर र सारा असफलताको पीडाबाट उठेर उनले आफूलाई संसारमै धेरै पढिने लेखकमध्ये उभ्याइन् । रोलिङले सन् २००४ अप्रिलमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वड विश्वविद्यालयमा दिएको कमेन्समेन्ट लेक्चरको सम्पादित अनुवाद :

सुरुआती मन्तव्य दिनु निकै ठूलो जिम्मेवारी हो । यसले मलाई आफ्नो ग्र्याजुएसनको दिनको सम्झना गराइरहेछ । त्यो दिन सुरुआती मन्तव्य दिने व्यक्ति ब्रिटिस दार्शनिक ब्यारोनस म्यारी वार्नोक हुनुहुन्थ्यो । उहाँको भाषण सम्झँदा मलाई यो मन्तव्य तयार गर्न उत्साह आएको छ । मलाई उहाँले भनेको एक वाक्य पनि पूरै सम्झना छैन । तथापि मैले प्रयास गरेकी छु । उहाँले के भन्नुभएको थियो ? अँ, ‘पाउनसक्ने लक्ष्य’ । आत्मविकासको पहिलो पाइलो यही हो । यस्तै भन्नुभएको थियो उहाँले ।वास्तवमा यहाँ के बोल्ने होला भनेर मैले मेरो मन र मस्तिष्क निकै खियाएँ । मैले आफैंसँग पटकपटक सोधें, ‘म ग्र्याजुएसन गर्दा के जान्दथें ? २१ वर्षको उमेरमा मैले त्यस्तो के महत्वपूर्ण पाठ सिकेकी थिएँ ?

म यहाँ दुईवटा जबाफ लिएर आएकी छु । एकेडेमिक सफलता मनाउन तपाईंहामी यहाँ जम्मा भइरहँदा मैले भने असफलताका फाइदाबारे चर्चा गर्ने निधो गरेकी छु । किनभने तपाईंहरू वास्तविक जीवनको प्रवेशद्वारमा हुनुहुन्छ । म तपार्ईंहरूलाई कल्पनाशक्तिको महत्वबारे बताउन चाहन्छु ।
यसो भनिरहँदा तपाईंहरूलाई अव्यावहारिक वा वाहियात कुरा गरेजस्तो लागिरहेको होला । कृपया धैर्य गर्नुहोस् ।

हार खाँदा पाएको ज्ञानले तपाईंलाई झनै ज्ञानी र बलियो बनाउँछ । दुःखकष्ट नबेहोरीकन तपाईंले कहिल्यै पनि आफैंलाई चिन्नुहुन्न र सम्बन्धको बलियोपना जाँच्न पाउनुहुन्न ।

अहिले ४२ बर्से जिन्दगीको आँगनबाट त्यो मैले ग्र्याजुएसन गरेको २१ बर्से जीवनलाई फर्केर हेर्दा अलि अप्ठेरो लाग्छ । त्यो समय म मेरो महत्वाकांक्षा र आफन्तहरूको इच्छाबीच नमिल्ने खालको सन्तुलन बनाउने प्रयास गरिरहेथें ।म आफू उपन्यास लेख्छु भन्नेमा विश्वस्त थिएँ तर मेरा अभिभावक भने मेरो वाहियात कल्पना र लहडीपनाकै ऋण तिन नसक्ने र पेन्सनवाला जागिर नपाउने भई भनी चिन्तित थिए । उनीहरू चाहन्थे मैले कुनै प्रावाधिक तालिम लिऊँ । म भने अंग्रेजी साहित्य पढ्न चाहन्थें । यो द्वन्द्वले एउटा सम्झौतामा पु¥यायो । म आधुनिक भाषा पढ्न गएँ ।

मैले क्लासिक साहित्य पढिरहेछु भनेर बाआमालाई भनेको सम्झना छैन । सायद उनीहरूले मेरो ग्र्याजुएसन डेमै पहिलोपटक थाहा पाए होलान् । उहाँहरूका निम्ति यो ग्रहमै भएका सारा विषयमध्ये ‘ग्रिक माइथोलोजी’ जस्तो काम नलाग्ने विषय अरू थिएन ।

म मेरा अभिभावकहरूलाई कुनै आरोप लगाउन चाहन्नँ । बाआमालाई आरोप लगाउने समयको पनि म्याद हुन्छ । तपाईंहरू आफ्नो जीवनको रथ कुन दिशामा लैजाने, त्यो चुन्न आफै सक्षम भइसक्नुभएको छ । त्यसैले तपाईंको जिम्मेवारी तपाईंसँगै हुन्छ । म मेरा बाआमालाई किन पनि आलोचना गर्न सक्दिनँ भने मैले कहिल्यै पनि गरिबीको अनुभव गर्नु परेन । हो, उनीहरू गरिब थिए र म पनि । तर मैले कहिल्यै पनि गरिबीलाई असफलताको कारकका रूपमा लिइनँ । गरिबीले डर, तनाव र निरासा जन्माउँछ । तर गरिबीबाट माथि आउने प्रयास हामी आफैंले गर्नुपर्छ । मलाई सधैंभरि गरिबीको भन्दा पनि असफलताको डर लागिरह्यो ।

तपाईंहरूको उमेरमा म विश्वविद्यालयका कक्षामा पस्नुको साटो क्याफेमा बसेर कथा लेखिरहेकी हुन्थें । परीक्षाहरू उत्तीर्ण गर्ने मेरो आफ्नै तरिका थियो । तपाईंहरूलाई असफलताबारे खासै थाहा नहुन सक्छ । भर्खर त तपाईंहरू जीवनको सुरुआत गर्दै हुनुहुन्छ । तपाईंलाई असफलता कस्तो हुन्छ भन्ने थाहा छैन होला । थाहा छ ? संसारले अनेकौं सीमा तोकेको हुन्छ तपाईंहाम्रा निम्ति ।

मेरो ग्र्याजुएसनको सात वर्षपछि म असफलताको उच्च बिन्दुमा पुगें । निकै छोटो वैवाहिक जीवन मभित्र पड्किरहेथ्यो । मेरो कुनै जागिर थिएन । गरिब बाआमा थिए । घरवारविहीनजस्तै कंगाल थिएँ म । मेरा बाआमालाई मेरो भविष्यप्रति जुन डर थियो त्यो सामुन्ने आएको थियो । हरेक क्षेत्रमा म एकदमै असफल साबित भइरहेथें ।

म यहाँ तपाईंहरूलाई त्यो असफलता रोमाञ्चक भन्दिनँ । त्यो समय मेरो जीवनकै कालो क्षण हो । मलाई त्यो कालो सुरुङ कति लामो थियो भन्ने थाहा थिएन, न त अन्त्यमा आशाको उज्यालो नै छ भन्ने थाहा थियो । त्यसो भए मैले किन असफलताको फाइदाबारे कुरा गर्ने त ? एकदमै सरल जबाफ छ, असफलताले अनावश्यक के हो भन्ने छुट्ट्याउन सिकाउँछ । मैले म जे हुँ त्योभन्दा फरक देखाउने सबै चालबाजी बन्द गरें र मेरो काम पूरा गर्न ज्यान फालेर लागिपरें । म अरू क्षेत्रमा सफल भएको भए सम्भवतः म मेरो यो खास क्षेत्र (लेखनको क्षेत्र) मा आउँदै आउँदिनथें होला । म सारा डरबाट पनि मुक्त भएँ किनभने जसको सबैभन्दा ठूलो डर थियो त्यही भोगिरहेथें । मसँग मेरी प्यारी छोरी थिइन् । मसँग थियो एउटा पुरानो टाइपराइटर र ठूलो आइडिया । मैले तिनै कडा चट्टानहरूमा मेरो नयाँ जीवनको जग हालें ।

सायद तपाईंहरू मजत्तिको असफल कहिल्यै हुनुहुने छैन तर कुनैकुनै असफलता पन्छाउनै नसकिने हुन्छन् । कतै पनि असफल नभईकन सफलतैसफलतामा बाँच्न सम्भव हुँदैन । असफलताले मलाई भित्रैबाट सुरक्षित महसुस गरायो । त्यो सुरक्षाबोध मैले कुनै पनि परीक्षा उत्तीर्ण गर्दा महसुस गरेकी थिइनँ । असफलताले मलाई जे सिकायो म त्यो अरू कुनै माध्यमबाट सिक्न सक्दिनथें । मैले मसँग बलियो इच्छाशक्ति रहेछ भन्ने पत्ता लगाएँ । मैले थाहा पाएँ मसँग आत्मानुशासन पनि उत्तिकै रहेछ अनि बुझें मसँग मूल्यवान् साथीहरू रहेछन् ।

हार खाँदा पाएको ज्ञानले तपाईंलाई झनै ज्ञानी र बलियो बनाउँछ । दुःखकष्ट नबेहोरीकन तपाईंले कहिल्यै पनि आफैंलाई चिन्नुहुन्न र सम्बन्धको बलियोपना जाँच्न पाउनुहुन्न । मैले विश्वविद्यालयका कक्षाहरूबाट पाएको ज्ञानभन्दा त्यो पीडादायी समयबाट पाएको ज्ञान साँच्चिकै गजबको ज्ञान थियो । अन्नपूर्ण करिअर 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.