बाबुरामको खातामा एक लाख जम्मा गर्न नयाँ शक्तिका कार्यकर्तालाई सर्कुलर
काठमाडौं: नयाँ शक्ति नेपालले पार्टीका सदस्यहरुलाई कम्तिमा एक लाख रुपैया राष्ट्रिय बाणिज्य बैंकमा संयोजक बाबुराम भट्टराई र नेता केशवमान शाक्यको खातामा रकम जम्मा गरिदिन आब्हान गरेको छ । केन्द्रीय कार्यकारी सदस्य,आमन्त्रित सदस्य,बिभागीय प्रमुख,प्रदेश संयोजक,जिल्ला संयोजक र सम्पूर्ण पार्टी संगठनका नाममा जारी गरिएको पत्रमा राष्ट्रिय बाणिज्य बैंकको बानेश्वर शाखामा रहेको खाता नम्बर १४२०००४३०९०१ मा डा बाबुराम भट्टराई र डा केशवमान शाक्य नयाँ शक्ति पार्टी नेपालमा जम्मा गरिदिन आब्हान गरिएको छ ।
सो खातामा रकम जम्मा गरेपछि केन्द्रीय कार्यालयमा जानकारी गराउन पत्रमा उल्लेख गरिएको छ । केन्द्रीय आर्थिक स्रोत परिचालन बिभागका संयोजक सुनिल खडकाले पठाएको पत्रमा भनिएको छ 'हाम्रो पार्टीको केन्द्रीय कार्यकारी समितिको मंसिर ६,७ र ८ गते बसेको बैठकद्धारा ६ महिने राजनैतिक सामाजिक अभियान सञ्चालन गर्ने निर्णय गरे अनुसार उक्त अभियानलाई आर्थिक रुपमा चुस्त दुरुस्त राखी परिणाममुखी बनाउन यस आर्थिक स्रोत परिचालन बिभागको मंसिर १७ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका सदस्यहरुबाट कम्तिमा एक लाख रुपैया प्रारम्भिक सहयोग आब्हान गर्ने र उक्त रकम परिचालन गरी केन्द्रीय, प्रदेश र जिल्लामा अभियान सञ्चालन गर्न आवश्यक तयारी गर्नको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी पंक्तिलाई उक्त आब्हान बारे आन्तरिक रुपमा सु-सुचित गर्न गराउन अनुरोध गरिन्छ ।'
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीको संगठन विस्तार गर्न बैदेशिक रोजगारीमा रहेका नेपाली युवाको सहारा लिने योजना बनाएका छन् । भट्टराईले कार्यकर्ता पंक्तिमा पठाएको 'घरआँगनमा नयाँ शक्ति कार्ययोजना' मा विदेशमा रहेका युवामार्फत उनीहरूको परिवारका सदस्यलाई संगठित गर्ने विषय समेटिएको छ ।
कार्ययोजनाको १२ नम्बर बुँदामा 'पार्टीका प्रवास कमिटीमा रहेका सबै पार्टी सदस्य वा शुभेच्छुकलाई नेपालमा बस्ने आफन्तजनलाई स्थानीय पार्टी संगठनसँग जोडिन वा स्थानीय पार्टीको योजनामा मद्दत गर्न आन्तरिक रूपमा आह्वान गर्न प्रेरित गरिनेछ', भनिएको छ । अन्य पार्टीको तुलनामा फरक रूपमा भट्टराईले प्रचारशैली र जीवनशैलीबारे पार्टीपंक्तिमा पठाएको कार्ययोजना समेटिएको छ । मंसिर, पुस, माघ, फागुन र चैतमा गर्ने गरी बनाइएको कार्ययोजनामा यस अवधिमा कुनै पनि स्तरको निर्वाचन नहुने तर सम्भावित निर्वाचनको तयारी गर्नुपर्ने अनुमान गरिएको छ ।
बृहत्तर राजनीतिक ध्रुवीकरणका लागि सबै दलभित्रका प्रगतिशील तथा सकारात्मक सोच राख्ने तप्कासँग आन्तरिक संवाद प्रक्रिया तीव्र पार्ने, जिल्लास्तरमा केन्द्रीय सदस्य र सम्भाव्य स्थानीय निर्वाचनलाई दृष्टिगत गरी नगर तथा गाउँपालिका पुनर्संरचना भइसकेमा सोहीलाई आधार मानी केन्द्रीय परिषद् सदस्यहरू उत्प्रेरक तोक्ने, केन्द्रीय परिषद् सदस्यहरूलाई उत्प्रेरक तोक्ने कार्य प्रदेश कमिटीले गर्ने, यस योजना अवधिमा आफ्नो जिल्ला र गाउँमा कम्तीमा ६० दिन बिताउनु सबै केन्द्रीय सदस्य तथा केन्द्रीय परिषद सदस्यको कर्तव्य हुने कार्ययोजनामा उल्लेख छ ।
स्थानीय निकायको पुनर्संरचनाले मान्यता पाउनेबित्तिकै प्रत्येक गाउँपालिका वा नगरपालिकामा एक केन्द्रीय परिषद् सदस्यलाई उत्प्रेरक तोकी परिचालन गर्ने नीति कार्ययोजनामा समेटिएको छ । विश्वबिद्यालयहरूमा आगामी फागुनमा हुने स्ववियु निर्वाचनलाई दृष्टिगत गरी स्ववियु निर्वाचन हुने क्याम्पस पहिचान गरी एकाइ कमिटी गठन गर्ने काम पुसभित्र गर्ने, संगठन निर्माण र स्ववियु निर्वाचन दुवैलाई समेट्ने गरी विद्यार्थी क्षेत्रको भिन्नै कार्ययोजना बनाई लागू गरिने कार्ययोजनामा उल्लेख छ ।
'योजना अवधिको अन्त्यमा पार्टीको विकास स्थितिका आधारमा निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकालाई राम्रो, ठिकै र कमजोर गरी तीन वर्गमा वर्गीकरण गरी एउटा आन्तरिक प्रतिवेदन तयार गरिनेछ र आगामी कार्ययोजना बनाउँदा फरकफरक वर्गका निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकाका लागि फरकफरक रणनीति निर्धारण गरिनेछ', कार्ययोजनामा छ ।
आफ्नो पार्टीलाई परिचित गराउन ४० मिनेट लामो वृत्तचित्र बनाउने, नेपाली भाषामा कम्तीमा १२ वटा र अरू विभिन्न राष्ट्रिय भाषामा कम्तीमा १२ वटा गरी २४ वटा पार्टीसँग सम्बन्धित गीत उत्पादन गर्ने, यस्ता गीतहरूको छनोट गर्दा पार्टीपंक्तिभित्रको रचनात्मक प्रतिस्पर्धा गराउने कार्ययोजना भट्टराईले बनाएर तल्ला कमिटीमा पठाएका छन् ।
चैतको पहिलो साता नयाँ शक्ति सांगीतिक कार्यक्रम आयोजना गरी ती गीत सामूहिक रूपमा सार्वजनिक गर्ने योजना पनि उनले बनाएका छन् । कार्ययोजनामा उल्लेख छ, 'देशका हरेक ठूला सहरमा एक वा जिल्लामा कम्तीमा एक हुने गरी सांगीतिक ब्यान्डहरू निर्माण गरिनेछ । पार्टीको प्रचारात्मक अभियानमा यस्ता सागितिक समूहबाट सहयोगका लागि समन्वय गरिनेछ ।'
मंसिर ६, ७ र ८ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णयका आधारमा बनाइएको कार्ययोजनामा 'स्वतन्त्र तवरले व्यावसायिक कलाकर्म गरिरहेका व्यक्ति व्यक्तित्वसँग कम्तीमा वर्षमा दुईपटक पार्टी नेतृत्वले विशेष कार्यक्रम आयोजना गरी सामूहिक भेटघाट र अन्तरक्रिया गरिने उल्लेख छ ।