विपक्षीको अवरोधपछि संसद् स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्ष एमालेले बुधबार पनि संसद्मा अवरोध गरेको छ। बैठक सुरु हुनसाथ एमाले सांसदहरुले वेल घेराउ गरेर संसद्मा अवरोध गरेका हुन् । घेराउ गरेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको छ ।
एमाले सांसदहरुले संविधान संशोधन राष्ट्रघाती र संविधान असफल बनाउने खेल भन्दै यसलाई रोक्न संसद् अवरोध गर्दै आएका छन्। अवरोध गर्नेमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विदेशीको डिजाइनमा संविधान संशोधन आएकोले यसलाई जसरी पनि रोक्नुपर्ने बताए।
सरकारले संविधान संशोधनका लागि संसद् सचिवालयमा विधेयक दर्ता गराए पनि अवरोधका कारण त्यसलाई संसद्मा प्रवेश गराउन सकेको छैन । एमाले जसरी पनि त्यसलाई रोक्ने रणनीतिअनुसार अवरोधमा सक्रिय भएको छ । एमालेले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गरेको छ।
संसद् अवरोध भएका कारणका लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगमाथिको छलफल पनि अड्किएको छ।