सहमतिका लागि रोकियो संशोधन विधेयक
काठमाडौः सभामुख ओनसरी घर्तिमगरले दलहरुबीच सहमति खोज्ने भन्दै बुधवारको कार्यसूचीमा संविधान संशोधन विधेयक नराखेपनि विपक्षी दलहरुले संसद बैठक अवरुद्ध गरेका छन । प्रमुख विपक्षी एमाले सहितका दलहरुले संविधान संशोधन विधेयक राष्ट्रघाती र असंवैधानिक भन्दै संसद बैठक लगातार चौथो पटक अवरोध गरेका हुन ।
बुधवार विहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घर्तिमगरले संसदको अवरोध फुकाउन आफुले पहल गर्ने भन्दै कार्यसूचीमा संशोधन विधेयक नराख्ने जानकारी गराएकी थिइन ।
सरकारले विधेयक दर्ता गरेको पांच दिन पुगेकाले उक्त विधेयक बुधवारको कार्यसूचीमा राखिनुपथ्र्यो । ‘तर सभामुखज्युले दलहरुबीच सहमति अघि बढाउन आफुले पहल गर्ने भन्दै कार्यसूचीमा नराख्ने जानकारी दिनुभएको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अन्नपूर्णसँग भने ।
सभामुख घर्तिले विहीवार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै कुराकानी गर्ने र शुक्रवार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संसद अवरोध फुकाउनेबारे कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ ।
सभामुख घर्ति शनिवार युनाईटेड अरब ईमिरेटसमा हुन लागेको महिला सभामुखहरुको सम्मेलनमा भाग लिन त्यसतर्फ जाने कार्यक्रम छ । एमाले लगायतका विपक्षी दलहरुले अवरोध कायमै राखेपछि सभामुख घर्तिले शुक्रवारसम्मका लागि संसद स्थगित गरेकी छिन ।
सभामुखले संसदको अवरोध फुकाउन पहल गर्ने भन्दै कार्यसूचीमा संशोधन विधेयक नराख्ने जानकारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा गराएकी थिइन् ।
संशोधनको विपक्षमा साना दल थपिदै गएपछि सरकारलाई संशोधनका लागि आवश्यक दुई तिहाई जोगाईराख्न कठिन हुंदै गएको छ । एमाले,माले,नेमकिपा,राष्ट्रिय जनमोर्चा पछि नेपाः पार्टी र परिवार दल पनि विपक्षी मोर्चामा थपिएका छन । परिवार दलले त सरकारको समर्थन फिर्ता लिदैं शुक्रवारबाट संसदमा विपक्षीको लहरमा बस्न थालेको छ ।
परिवार दलसंगै विपक्षी मोर्चामा १ सय ९७ जना सांसद पुगेका छन । संसदमा दुई सदस्य रहेको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र एक सदस्य रहेको मधेस समता पार्टी नेपाल पनि विपक्षी मोर्चामा थपिने संकेत देखाएका छन ।
जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापा र एमाले नेताहरुबीच भएको कुराकानीमा थापाले आफ्नो पार्टी विपक्षी मोर्चामा उभिने जानकारी दिएको एमाले स्रोतले बतायो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका मधेस समता पार्टी नेपालका सांसद मेघराज नेपाली निषादले पनि विपक्षी मोर्चामा उभिने जानकारी एमालेलाई गराएको स्रोतले बतायो ।
यी दुई दलले थपिए विपक्षी मोर्चामा २ सय सांसद पुग्नेछन । ५ सय ९४ सदस्यीय हालको संसदमा संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई (३ सय ९६) सांसदको समर्थन चाहिन्छ ।
तर विपक्षी मोर्चामा २ सय सांसद पुगे भने अरु सबै दल मिल्दा पनि दुई तिहाई को संख्या पुग्दैन । राप्रपा,मधेस केन्द्रित दल र अन्य साना दल पनि संशोधनको पक्ष वा विपक्षमा स्पष्ट खुल्न नसकेकाले संशोधनको पक्षमा भने स्पष्ट रुपमा संख्या खुल्न सकेको छैन ।
बुधवार संसद अवरोध गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ग्य्राण्डडिजाईन अन्र्तगत सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दै फिर्ता नभएसम्म संसद चल्न नसक्ने बताए । पुर्वमेची देखि पश्चिम महाकालीसम्मको भुभाग समेटेर नयाँ सिक्किम बनाउने षडयन्त्र अन्र्तगत संशोधन विधेयक आएको केसीले आरोप लगाए ।