‘म नाचमा पोख्त छुु'
काठमाडौंः बुधबार साँझ जमलस्थित सांस्कृतिक संस्थानमा अभिनेता राजेश हमालले अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काई मर्काई नाचे । आफैंले अभिनय गरेको चलचित्र ‘माइली'को गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा' र चलचित्र ‘चिनो'को गीत ‘मोहनी लाग्ला है'मा नायक हमाल मलिनातिर हेर्दै जोशिएर नाचे । उनी मलिनालाई भन्दै थिए, ‘मज्जाले नाच्नुपर्छ है ।'
हमाल पुस ८ गते दुबईमा हुने ‘नेफ्टा अवार्ड २०१६'को लागि अभ्यास गर्दै थिए । उनी पहिलोपटक कुनै अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्ने तयारीमा छन् । मंगलबारमात्र कतारबाट फर्किएका राजेशलाई अझै आफूले कुन गीतमा नृत्य प्रस्तुत गर्ने भन्नेबारे थाहा छैन ।
चलचित्रमा दर्शकले राजेशको अभिनय र एक्सनबाट जति मनोरञ्जन नृत्यबाट पाउँदैनन् । तैपनि राजेश भने आफूलाई नृत्यमा पोख्त ठान्छन् । भने, ‘कोरियोग्राफी त भइहाल्छ तर म त्यसमा आफ्नो स्टाइल मिसाइहाल्छु, मेरो आफ्नै स्टाइल छ ।' मञ्चमा पुगेपछि उनलाई नृत्यको जोश आउँछ । त्यही जोशिलो नृत्य देखेर दर्शकले मनोरञ्जन लिने गरेको उनको दाबी छ ।
चलचित्रमा टुक्राटुक्रा अभिनय वा नृत्य गरे पुग्ने तर मञ्चमा भने सुरुदेखि अन्त्यसम्म नरोकिई प्रस्तुति दिनुपर्ने भएकाले यसमा उनी अलि ध्यानपूर्वक अभ्यास गर्छन् । अहिलेसम्म अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत नगरेका राजेशलाई केही नयाँ गर्न मन लाग्यो ।
कोरियोग्राफी त भइहाल्छ तर म त्यसमा आफ्नो स्टाइल मिसाइहाल्छु, मेरो आफ्नै स्टाइल छ ।
उनलाई मञ्चमा आफ्नो ‘पार्टनर' को छ ? भन्ने पनि थाहा छैन । ‘पार्टनर'को विषयमा उनलाई कुनै समस्या छैन । भने, ‘यो कुरा मैले आयोजक र कोरियोग्राफरको हातमा छोडिदिएको छु ।' राजेशलाई नृत्य गर्नु कुनै ठूलो चुनौती होइन, तर गीतमा भने उनको पनि च्वाइस छ । उनी ‘रातो टीका निधारमा टलक्क टल्कियो'जस्ता लोकलय मिसिएका गीतमा नृत्य गर्न रुचाउँछन् ।
नेपाली चलचित्रका चर्चित गीतमा कोरियोग्राफर शंकर बीसी र नरेशवीर सिंहले कोरियोग्राफी गरेका छन् । राजेश हमाललगायत करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, प्रियंका कार्की, सञ्चिता लुइँटेल, निखिल उप्रेती, नाजिर हुसेन, सलोन बस्नेत, नम्रता सापकोटा, जेविका कार्की, रोहित रुम्बा, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, पूजा शर्मा, रिस्ता बस्नेत, साम्राज्ञी शाह, माला लिम्बू, पल शाह र दुईजना कोरियोग्राफरले नृत्य प्रस्तुत गर्नेछन् ।