एमालेलाई प्रधानमन्त्री प्रचण्डको प्रश्नः को राष्ट्रघाती, को राष्ट्रवादी ?

एमालेलाई प्रधानमन्त्री प्रचण्डको प्रश्नः को राष्ट्रघाती, को राष्ट्रवादी ?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्डले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर एमालेले सरकारले राष्ट्रघात गरेको भनेर लगाएको आरोपप्रति आपत्ति जनाएका छन् ।

आफूले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुसार नै पहाड र तराईलाई छुट्याएको दाबी प्रचण्डको छ । ‘पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै भएको उनको भनाइ छ ।

‘६-७ पानाको प्रस्तावमा केपी ओलीजीले हस्ताक्षर गर्नुभएको छ । सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ प्रचण्डले भने, ‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहिँ राष्ट्रवादी हुने ? बडो विचित्रको स्थिति देखिरहेको छु ।’

बिहीबार ७ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणापछि देश अनिर्णयको बन्दीबाट मुक्त हुने दाबी समेत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधन प्रस्तावको रणनीतिक महत्व छ । यो एक प्रकारको राजनीतिक एक्सन हो । हिमाल, पहाड तराईलाई एकताबद्ध गरेर राष्टिय एकता कायम गर्ने एक्सन,’ उनले थपे, ‘यो एक्सनबाट आउने रियक्सनले मुलुकलाई नयाँ दिशामा लैजान्छ । तिनै पार्टी मिलेर निर्वाचनमा आउनुपर्छ ।’

दुई नम्बर प्रदेशसहित रोल्पाको थवाङ, बझाङको काँडा, नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनर्संरचनाको आयोगको प्रतिवेदन आउन ढिला भएको जानकारी दिँदै विवाद समाधान नहुने स्थितिमा स्थानीय निकायको पुरानै संरचनाअनुसार पनि चुनाव हुनसक्ने उनको भनाइ छ ।

‘गाविसलाई गाउँपालिका भनेर नामाकरण गरौं भन्ने धेरै पार्टीको मत देखिएको छ । म भने अझै केही दिन आयोगको प्रतिवेदन अनुसार नै गर्नुपर्छ भन्ने जोडमा छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यदि त्यसो हुनै नसक्ने परिस्थिति भए हामी त्यसलाई पनि मान्न तयार छौं ।’

चमेलियाको अनुगमन

बिहीबार नै प्रधानमन्त्री प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । उनले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गरेका हुन् । चिलिमेको सुरुङ साढे चार हजार भन्दा बढी लामो छ ।

चमेलिया आयोजना निर्माणका क्रममा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई भइराखेको छ ।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसमेत सहभागी थिए । आयोजना प्रमुख अजय दाहालले हालसम्म भइरहेको कामबारे जानकारी गराएका छन् ।

सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । तोकिएको समय अवधिभन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरुलाई पुरस्कृत गर्ने उनले आश्वासन दिएका छन् ।

आयोजनाको कुल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ ।

त्यस्तै प्रधानमन्त्रीले शिखर गाविसको बलाँचस्थित आयोजनाको कार्यालय परिसरमा कर्मचारी र स्थानीय जनसमुदायलाई सम्बोधन गरेका छन् । दार्चुलाबाट प्रधानमन्त्री प्रचण्डसहितको टोली अपरान्ह पौने चार बजे सुर्खेत आइपुगेको हो ।

प्रचण्डले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली एक्स्पोको उदघाटन गर्दै राज्य र निजी क्षेत्रको साझेदारीमा विकासले तिब्रता पाउने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.