पहिलोपटक कलेजो प्रत्यारोपण (भिडियोसहित)

पहिलोपटक कलेजो प्रत्यारोपण (भिडियोसहित)

काठमाडौः लामो प्रतीक्षापछि अत्यन्तै जटिल र महँगो उपचार मानिने कलेजो प्रत्यारोपण नेपालमै सुरु भएको छ । कानुनी बाटो खुला भएको केही दिनमै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको सहयोगमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको हो । यो नेपाली स्वास्थ्य क्षेत्रको ठूलो फड्को हो ।

पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकको टोली र नेपाली चिकित्सक टोलीले बुधबार करिब १० घन्टा लगाएर भक्तपुरका ३६ वर्षीय बलराम नागाजुको कलेजो प्रत्यारोपण गरेका हुन् । बलरामलाई उनकी दिदी ४१ वर्षीया सानुमायाँ लागेजुले कलेजो दान दिएकी थिइन् । दुवैजनाको केन्द्रमै उपचार भइरहेको छ ।

संसद्ले भर्खरै स्वीकृत गरेको मानव अंग नियमन तथा प्रत्यारोपणसम्बन्धी नियमावलीले ‘ब्रेन डेथ’ भएका बिरामीबाट कलेजोसँगै अन्य सात अंग निकालेर प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको थियो । त्यसअघि कसैले दान गरे मात्रै कलेजो प्रत्यारोपण गर्न सकिन्थ्यो । ‘ब्रेन डेथ’ कानुनले कलेजो प्रत्यारोपणको बाटो खुला गरिदिएको हो ।

केन्द्रमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा स्वास्थ्यमन्त्री गगन थापाले जटिल वातावरणमा पनि कलेजो प्रत्यारोपणका लागि कानुनी बाटो खुला गर्न आफूहरू सफल भएको र त्यसको उपलब्धि छिट्टै निस्कँदा उत्साहित बनाएको बताए ।

यसरी सम्भव भयो प्रत्यारोपण

सरकारले चार वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याएको हो । मिर्गौला प्रत्यारोपणमा मिलेको सफलतामा उत्साहित केन्द्र र त्यहाँका चिकित्सक स्वास्थ्य मन्त्रालयबाट समयमै सहयोग पाउँदा कलेजो प्रत्यारोपण प्रक्रियामा सक्रिय बनेका थिए ।

दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरको कलेजो प्रत्यारोपण कार्यक्रमका निर्देशक एवं कोरियन ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्राध्यापक डा.जेइवन जो र प्राध्यापक डा. चुन ह्युक डाभिड कोन नेतृत्वको टोली र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वमा १५ नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा प्रत्यारोपण भएको हो ।

कोरियाली चिकित्सक टोली मंगोलिया, भियतनामपछि कलेजो प्रत्यारोपणमा सहयोग गर्न नेपाल आएको थियो । केन्द्रमा यसअघि नै कलेजो प्रत्यारोपणको सम्भाव्यता अध्ययन गर्न पटकपटक आइसकेको उक्त टोलीले सरकारले कानुनी अड्चन फुकाएसँगै केन्द्रमा जडान गरिएको भौतिक पूर्वाधार र उपकरणका कारण प्रत्यारोपण अघि बढाएको थियो ।

कलेजो प्रत्यारोपण अत्यन्तै जटिल शल्यक्रिया मानिएकाले अन्तर्राष्ट्रिय चिकित्सकको सहयोग लिँदा सुरक्षित हुने ठानेर केन्द्रले उनीहरूलाई बोलाएको थियो । डा. जेइवन जोले अझै पनि तीनचारपटक केन्द्रमा आएर कलेजो प्रत्यारोपण र त्यसम्बन्धी सीप नेपाली चिकित्सकलाई दिन तयार रहेको बताए । तर यसका लागि नेपालले आवश्यक जनशक्ति एकीकृत गर्न, भौतिक पूर्वाधार र उपकरण जुटाउन ढिलो गर्न नहुने बताए ।

‘नेपालमा कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी धेरै भेटिएका छन् । त्यसैले कलेजो प्रत्यारोपणमा आफैं आत्मनिर्भर भए उनीहरूको जीवन सुरक्षित हुनेछ । त्यसका लागि हामी जहिले पनि सहयोग गर्न तयार छौं’, प्राध्यापक डा. जेइवनले भने, ‘मलाई विश्वास छ नेपाली चिकित्सकले नै यो काम गर्नुहुन्छ ।’

भिडियो हेर्नुहोस्

किन महँगो छ कलेजो प्रत्यारोपण ?

जटिल भएकाले विश्वमै कलेजो प्रत्यारोपण महँगो मानिन्छ । भारतमा सरकारी स्तरको गंगाराम अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । विश्वकै बढी मानव अंग प्रत्यारोपण हुने दिल्लीको अपोलो अस्पतालमा सन् १९९८ बाट सुरु भएको कलेजो प्रत्यारोपणको सेवा १५ सयजनाले लिइसकेका छन् ।

नेपालमा सेवा नहुँदा सयौं नेपालीले त्यहीं पुगेर कलेजो प्रत्यारोपण गरेका छन् । बलरामलाई पनि कलेजो प्रत्यारोपणका लागि भारत लगिएको थियो तर प्रत्यारोपणमा मात्रै करिब ५० लाख रुपैयाँ खर्च हुने देखिएपछि उनलाई फर्काइएको थियो ।

केन्द्रले कलेजो प्रत्यारोपणको तयारी गर्न थालेको सूचना आउन थालेपछि सम्बन्धित चिकित्सकको सम्पर्कमा पुगेका बलरामको कलेजोको सफल प्रत्यारोपण भएको हो । दनेपालमा करिब १५ लाखमा कलेजो प्रत्यारोपण हुन सक्ने अनुमान गरिएको छ । बलरामको भने निःशुल्क प्रत्यारोपण गरिएको हो ।

सरकारले कलेजो प्रत्यारोपणमा पाँच लाख छूट दिने कानुन पनि छिट्टै ल्याउँदैछ । प्रत्यारोपणमा संलग्न कलेजो रोग विशेषज्ञ दीपेश गुरुवाचार्यका अनुसार फेल भएको बिरामीको कलेजो निकालेर दाताको आधा कलेजो प्रत्यारोपण गर्ने हो ।

बाँकी कलेजो केही महिनापछि पलाउन थाल्छ । भर्खरै मात्र संसद्ले स्वीकृत गरेको मानव अंग नियमन तथा प्रत्यारोपणसम्बन्धी कानुनले बे्रन डेथ भएकाबाट कलेजोसँगै विभिन्न अंग निकालेर आवश्यक बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा भने उक्त काम गर्न समय लाग्ने चिकित्सकले बताएका छन् ।

किन फेल हुन्छ कलेजो ?

अत्यधिक मदिरापानका कारण कलेजो फेल हुने गरेको छ । मदिरा पिउँदा कलेजो कडा हुँदै जाने र त्यहाँ रगतसहित अन्य तरल पदार्थ छिर्न समस्या हुँदा कलेजोले काम गर्न सक्दैन ।

मदिरासँगै विभिन्न कडा औषधि, लागूपदार्थको दुव्र्यसन, हेपाटाइटिस सीलगायत कारणले कलेजो फेल हुने गर्छ । औषधि, खानपानलगायतमा ध्यान दिनसके कलेजो फेल हुनबाट जोगिन्छ ।

पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकको टोली र नेपाली चिकित्सक टोलीले बुधबार करिब १० घन्टा लगाएर भक्तपुरका ३६ वर्षीय बलराम नागाजुको कलेजो प्रत्यारोपण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.