हेर्दा लाग्छ रहर

हेर्दा लाग्छ रहर

विश्व चलचित्रमा सफलताका लागि खासगरी दुई कुरामा प्रतिस्पर्धा देखिन्छ, पहिलो प्रविधि र दोस्रो मौलिकता । कि त प्रविधिको उच्चतम प्रयोग भएका चलचित्रले विश्वमा तहल्का मच्चाएका छन् वा मौलिकताको कसीमा खरो उत्रिएका चलचित्र सफल भएका छन् । यो सूत्र विश्वका जुनसुकै मुलुकका चलचित्र उद्योगमा लागू हुने सूत्र मानिन्छ ।

प्रविधिमा प्रतिस्पर्धा गर्न नसक्ने चलचित्र उद्योगका लागि मौलिकताभन्दा अर्को विकल्प छैन । यो तथ्य नबुझ्दा नेपाली चलचित्रले पनि लामो समय मार खाइरह्यो । दर्जनौं निर्माताका करोडौं रुपैयाँ स्वाहा भयो ।

दर्शकको नजरमा नेपाली चलचित्र यतिसम्म गिर्यो कि कसैले ‘म नेपाली चलचित्र हेर्छु’ भन्न पनि हिच्किचाए । आफ्नै घरआँगन वरिपरिका दमदार कथाको वास्ता नगर्ने अनि चलेका केही विदेशी चलचित्रको नक्कल गर्ने प्रवृत्ति त्यसको कारक बन्यो । ती चलचित्रमा न मौलिकता पाइन्थ्यो न त प्रविधिको उच्चतम प्रयोग नै ।

त्यस बेला मौलिक चलचित्रलाई ‘पृथक धार’को नामले रेट्नुसम्म रेटियो । तर, अहिले त्यही धारका चलचित्रले नेपाली चलचित्रको साख जोगाउन थालेको छ । चलचित्र ‘पशुपति प्रसाद’बाट वाहवाही पाएका निर्देशक दीपेन्द्र के खनालका विचारमा पहिले ‘पृथक्’ भनिएको धारलाई अहिले दर्शकले मूलधारका रूपमा स्वीकारेका छन् । ‘यो परिवर्तन हावा चलेजसरी भएको होइन ।

दर्शकले कथा, पटकथा, संवाद, प्रविधि सबै हेरेर स्वीकारेका हुन्’, खनालले भने, ‘पहिले मनोरञ्जन दिने हो भनेर बलिउड सूत्रमा चलचित्र बन्थ्यो तर त्यस्ता चलचित्रमा मौलिकता हुँदैनथ्यो ।’

पहिले पृथक् भनिएको धारलाई अहिले दर्शकले मूलधारका रूपमा स्वीकारेका छन् । यो परिवर्तन हावा चलेजसरी भएको होइन । दर्शकले कथा, पटकथा, संवाद, प्रविधि हेरेर स्वीकारेका हुन् । दीपेन्द्र के खनाल

पछिल्लो समय दर्शकले रुचाएका चलचित्र स्टार पावरले भन्दा पनि कथा र प्रस्तुतिले चलेका छन् । ती चलचित्र हेर्दा दर्शकले आफ्ना गाउँघरका कथा भेट्छन् । कताकता आफैंलाई पाउँछन् । हिरो हिरोइनहरू अर्कै समाजका, नदेखिएका, नभेटिएकाजस्ता लाग्दैनन् ।

चलचित्रको क्लाइमेक्सतिर हिरो उडेर आउँदैन । एक दर्जनलाई एक्लै ढाल्दैन । त्यस्तो अवस्थामा बलबुताले भ्याएसम्म सक्दो माङमुग्री गर्छ । बरु आफूले पनि दुईचार झापु खान्छ । चलचित्रको संवाद बोलीचालीकै जस्तो हुन्छ । आफैंले बोल्नेजस्तो लाग्छ । दर्शक त्यसैमा रमाउँछन् । मौलिकताको शक्ति भन्नु यही हो ।

यो कुरामा सहमत छन् निर्देशक रामबाबु गुरुङ । कबड्डी, कबड्डी कबड्डीजस्ता चलचित्रबाट दर्शकको माया पाएका उनले मौलिक चलचित्रबाट करिअर सुरु गरे । ‘पहिले मूल धार र फरक धार भनिन्थ्यो । म मौलिकताको पक्षमा लागेँ’, उनी भन्छन्, ‘दर्शकको चाहनाअनुसार चलचित्र निर्माणमा नयाँपन दिन सकिएन भने जुनसुकै धार पनि विस्थापित हुन्छ ।’

पहिले मूलधार र फरक धार भनिन्थ्यो । म मौलिकताको पक्षमा लागेँ । दर्शकको चाहनाअनुसार चलचित्र निर्माणमा नयाँपन दिन सकिएन भने जुनसुकै धार पनि विस्थापित हुन्छ ।रामबाबु गुरुङ

नेपाली चलचित्रको लामो असफल शृंखलालाई ब्रेक गर्दै चलचित्र लुट दर्शकमाझ आएपछि कथा, पटकथा, संवाद एवं कथा भन्ने शैलीमा परिवर्तनको सुरुआत भयो । चलचित्रमा प्रयोग गरिएका मौलिक शैलीका संवाद दर्शकले सम्झिरहे ।

त्यसअघि दयाहाङ राई, सौगात मल्ल, कर्माजस्ता थिएटरबाट आएका तर चल्तीमा रहेकाभन्दा पृथक् ढाँचाका अभिनेताहरू ‘हिरो’का रूपमा सायद स्वीकारिएका थिएनन् । अहिले उनीहरूलाई नै हेर्न दर्शकले बढी रहर गरेका छन् ।

दर्शकले रुचाएका नेपाली चलचित्रको ट्रेन्ड हेर्दा स्टार कास्ट होइन, पटकथा एवं प्रस्तुति रोजाइ परेको देखिन्छ । हलिउड बलिउडमा जस्तो नामले बिक्ने स्टार नेपाली चलचित्रमा छैनन् भने पनि हुन्छ ।

केही निर्माता निर्देशकले आफ्नो चलचित्रमा नयाँ नायकनायिका डेब्यु गराउने चलन यसकै उपज हो । हेमराज बीसीले चलचित्र ‘जेरी’मा अनमोल केसी र आना शर्मालाई डेब्यु गराए । भुवन केसीले आफ्नो पहिलो निर्देशन ‘ड्रिम्स’मा साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहलाई डेब्यु गराए भने आकाश अधिकारीले ‘के म तिम्रो होइन र’मा आर्यन अधिकारी र मरिक्का अधिकारीलाई लिएर चलचित्र बनाए ।

एक समयका सफल निर्देशक तुलसी घिमिरे अहिले पुष्प खड्का, सहारा कार्की, सिद्धार्थ प्रसाईलाई लिएर चलचित्र दर्पण छाया २ को छायांकनमा जुटेका छन् । यी केही उदाहरण हुन् । अहिले स्थापित निर्माण कम्पनीले पनि सम्भावना बोकेका नयाँ तर प्रतिभावान् कलाकार खोज्न थालेका छन् ।

 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.