मध्यरात एक घन्टा खाटमुनि लुकेका थिए विष्णुकुमारीका हत्यारा

मध्यरात एक घन्टा खाटमुनि लुकेका थिए विष्णुकुमारीका हत्यारा
पक्राउ परेकाहरू।

झापा : चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका-४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटना भएको २३ दिनपछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। 

प्रहरीले हत्या आरोपमा घटनाका योजनाकार बिर्तामोड-४ का २३ गंगाप्रसाद राजवंशी, उनकी श्रीमती २० वर्षीया वर्षा राजवंशी, मतियार सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड-४ का ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा नगरपालिका-६ स्थित हनुमान सुन-चाँदी पसलका सञ्चालक धनबहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। 

प्रहरीका अनुसार वैशाख २५ गते अन्दाजी साँझ ६ बजेको समयमा महेश र गंगाप्रसादले चोरी गर्ने योजना बनाएका थिए। उनीहरू फलामको मार्तोल र रेञ्च बोकेर मध्यरातमा सुमन राजवंशीको घरमा चोरी गर्न पुगेका थिए। त्यहाँ चोरी गर्न नसकेपछि उनीहरू फर्किए। त्यसपछि उनीहरू विष्णुकुमारीको घरमा गए। 

महेश घरको पर्खाल बाहिर बसेर रेखदेख गरेको र गंगाप्रसाद विष्णुकुमारीको पर्खालभित्र प्रवेश गरेर घरको पश्चिमपट्टिको झ्याल खोली हेर्न खोज्दा विष्णुकुमारी फोन कुराकानी गर्दै थिइन्। विष्णुकुमारी काठमाडौंमा अध्ययनरत छोरा प्रकाश विष्टसँग कुरा गर्दै थिइन्। 

छोरासँग बोल्दाबोल्दै विष्णुकुमारीले घरमा चोर आएजस्तो छ भनेपछि गंगाप्रसाद पर्खालबाट हतपत हाम फाली भागे। महेश पनि हातमा बोकेको मार्तोल नजिकै झाडीमा फालेर गंगाप्रसादकै पछि लागे। गाउँ घरमा चोर आएको हल्ला चलेपछि छिमेकीहरू विष्णुकुमारीको घरमा एकाएक भेला भए। 

सोही मौका छोपी उनीहरू डम्बरकुमारी प्रसाईँको घरमा चोरी गर्न पुगे। गंगाप्रसादले प्रसाईँको झ्यालबाट हात छिराई कालो रंगको झोला निकालेर झोलाभित्र रहेका अन्य सरसामान बाहिर पेटीमा फालेर नगद ७ सय, रड र रेञ्च सोही झोलाभित्र राखेर मकैघारीमा लगेर लुकाए। यति हुँदाहुँदै पनि उनीहरूमा चोरी गर्ने मनसाय रहिरह्यो। 

राति पौने १२ बजेको समयमा छिमेकीहरू आ-आफ्नो घर गएपछि विष्णुकुमारी पनि ढोका लगाएर कोठाभित्र गइन्। गंगाप्रसाद फेरि उत्तर-पूर्वतर्फको पर्खालबाट उनको घरमा छिरे । महेश पर्खालबाहिर नै बसेर रेखदेख गरिरहे। अन्दाजी १२:१० बजेको समयमा विष्णुकुमारी बाहिरको बत्ती बाली ढोका खोलेर शौचालय जाँदा गंगाप्रसाद घरभित्र छिरेर अन्दाजी एक घण्टा जति खाटमुनि लुकेर बसिरहे। एक घण्टा बितिसक्दा पनि बाहिर नआएपछि पर्खाल बाहिर गंगाप्रसादलाई कुरेर बसिरहेका महेश घर फर्किए। 

विष्णुकुमारीले फोनमा कुराकानी गरी खाटमा गएर सुत्न खोज्दा सोही बेला गंगाप्रसाद कोठाबाट बाहिर निस्कन खोजे। विष्णुकुमारीले उनलाई देखेर चोर आयो भन्दै चिच्याइन्। चिच्याएपछि गंगाप्रसादले हातमा बोकेको रडले विष्णुकुमारीको टाउकोमा तीन पटक प्रहार गरी भुईँमा लडाए। उनले लगाएको गरगहना लछारपछार गरी निकाले र रडले दराज फोडेर त्यसभित्र रहेको सुन र मोबाइल पनि झोला राखेर टेबलमा रहेको साँचोले मूल ढोका खोली पश्चिमतर्फको पर्खालबाट बिहान अन्दाजी २:४५ बजे भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए। 

घर पुगेर गंगाप्रसादले मोबाइल स्वीच अफ गरी सम्पूर्ण सामान खाटमुनि राखेको र मोबाइल घरको पाटाको सन्ठीको बोराभित्र राखेको एसपी केसीले बताए। घटना घटेकै बिहान धेरैबेर बितिसक्दा पनि विष्णुकुमारीले गेट नखोलेपछि छिमेकी श्रीप्रसाद सिटौला घरमा हेर्न जाँदा उनी सुत्ने कोठाको भुईँमा रगताम्य अवस्थामा देखे र तत्काल उनका छोरा प्रकाशलाई फोन गरे। घटनाको बारेमा होहल्ला भएपछि प्रहरी टोली घटनास्थल पुगेका थिए। 

प्रहरीले अनुसन्धानका लागि धरानबाट डग टोली पनि मगाएका थिए। अनुसन्धानको क्रममा प्रहरीले घटना घटेको भोलिपल्टै वैशाख २७ गते गंगाप्रसादलाई सोधपुछको लागि प्रहरी चौकी विर्ताबजारमा लगेका थिए। प्रमाण नपुगेपछि प्रहरीले सोधपुछ गरेर उनलाई छाडिदिए। वैशाख २८ गते दिउँसो गंगाप्रसादले औँठी झिकी अन्य सामान घरको दक्षिणतर्फ रहेको धारा भएको नालाको स्लेबमुनी लुकाई राख्दा उनकी श्रीमती वर्षाले समेत देखेकी थिइन्। 

त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष अनुसन्धान गरी गंगाप्रसादलाई पक्राउ गरेको थियो। गंगाप्रसादले सुनको औँठी ज्याक भन्ने भगीरथ माझीको सहयोगमा हनुमान सुन-चाँदी पसलका सञ्चालक धनबहादुर कामीलाई २० हजारमा बेचेको बयानसमेत प्रहरीलाई दिएको एसपी केसीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.