सेतो सूर्य झुल्केपछि 

सेतो सूर्य झुल्केपछि 

काठमाडौः पर्दामा जब चलचित्र ‘सेतो सूर्य’का दृश्य चल्मलाउन थाल्यो दर्शक द्वन्द्वकालको स्मरण अनि त्यसपछिका सामाजिक राजनीतिक परिवर्तनको परिदृश्यमा हराउन थाले ।

नेपालमा एक दशक चलेको द्वन्द्वकालमा सेना र माओवादीमा रहेका एकैघरका दाजुभाइ परिवर्तित परिस्थितिमा सहमतिको बिन्दु भेट्न गरेको संघर्षलाई दर्शकले निकै रुचाए ।

हिमाल एसोसियसनको आयोजनामा भएको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १४ औं संस्करण यही चलचित्रबाट गरिएको हो । महोत्सवको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले बिहीबार काठमाडौंको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा उद्घाटन गरेका हुन् ।

महोत्सवमा २८ मुलुकका ८० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिने छन् । जसमा कथानक चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, प्रयोगात्मक एवं एनिमेसन चलचित्रहरू रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवको पहिलो दिन दीपक रौनियारद्वारा निर्देशित चलचित्र ‘सेतो सूर्य’ प्रदर्शन गरिएको हो । ८८ मिनेट लामो उक्त चलचित्र विश्वमै प्रतिष्ठित मानिने भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर गरिएको थियो ।

त्यसैगरी टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियामा समेत प्रदर्शन गरिएको सेतो सूर्य विश्वमै प्रतिष्ठित मानिने दुई दर्जनभन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शनको तयारीमा छ ।

पककर्न पिक्चर्सको प्रस्तुति यो चलचित्रमा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियार, देशभक्त खनाल, दीपक क्षत्री, गणेश मुनाल, शारदा अधिकारी, माओत्से गुरुङ, घनश्याम मिश्र, प्रमोद अग्रहरीलगायतको अभिनय रहेको छ । दीपक रौनियार र डेभिट बार्करले लेखेको यो चलचित्र जस्लिन बार्नस, छिरिङरितार शेर्पा, मिसेल मक्ट र दीपक रौनियारले निर्माण गरेका हुन् ।

महोत्सवको पहिलो दिन भिनसेन्ट सेइडी निर्देशित ‘द हाइरोड’, यानिक रोज निर्देशित ‘प्लानेट आइस’, ‘द हिमालयज्’, जेभिएर कोल निर्देशित ‘सोलो बेस’, भिनसेन्ट एमोरोक्स निर्देशित ‘प्लानेट आइस एन्डेज द इन्ड अफ द ग्लेसियर’, लोथर होफर निर्देशित ‘तिब्बेटेन ड्रिम्स’, अल्बर्टो फेरेटो निर्देशित ‘रनिङ फर द एसेन्सियलः होइन द एम इज लाइफ’ प्रदर्शन गरिएको थियो ।

त्यसैगरी नेपाली निर्देशक नवीन भट्टको ‘राइज एन्ड फल’, केसाङ क्षेतेनको ‘ट्रेम्बलिङ माउन्टेन’ पनि प्रदर्शन गरिएको थियो । बिहीबार बाट सुरु भएको महोत्सव चार दिनसम्म चल्नेछ ।

महोत्सवमा समावेश गरिएका चलचित्र क्यू एफ एक्स कुमारी हलमा प्रदर्शन गरिनेछन् । महोत्सवमा यस वर्ष अलायन्स फर सोसल डाइलग (एएसडी) र किम्फको आयोजनामा स्टे्न्थेनिङ नेपाल्स पब्लिक सर्विसेस शीर्षकमा छोटो चलचित्र प्रतियोगिता पनि हुनेछ । त्यसैगरी लोकप्रिय नेपाली पानोरामामा नेपाली प्रतिभाहरूद्वारा निर्मित चलचित्रहरू पनि देखाइनेछन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन चलचित्रलाई क्रमशः १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली पानोरामाअन्तर्गत फिक्सन र नन्फिक्सन विधामा उत्कृष्ट ठहरिएका दुई चलचित्रलाई ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट चलचित्रलाई एक हजार अमेरिकी डलरसहित ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ प्रदान गरिनेछ । महोत्सवमा प्रदर्शन गरिएकामध्ये दर्शकले अत्यधिक रुचाएको एक चलचित्रलाई ‘किम्फ अडियन्स अवार्ड’ प्रदान गरिने पनि आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.