चलचित्रमा साहसका कथा
काठमाडौः भौगोलिक विविधताले मानवीय जीवनमा पनि विभिन्नता सिर्जना गर्छ । भूगोलका हरेक जटिलतासँग मान्छे संघर्ष गर्छ । हरेक चुनौतीलाई स्वीकार्छ अनि विजय प्राप्त गर्छ । मान्छे प्रकृतिमाथि विजयको उदाहरण हो । यस्तै सन्देश बोकेका छन्, राजधानीमा जारी काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन भइरहेका चलचित्रहरूले । हिमाल र हिमाली जनजीवनमा आधारित यस महोत्सवको दोस्रो दिन पनि विश्वका विभिन्न हिमाली जनजीवनसँग सम्बन्धित चलचित्र प्रदर्शन गरिए ।
शुक्रबार नेपाल, भारत, फ्रान्स, अमेरिका, नेदरल्यान्ड, इटली, पेरुलगायतका देशका चलचित्रकर्मीले बनाएका चलचित्र प्रदर्शन भए । प्रदर्शित चलचित्रमा विश्वका विभिन्न भूभागका हिमाली क्षेत्रमा दैनिक जीवनयापनका लागि गरिने संघर्षसँगै मानिसले स्वीकार्ने चुनौतीबारे कथा प्रस्तुत गरिएका थिए ।
मानिसका निम्ति प्रकृतिका कुनै पनि सीमा अभेद्य छैनन् भन्ने देखिन्थ्यो चलचित्रको पेटबोलीमा । फ्रान्सका निर्देशक क्वेन्टिन सिक्डेनियर्सका ४४ मिनेट लामो चलचित्र ‘बर्तास-मा ‘रियुनियन प्रायःद्वीप-को भौगोलिक जटिलतालाई स्वीकार्दै चट्टानका बीच नाइलनको फित्ताबाट मानिसले गरेको जोखिमपूर्ण यात्रा देखाइएको थियो ।
अमेरिकी निर्देशक जोश लोवेल र पिटर मर्टिमरको चलचित्र ‘अ लाइन अक्रोस-मा अर्जेन्टिनाको प्याटागोनियन शिखर आरोहण गर्ने पर्वतारोहीको कथा समेटिएको थियो । छिनछिनमा मौसम परिवर्तन भइरहने भएकाले संसारकै खतरनाक मौसम मानिने त्यो क्षेत्रको चुनौतीलाई कसरी मानिसले परास्त गरे भन्ने साहसपूर्ण संघर्षको कथा उनिएको थियो सो चलचित्रमा ।
त्यसैगरी भारतका ‘अराम सेइ-, ‘लिचेज-, ‘द संग कलेक्टर-, नेपालका ‘भुवाजस्तै-, ‘डटर्स अफ द कभ्र्ड मुन-, ‘द डल्स फ्युनेरल-, ‘मीरा-लगायतका चलचित्र प्रदर्शन गरियो । सोमबारसम्म चल्ने महोत्सवमा शनिबार दुई नेपाली चलचित्र ‘मेला- र ‘संग अफ बारपाक- प्रिमियर हुँदैछ ।