योगी नरहरीनाथका पुस्तकको सन्देश: चिन्ता देशको दशाको
काठमाडौं: '...देशका काममा त सबैले निजी सम्झेर लाग्नुपर्ने हो तर सबै पेटमा पसे । हृदयमा वा शिरमा कोही बसेनन् । यस्ता छाँटले देशको दशा के होला ? ' राष्ट्रगुरु योगी नरहरिनाथका पुस्तक प्रदर्शनीका क्रममा शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको भानुभक्त कक्षमा उनले सन् १९७९ मे १७ मा भारतको अहमदनगरबाट महन्थ महादेवनाथलाई लेखेको पत्र भित्तामा टाँसिएको छ, 'सदैव जिन्दावाद र मुर्दावादले जिउँदो जाग्दो रहँदैन । योगीले योगी नै रहनुपर्छ । रोगी र भोगी भएर काम चल्दैन... । नभुल, नफुल । फुलेपछि झर्नुपर्छ ।'
नरहरिनाथका प्रत्येक वाक्य वा भनौं वाणी देशभक्तिले ओतप्रोत छन् । उनले दिल्लीमा रहँदा देशलाई सम्झेर सन् १९७७ अगस्त २४ मा लेखेको पत्रको अंश यस्तो छ, '...विदेशमा बसे पनि सपनाजपना देशकै छ । पाँच मुट्ठी प्राण छञ्ज्याल मातृभूमिको सेवा टाढैबाट पनि गर्ने नै छु । अरूले पनि गर्नुपर्छ । नेपालमा कुनै सपूत जन्मेको छ र ४ पैसा पाएको छ भने हिन्दु राष्ट्र परिचय पाँच हजार श्लोकको, पशुपति मत ८ हजार श्लोकको र इतिहास प्रकाश ६४ भागको छापेर राष्ट्रिय सेवा गरोस् । त्यो चाहे संस्था होस् चाहे व्यक्ति । बस् यत्ति भन्नु छ । होटल बोटलको टोटल पुग्दैन भने अट्ट गयो । देश शोचनीय हुँदैछ ।'
तीनदिने प्रदर्शनीको अन्तिम दिन शनिबार पनि नरहरिनाथका नेपालको इतिहास, पुरातत्त्व, संस्कृति, साहित्य र अन्य विविध विषयका ४० पुस्तक, पत्रपत्रिका र निःशुल्क वितरण गरिएका पाठ्य सामग्रीसँगै भित्ताभरि यस्तै देशभक्तिले भरिएका उनका लिखित दस्ताबेज सबैका लागि मननयोग्य बनेका थिए । प्रदर्शनीमा उनका 'हाम्रो मौलिकता (हाम्रो टोपी)', 'पनौती मेला', 'वैदिक साम्यवाद', 'जय गोर्खा', 'अथः मिथिला महात्म्यम्' प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी 'गोरखालीहरूको सैनिक इतिहास', 'कुलचन्द्रिका', 'कर्मवीरको परिचय', 'ऐतिहासिक शिखरिणी यात्रा', 'इतिहास प्रकाशमा सन्धिपत्र संग्रह र संग्रह १', 'दिव्य उपदेश (धर्मराज थापा, अष्टमबार, सप्तमबार)' लगायत ४० कृति राखिएका थिए ।
'पृथ्वीनारायणहरूका पालामा राजकीय ध्वज र राष्ट्रिय ध्वज एउटै थियो । राजकोष र जनकोष एउटै थियो । राजा र प्रजाको एकता थियो', मुलुकको वर्तमान वातावरण, शासक र शासितबीचको सम्बन्ध र देशप्रति देखाउनुपर्ने भावलाई छर्लंग पार्ने योगीका यी वाक्य प्रदर्शनीमा पुग्ने जोकोहीलाई सोचनीय लाग्थे, '...राष्ट्रलाई घर सम्झिनुपर्छ । समस्त नागरिकलाई परिवार सम्झनुपर्छ । सरकारी काम कैले जाला घाम भन्ने होइन । क्या कर्मचारी क्या जनता सबैले राष्ट्रका सम्पत्तिलाई निजी सम्पत्ति सम्झनुपर्छ र संरक्षण सदुपयोग गर्नुपर्छ । उपेक्षा र प्रमादले करोडौंको सम्पत्ति सखाप भइरहेछ ।'
२०५८ साल फागुन १३ गते योगी ८८ वर्षको उमेरमा मृगस्थलीस्थित आ श्रममै ब्रम्हलीन भएपछि आश्रमकै तीन कोठामा रहेको पुस्तकालयका हजारौं यस्तै ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका कृति गुठी संस्थानले ताल्चा लगाएको र त्यसबीचमा भूकम्प र हावाहुरीले नष्ट भएपछि श्रीबृहद्ध्यात्मिक परिषद्ले प्रदर्शनीको चाँजापाँजो मिलाएको जानकारी अध्यक्ष योगी श्रीषनाथले दिए । उनले अन्नपूर्णसँग भने, 'योगीका कृति सबैका लागि सर्वसुलभ हुन्, उनका दुर्लभ तथा अप्रकाशित पुस्तक प्रकाशनका निम्ति बिक्रीबाट स्रोत जुटाउने र नेपालको इतिहास, पुरातत्त्व, संस्कृतिको अध्ययन र अनुसन्धानका लागि विद्वत्वर्गलाई घचघच्याउनु नै प्रदर्शनीको उद्देश्य हो ।'
उनका अनुसार परिषद्ले योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय र योगी नरहरिनाथ अध्ययन केन्द्र स्थापना गर्ने कार्य अघि बढाएको छ । उनले भने, 'प्रदर्शनी आउन नभ्याउने वा सूचना नपाएर आउन नपाउनेका लागि पाशुपत् क्षेत्रको मृगस्थलीस्थित आ श्रमबाटै योगीका कृति पाउने व्यवस्था मिलाएका छौं ।' प्रदर्शनीमा आउनेहरूले आजको विषम परिस्थितिमा देश र विश्वलाई आवश्यक धेरै क्षेत्रको पाठ सिकाउन नरहरिनाथका कृति र हस्तलिखित ग्रन्थ योग्य भएको प्रतिक्रिया दिए । पाल्पा तानसेनका रामचन्द्र खनालले प्रदर्शनीमा राखिएका पुस्तक पढेपछि योगी इतिहास, पुरातत्त्व र राष्ट्रिय भावनाका त्रिवेणी भएको निष्कर्ष निकालेको बताए ।
उनले भने, 'सिंगो नेपालका राष्ट्रगुरु गाउँगाउँमा पुगी कमण्डलुमा पुराना अभिलेख राखिदिन आग्रह गर्दै इतिहास प्रकाशमा सन्धिपत्र संग्रह र इतिहासको गर्भमा लुकेका, सडेर गलेर जाने अवस्थामा पुगेका दुर्लभ सामग्री संकलन र प्रकाशन गरी नेपाल र नेपालीलाई लगाएको गुनको बदला उहाँका कृतिको संरक्षण र प्रचारप्रसार हुनुपर्छ ।' नयाँबानेश्वरका गंगाप्रसाद शर्मा नेपालीले नरहरिनाथले जीवनभर देखाएको र गरेको संस्कृत, संस्कृति र राष्ट्रप्रेम आज हामीमा पनि त्यतिकै खाँचो रहेको बताए । परिषद्ले मृगस्थली, देवघाट र रिडीगण्डकीस्थित योगी नरहरिनाथ आ श्रममा रहेका पुस्तक संग्रह गरी सर्वसाधारणलाई उनका बारेमा जानकारी दिन प्रदर्शनी गरेको हो ।