बाढीपहिरोका कारण अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार गरिएको छ। यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
भारी वर्षका कारण धनजनको क्षति हुन थाले पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो।
सो सेलले नेपालस्थित विदेशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरूको उद्धार गरिरहेको छ। सेल पर्यटक प्रहरी र सेल आफ्नैको हटलाइनमार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ। सेलले वेबसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लगायतका जानकारी उपलब्ध रहेको छ।
यसै क्रममा बाढी पहिरोमा हराइ रहेको भनिएका सिंगापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला परिएको छ। यस्तै रामेछापबाट एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरेको छ।
आइतबारबाटै मनसुनी वर्षाको प्रभाव कम भएसँगै जनजीवन केही सहज भएको र पर्यटन क्षेत्रपनि केही सहज हुँदै गएको छ। यसै गरी पर्यटन मन्त्रीको पहलपछि सडकमार्ग पूर्ण रूपमा सञ्चालन नभएसम्म हवाई टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनी सहमत भएका छन्। यसअघि हवाई सेवा प्रदायकहरू तीन दिनका लागि न्यूनतम् भाडा दरमा टिकट विक्री गर्न सहमत भएका थिए।
प्रतिक्रिया दिनुहोस !