धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान : धरानको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले शनिबार आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।

संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब १ बिघा ७ कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो। कुल ३३ करोड ७० लाख ४७ हजार ३ सय ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३ सय १९ रुपैयाँमा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो।

बसपार्क २४ करोड ८६ लाख ९ हजार १ सय ४८ रुपैयाँमा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए। यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा ७२ वटा दुईपांग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए।

बसपार्कमा करिब ३ सय यात्रु अट्ने सुविधासम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ। अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए।

उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले स्मार्ट बसपार्क सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री हुने विश्वास व्यक्त गरे । उनले धरानको पुरानो बसपार्क साँघुरो हुँदा यात्रुको भीड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बसपार्कले ती समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिने उनले प्रतिबद्धता जनाए।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्कको अभाव हुँदा यात्रु तथा सार्वजनिक यातायात व्यवसायीले सास्ती भोग्दै आएका उल्लेख गर्दै धरान उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख मञ्जु भण्डारीले नयाँ स्मार्ट बसपार्क सञ्चालनसँगै सार्वजनिक यातायात सेवा थप व्यवस्थित हुने र यात्रुले आधुनिक तथा सहज सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। उनले स्मार्ट बसपार्क धरानको गौरवको आयोजना भएको उल्लेख गर्दै पुरानो बसपार्क साँघुरो हुँदा दुर्घटनाको जोखिम तथा अव्यवस्थापन न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.