किम जोङ किन कहिल्यै आफ्नी आमाबारे बोल्दैनन् ? मृत्यु पनि राखियो गोप्य

किम जोङ किन कहिल्यै आफ्नी आमाबारे बोल्दैनन् ? मृत्यु पनि राखियो गोप्य
सुन्नुहोस्

उत्तर कोरिया : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग जोडिएका अनेक रहस्यमध्ये उनकी आमासम्बन्धी गोपनीयता सबैभन्दा रोचक मानिन्छ । सत्तामा आएको करिब १५ वर्ष बितिसक्दा पनि उनले सार्वजनिक रूपमा एक पटक पनि आफ्नी आमाको नाम लिएका छैनन् ।

किम परिवारको शासनको वैधता तथाकथित ‘माउन्ट पेक्टु रक्तरेखा’ मा आधारित छ । यो वंशावलीलाई कोरियाली जनताको पौराणिक संस्थापकसँग जोडिएको पवित्र रक्तरेखा मानिन्छ । त्यसैले आफ्नो मातृपक्षको वास्तविक पृष्ठभूमि सार्वजनिक हुनु शासनकै वैधतामाथि प्रश्न उठाउने विषय बन्न सक्छ ।

माउन्ट पेक्टुको मिथक

कोरियाली जनविश्वासअनुसार चीन–उत्तर कोरिया सीमामा रहेको माउन्ट पेक्टु कोरिया राष्ट्रका पौराणिक संस्थापक डानगुनको जन्मस्थल हो । पछि उत्तर कोरियाका संस्थापक किम इल सुङले जापानी शासनविरुद्ध लड्दा यही पर्वतलाई आफ्नो आधारस्थल बनाएको दाबी गरियो । उनका छोरा किम जोङ इल पनि यही पवित्र पर्वतमै जन्मिएको सरकारी कथा फैलाइयो, जबकि धेरै अनुसन्धानले उनको जन्म रुसमा भएको हुनसक्ने संकेत गरेका छन् । यही कथालाई आधार बनाएर किम वंशले आफ्नो शासनलाई वैध ठहर गर्दै आएको छ ।

निर्वासित उत्तर कोरियाली कूटनीतिज्ञ र्यु ह्युन–उ ले आफ्नो पुस्तक ‘किम जोङ उनको गोप्य भण्डार’ मा लेखेका छन्, ‘किम जोङ उन कुनै उल्लेखनीय उपलब्धि बिना नै केवल पेक्टु रक्तरेखाका कारण आफ्नो बीसको दशकमा उत्तराधिकारी बने ।’

वास्तविकता : जापानमा जन्मिएकी आमा
तर किम जोङ उनकी आमा को योङ हुई को वास्तविक पृष्ठभूमि भने सरकारी कथाभन्दा फरक छ । उनी सन् १९५२ मा जापानको ओसाका शहरमा जन्मिएकी थिइन् । उनका आमा–बुबा दक्षिण कोरियाको जेजु द्वीपका मूल निवासी थिए, जो जापानी उपनिवेशकालमा जापानमा बसाइँ सरेका कोरियाली समुदाय (जाइनिची कोरियन) थिए । करिब १० वर्षको उमेरमा उनी परिवारसँग उत्तर कोरिया गइन् । उनीहरू १९५९ देखि १९८४ सम्म उत्तर कोरिया बसाइँ सर्ने करिब ९३ हजार कोरियालीमध्ये थिए, जसलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको सपना देखाएर बोलाइएको थियो ।

तर जापानबाट आएका यी आप्रवासीलाई पछि ‘ज्जाएपो’ भन्ने अपमानजनक नामले चिनिन थालियो । उनीहरू विदेशी विचारधाराबाट प्रभावित मानिन्थे र उत्तर कोरियाको सामाजिक वर्गीकरण प्रणाली ‘सोंगबुन’ मा उनीहरूलाई पूर्ण रूपमा विश्वासयोग्य वर्गमा राखिँदैनथ्यो । यस कारण उनीहरूमाथि कडा निगरानी हुन्थ्यो र राम्रो विश्वविद्यालय तथा सरकारी जागिरका अवसर पनि सीमित गरिन्थे । यही कारण किम जोङ उनलाई ‘ज्जाएपोको छोरा’ भनेर चिनिने सम्भावनाले शासनको आधिकारिक कथासँग ठाडो विरोधाभास सिर्जना गर्छ ।

‘सिन्ड्रेला’ जस्तै जीवन
को योङ हुई उत्तर कोरियाको प्रतिष्ठित मानसुदे कला समूह की कलाकार थिइन् । त्यही क्रममा उनको भेट किम जोङ इलसँग भयो । त्यतिबेला किम जोङ इलको आधिकारिक विवाह भइसकेको थियो र उनका अन्य प्रेमिकाहरू पनि थिए । तर कोको सौन्दर्य र नृत्यकलाले उनलाई आकर्षित गरेको बताइन्छ । 

उनीहरूका तीन सन्तान जन्मिए पनि उनीहरूको सम्बन्ध कहिल्यै औपचारिक रूपमा स्वीकार गरिएन । त्यसैले किमको कानुनी पत्नी राजधानी प्योङयाङमा बस्दा को योङ हुई र उनका सन्तानलाई तटीय शहर वोन्सानमा राखिएको थियो । किम इल सुङले कोलाई कहिल्यै परिवारको सदस्यका रूपमा स्वीकार नगरेको उल्लेख विभिन्न जीवनीहरूमा पाइन्छ । यदि स्वीकार गरिएको भए, किम इल सुङ र उनका नातिनातिनाका तस्बिरहरू सरकारी प्रचारमा व्यापक रूपमा प्रयोग हुने विश्लेषकहरूको भनाइ छ ।

पछि किम जोङ इल सर्वोच्च नेता बनेपछि भने को योङ हुई व्यवहारिक रूपमा प्रथम महिला सरह देखिन थालिन् । उनी सैनिक निरीक्षणमा साथ दिन्थिन् र नीति निर्माणमा समेत प्रभावशाली रहेको पूर्व निजी शेफले उल्लेख गरेका छन् ।

मृत्यु पनि गोप्य राखियो
सन् २००४ मा स्तन क्यान्सरको उपचारका क्रममा फ्रान्सको पेरिसस्थित अस्पतालमा को योङ हुईको निधन भयो । तर उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उनको मृत्युबारे कुनै सार्वजनिक जानकारी दिएन । सन् २०११ मा तयार गरिएको एउटा सरकारी वृत्तचित्रमा उनी किम जोङ इलसँग देखिएकी थिइन्, तर उनको नाम र पृष्ठभूमि खुलाइएको थिएन । उक्त वृत्तचित्र वरिष्ठ अधिकारीहरूलाई मात्र देखाइएको थियो । पछि त्यो बाहिरिएपछि जनतामाझ फैलियो, तर सरकारले तत्काल फिर्ता लिएको बताइन्छ ।

उत्तराधिकारी कसरी बने किम जोङ उन ?
किम जोङ इलकी कानुनी पत्नीका दुई छोरी थिए, त्यसैले उनीहरू उत्तराधिकारी बन्न सकेनन् । पहिलो प्रेमिकाबाट जन्मिएका जेठा छोरा किम जोङ नाम केही समयसम्म सम्भावित उत्तराधिकारी मानिए पनि उनले वंशानुगत शासनको आलोचना गरेका कारण विश्वास गुमाए । पछि उनी निर्वासनमा बस्दै आएका बेला सन् २०१७ मा मलेसियामा विष प्रयोग गरेर हत्या गरियो । अर्का छोरा किम जोङ चुल लाई पनि उत्तराधिकारीका रूपमा अयोग्य ठहर गरिएको बताइन्छ ।

यसपछि को योङ हुईले आफ्ना दोस्रो छोरा किम जोङ उनलाई उत्तराधिकारी बनाउन सक्रिय भूमिका खेलेको विभिन्न पुस्तकहरूमा उल्लेख गरिएको छ। विश्लेषकहरूका अनुसार किम जोङ उनको नेतृत्व क्षमता र प्रतिस्पर्धी स्वभावका कारण उनी आफ्ना पिताका प्रिय बने । सन् २०११ मा किम जोङ इलको निधनपछि २७ वर्षको उमेरमै किम जोङ उन सर्वोच्च नेता बने ।

किन अझै गोप्य छ उनकी आमाको पहिचान ?
विश्लेषकहरूका अनुसार किम जोङ उनको जन्मदिनलाई उनका हजुरबुबा र बाबुको जस्तै राष्ट्रिय पर्व घोषणा नगरिनुको एउटा कारण पनि यही हुन सक्छ । जन्मसँगै आमाको पृष्ठभूमि र उनी राजधानी बाहिर किन हुर्किए भन्ने प्रश्न उठ्न सक्छ । यसको विपरीत, किमले आफ्नी पत्नी री सोल जु र छोरी जु ए लाई सार्वजनिक रूपमा छिट्टै प्रस्तुत गरेका छन् । दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार री सोल जु राम्रो सामाजिक पृष्ठभूमिकी हुन् ।

जापानी पत्रकार योजी गोमीका अनुसार, आफ्नी आमाको पृष्ठभूमिका कारण महसुस गरेको असुरक्षाले नै किमलाई आफ्नी पत्नी र छोरीलाई सार्वजनिक रूपमा देखाउने प्रेरणा दिएको हुन सक्छ । निर्वासित कूटनीतिज्ञ र्यु ह्युन–उको भनाइमा, ‘यदि किम जोङ उनकी आमा जापानमा जन्मिएकी कोरियाली मूलकी भएको तथ्य उत्तर कोरियामा पूर्ण रूपमा स्वीकार गरियो भने, त्यसले केवल किमको वैधतालाई मात्र होइन, सम्पूर्ण वंशानुगत शासन व्यवस्थाको आधारलाई नै हल्लाइ दिन सक्छ ।’ उनका अनुसार त्यसको प्रभाव उत्तर कोरियाली समाजमा ‘आणविक बम विस्फोट जत्तिकै ठूलो’ हुन सक्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.