प्रेमीको हत्या आरोपमा ‘टिकटक इन्फ्लुएन्सर’ पक्राउ, भनिन्, ‘मेरो ज्यान जोखिममा थियो’

प्रेमीको हत्या आरोपमा ‘टिकटक इन्फ्लुएन्सर’ पक्राउ, भनिन्, ‘मेरो ज्यान जोखिममा थियो’

दुबई : दुबईमा एक २३ वर्षीया बेलायती टिकटक इन्फ्लुएन्सरमाथि आफ्नै प्रेमीको हत्या गरेको आरोप लागेको छ । बेलायतको केन्टस्थित ग्रेभसेन्डकी ब्रुक जर्जमाथि आफ्ना प्रेमीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लगाइएको हो । दुवैको भेट अनलाइनमार्फत भएको थियो र त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । यो जानकारी ‘डिटेन्ड इन दुबई’ नामक संस्थाले दिएको हो ।

संस्थाका अनुसार ब्रुकले आफूले प्रेमीको हिंसात्मक आक्रमणबाट जोगिन आत्मरक्षाका लागि चक्कु उठाएको बताएकी छन् । उक्त संस्थाले ब्रुकलाई धरौटीमा रिहा गर्न र घटनालाई घरेलु हिंसाको दृष्टिकोणबाट अनुसन्धान गर्न माग गरेको छ । यदि उनी दोषी ठहरिएमा उनलाई फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड हुन सक्ने संस्थाको दाबी छ ।

‘पुरुष प्रहरीसामु कपडा फुकाल्न बाध्य बनाइयो’

बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) ले यूएईमा हिरासतमा रहेकी एक बेलायती महिला र उनका परिवारलाई सहयोग गरिरहेको जनाएको छ । बेलायती कम्पनी जोन लुइसमा काम गरिसकेकी ब्रुकलाई जुन २२ को बिहान पक्राउ गरिएको थियो । सुरुमा उनीमाथि पूर्व योजना अनुसार हत्या गरेको आरोप लगाइएको थियो ।

यदि उनी दोषी ठहरिइन् भने यूएईको कानुनअनुसार मृत्युदण्ड हुन सक्छ । ‘डिटेन्ड इन दुबई’ का अनुसार ब्रुकले महिला प्रहरीको उपस्थिति बिनै पुरुष प्रहरीसामु कपडा फुकाल्न बाध्य पारिएको आरोप लगाएकी छन् । उनले यसलाई अत्यन्त अपमानजनक र पीडादायी अनुभव भएको बताएकी छन् ।

‘प्रेमीले मुक्का हाने, राहदानी खोस्यो’
पहिलो पटक दुबई भ्रमण गरेर फर्किदा ब्रुकले त्यसलाई आफ्नो जीवनकै उत्कृष्ट अनुभव भनेकी थिइन् । तर संस्थाकी प्रमुख राधा स्टर्लिङका अनुसार दोस्रो भ्रमणका क्रममा उनका प्रेमीको व्यवहार हिंसात्मक बन्दै गएको थियो । उनका अनुसार ब्रुकले प्रेमीले आफूलाई नियन्त्रणमा राख्न खोजेको, मुक्का हानेको, राहदानी खोसेर आफूसँग राखेको र फ्ल्याटमै कुटपिट गरेको आरोप लगाएकी छन् । त्यसपछि उनी दुबई छोड्न चाहन्थिन् । ब्रुकले आफ्नो ज्यान जोखिममा परेको महसुस भएपछि नजिकै रहेको चक्कु उठाएर आत्मरक्षा गरेको बताएकी छन् ।

‘मेरी छोरी निकै डराएकी थिइन्’
ब्रुककी आमा थेरेजा जर्जले दोस्रो पटक दुबई गएपछि छोरीको सम्बन्धमा स्पष्ट परिवर्तन आएको बताएकी छन् । उनका अनुसार घटना हुनु अघिल्लो दिन ब्रुक असामान्य रूपमा शान्त र चिन्तित देखिएकी थिइन् । त्यस साँझ उनीहरू दुबईको एक बारमा गएका थिए । घटनापछि फोनमा कुरा गर्दा ब्रुक अत्यन्त डराएकी थिइन् । उनी निरन्तर रोइरहेकी थिइन् र उनको एउटा आँखा निकै सुन्निएको थियो । थेरेजाले छोरीको सुरक्षाप्रति आफू अत्यन्त चिन्तित रहेको बताउँदै उनले जसरी पनि बेलायत फर्किन चाहेको विश्वास व्यक्त गरेकी छन् ।

‘झुक्याएर दुबई बोलाइएको हुन सक्छ’
राधा स्टर्लिङका अनुसार ब्रुकका नजिकका मानिसहरूले उनलाई कुनै उद्देश्यका लागि झुक्याएर दुबई बोलाइएको हुन सक्ने आशंका गर्न थालेका थिए। उनले पहिलो यात्रामा बिकिनी लगाएर व्यावसायिक फोटोसुट गराइएको, दोस्रो यात्रामा प्रेमीले राहदानी आफूसँग राखेको तथा ब्रुकले साथीहरूलाई आफू कुनै पनि हालतमा त्यहाँबाट निस्कन चाहेको बताएको उल्लेख गरिन् ।

‘दूतावाससँग भेट्न समेत दिइएन’
‘डिटेन्ड इन दुबई’ का अनुसार ब्रुकलाई बेलायती दूतावासका अधिकारीसँग भेट्न अनुमति दिइएन । साथै वकिलबिनै बयान दिन बाध्य पारिएको पनि संस्थाको आरोप छ । स्टर्लिङले यो घटनाले महिलामाथिको हिंसा, आत्मरक्षाको अधिकार, कानुनी प्रक्रिया तथा विदेशमा हिरासतमा रहेका बेलायती नागरिकको अधिकारबारे गम्भीर प्रश्न उठाएको बताइन् । उनले अनुसन्धान पूरा नहुँदासम्म ब्रुकलाई धरौटीमा रिहा गर्न, आवश्यक सुरक्षा, स्वास्थ्य उपचार, कानुनी सहायता तथा बेलायती दूतावासको तत्काल सहयोग उपलब्ध गराउन यूएई प्रशासनसँग माग गरेकी छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.