वीरगन्ज महानगरका सरसफाइ कर्मचारी काममा फर्किए
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू र सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनी बीचको विवाद सुल्झिएको छ।
तलब वृद्धि लगायतका माग राखेर आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आइतबार बिहान घण्टाघर चोक लगायत विभिन्न चोकका सडकमै फोहोर थुपारेर प्रदर्शन गरेका थिए। महानगरपालिकाको कार्यालय अगाडि पनि फोहोर थुपारेर प्रदर्शन गरेका सरसफाई कर्माचारीहरूमाथि प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको थियो।
त्यसपछि महानगरका कार्यवाहक मेयर इम्तियाज आलमले सरसफाइ कर्मचारीहरूको आन्दोलनले महानगरको सरसफाई व्यवस्थापनमा उत्पन्न समस्या तत्काल समाधान गर्न सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए।
आलमको पहल र निर्देशनपछि आइतबार अपरान्ह दुवै पक्षबीच भएको छलफलपछि आन्दोलनरत सरसफाइ कर्मचारीहरू काममा फर्किन सहमत भएको कार्यवाहक मेयर आलमले बताए।उनिहरू आइतबार नै साँझदेखि काममा फर्किएर शहरको सरसफाईमा लागेको उनले जानकारी दिए।
आलमका अनुसार सरसफाइ कर्मचारी र ठेकेदार कम्पनी बीचको छलफलमा ठेकेदार कम्पनीका प्रतिनिधि शिव गुप्ताले सरसफाई कर्मचारीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सरसफाई कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका हुन्।
महानगरका सरसफाई कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ तथा मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने, प्रत्येक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने, श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा सुनिश्चित गर्नुपर्ने, पर्वमा विशेष बिदाको व्यवस्था गर्नुपर्ने माग राखेका आन्दोलन थालेका थिए।
यस्तै, कुनै कर्मचारीको परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्था परेमा १० हजार रुपैयाँ पेस्की उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, सबै सरसफाइ कर्मचारीलाई पोसाक (ड्रेस) तथा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने मागसमेत उनीहरूको थियो।
प्रतिक्रिया दिनुहोस !