पञ्चायतकालीन भरुवा बन्दुकको भरमा प्रतियोगिता
बागलुङः एकाग्रता चाहिने खेल सुटिङ, आकर्षक एअर राइफल र पेस्तोल, गोली, विशेष किसिमको एअर कन्डिसन हल, विशेष खालको ड्रेस, छिस्रिक्क आवाजले पनि प्रभावित नगरोस् भनेर ‘न्वाइज रिडक्सन इयर फोन’को प्रयोग । यसकारण अरू खेलभन्दा सुटिङ खेल पृथक मानिन्छ । तर, यही सुटिङ खेलको पश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता भने पञ्चायतकालीन भरुवा बन्दुकको भरमा सञ्चालन हुने भएको छ ।
आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङमा हुन लागेको क्षेत्रीय सुटिङ छनोट प्रतियोगिता राज्य र राष्ट्रिय खेलकुद परिषद्को चरम बेवास्ताका कारण पञ्चायतकालीन भरुवा बन्दुकका भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको जिल्ला सुटिङ संघका अध्यक्ष भगवती केसीले बताइन् ।
‘धेरै पुरानो भएकाले कुनै पनि गन प्रयोग गर्नयोग्य छैन’, अस्ट्रेलियाको सिड्नीमा भएको सुटिङको ओलम्पिक खेलमा समेत सहभागिता जनाएका खेलाडी केसीले भनिन्, ‘काठ र बन्दुक उचाल्नुमा केही फरक छैन, लाजमर्दो अवस्था छ तर पनि जिल्लामै क्षत्रीय प्रतियोगिता तोकिएकाले गर्नुपर्ने बाध्यता छ ।’ छोटो समय दिएर आयोजना गरिएको प्रतियोगिताले पर्याप्त तयारीसमेत नभएको र उपर्युक्त कभर्ड हलको अभावमा घरको छतमा प्रशिक्षण गराइरहेको उनले गुनासो गरिन् ।
पञ्चायतकालमा सुटिङ खेलको प्रशिक्षक भए पनि अहिले पश्चिमाञ्चलमै प्रशिक्षक नरहेको सुटिङ संघले जनाएको छ । यही मंसिर ३० गते हुने सुटिङको क्षेत्रीय छनोट प्रतियोगितामा रूपन्देहीबाट दुई पुरुष र दुई महिला, कास्कीबाट तीन पुरुष र तीन महिला तथा बागलुङबाट ६ पुरुष र ६ महिला गरी २२ खेलाडीको सहभागिता रहनेछ ।
पश्चिमाञ्चलमा सुटिङ खेलको उर्वर मानिने बागलुङमा पञ्चायतकालको तीनवटा राइफल र दुईवटा पेस्तोल छ । यी बन्दुक पनि जनयुद्धकालमा सुरक्षा निकायले धेरै वर्षसम्म जिल्ला प्रशासन कार्यालयको गोदाममा थन्क्याएर राखेकाले खिया लागेर काम नगर्ने अवस्थामा पुगेका छन् । ‘पञ्चायतकालको बन्दुक, त्यही पनि युद्धकालमा प्रशासनले गोदाममा राख्दा काम नचल्ने अवस्थामा छन्’, जिल्ला खेलकुद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले भने, ‘न लक हुन्छ, न कक हुन्छ ।’
यस विषयमा सुटिङ संघले पटकपटक खेलकुद परिषद्, पश्चिमाञ्चल क्षत्रीय खेलकुद विकास समितिमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले बताए । ‘हामीले धेरैपटक जानकारी गरायौं तर सेवासुविधा, अवसर र सामग्री सबै केन्द्रमै केन्द्रित गर्ने प्रवृत्तिले हामी आजित भएका छौ’, परियार भन्छन् ।
राष्ट्रिय प्रतियोगिताका लागि बागलुङमा सुटिङका साथै आईटीएफ तेक्वान्दोको पनि क्षत्रीय छनोट खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रीय छनोट प्रतियोगिताबाट सुटिङतर्फ १२ र आईीटएफतर्फ ४१ जना खेलाडी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुनेछन् । आईटीएफ तेक्वान्दोमा पश्चिमाञ्चल क्षेत्रका ११ जिल्लाका दुई सय पाँच खेलाडीको सहभागिता रहनेछ ।