राष्ट्रकवि माधव घिमिरे भन्छन्,‘गाउँदा गाउँदै आँसु आउँछ’
काठमाडौंः राष्ट्रकवि माधव घिमिरेले संगीतकर्मीका लागि वर्तमान समय चुनौतीपूर्ण रहेको बताएका छन्। विश्वका संगीत विद्युतीय माध्यमबाट आइरहेको अवस्थामा आफ्नो परिचय भेट्ने चुनौती नेपाली संगीतकर्मीलाई छ’, राष्ट्रकवि घिमिरेले भने, ‘अब हामीले हाम्रो परिचय खोज्नुपर्छ ।’
उनले कलाकारले देशका फरक फरक संस्कृति पस्कने हुनाले ऊ केवल एक व्यक्ति नभएर देश भएको बताए । संस्कृति देशको चिनारी भएकाले उनले कलाकारलाई देश मानेको बताए।
शनिबार राजधानीमा आयोजित स्वामी नरायणाचार्य श्रुति अभिनन्दन तथा श्रुति संगीत सम्मान समारोहमा उनले भने,‘कलाकारको बीचमा बस्दा देवदूतको बीचमा बसेजस्तो लाग्छ । कहिलेकाहीँ गाउँदागाउँदै आँसु आउँछ।’
कार्यक्रममा लोकगायक कुमार बस्नेतलाई ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ एवं साहित्यकार राजेन्द्र सलभ, गायिका कुन्ती मोक्तान, गायक रामकृष्ण ढकाल र संगीतकार आलोक श्रीलाई श्रुति संगीत सम्मान प्रदान गरिएको छ । सो अवसरमा गायक कृष्ण काफ्लेलाई ‘राइजिङ स्टार’ सम्मान दिइएको थियो ।
श्रुति संगीत विद्यालयले हरेक वर्ष वार्षिकोत्सवमा स्रष्टालाई सम्मान गर्दै आएको छ ।