प्रचण्डको स्वागत र्‍यालीमा बालबालिकालाई पनि 'ह्विप'

प्रचण्डको स्वागत र्‍यालीमा बालबालिकालाई पनि  'ह्विप'

सुर्खेत: प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा निकालिएको र्‍यालीमा विद्यार्थीलाई 'ह्विप' नै लगाएर लगिएको पाइएको छ । विद्यालयले 'फेल गरिदिने' धम्की दिएपछि विद्यार्थी बाध्य भएर र्‍यालीमा सहभागी भएको बताइएको छ । सोही क्रममा १३ वर्षीया छात्रा समीक्षा आचार्यको गत बिहीबार धपेडीले र्‍यालीमै ज्यान गएको थियो ।

वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि स्वागतमा विद्यार्थीलाई सडकमा उतारिएको थियो । सोही क्रमममा धपेडीका कारण र्‍यालीमा सहभागी होराइजन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययन गर्ने समीक्षाको बेहोशपछि मृत्यु भएको थियो । होराइजन माविका विद्यार्थीहरूले आफूहरूलाई जबर्जस्ती र्‍यालीमा जान बाध्य बनाइएको बताएका छन् । विद्यालयले र्‍यालीमा सहभागी नभए फेल गराउने धम्की दिएपछि आफूहरू गएको र समीक्षाको मृत्यु भएको उनीहरूको भनाइ छ ।

यता विद्यालयले भने अनिवार्य भनिएको तर बिरामीको हकमा जबर्जस्ती नगरिएको दाबी गरेको छ । 'हामीले अनिवार्य सहभागी हुन भनेको थियौं', विद्यालयका प्रिन्सिपल श्यामकुमार थापाले भने, 'तर बिरामी विद्यार्थीलाई अनिवार्य गरेका थिएनौं । समीक्षालाई पनि सोधेका हौं, उनले नै जान्छु भनेपछि हामीले रोक्न सकेनौं ।' र्‍यालीमा अनिवार्य आउन भने पनि फेल गराउने धम्की नदिइएको उनको भनाइ छ ।

समीक्षाका आफन्तले अहिले आफूहरू पीडामा रहेकाले केही प्रतिक्रिया नदिने बताएका छन् । घटनाको छानबिन हुनुपर्ने र आफूहरूले न्याय पाउनुपने मृतक समीक्षाका आफन्त शंकर पाण्डेले बताए । जिल्लाका अधिकारकर्मी र कतिपय समीक्षाका साथीले भने विद्यालयले जबर्जस्ती गरेका कारण घटना भएको दाबी गरेका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् ।

घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । आयोगले र्‍यालीमै छात्राको ज्यान जानु गम्भीर घटना भन्दै छानबिन प्रक्रिया थालेको हो । आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको टोलीले आइतबारदेखि अनुसन्धान थालेको छ । आयोगले विद्यालयसँग बयान लिइसकेको छ भने घटनास्थलका प्रत्यक्षदर्शी र महिला तथा बालबालिका कार्यालयसँग सोधपुछसमेत गरेको मानवअधिकार अधिकृत रमेशकुमार थापाले बताए ।

जिल्ला शिक्षा, जिल्ला प्रशासन, प्रहरी र मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघसँग पनि घटनाबारे अनुसन्धान गरिने उनको भनाइ छ । 'यो घटना गम्भीर हो, हामी अनुसन्धान गर्छौं । दोषीलाई कारबाहीको सिफारिस पनि गर्नेछौं, घटनामा राज्यका निकाय बढी जिम्मेवार छन्', आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले भने ।

सुर्खेतलाई २०७० फागुन १४ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर उक्त घोषणा उल्लंघन गर्दै बालबालिकालाई विद्यालय नै बन्द गरेर र्‍यालीमा उतारिएको भन्दै अधिकारकर्मीले कारबाहीको माग गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयले पनि विद्यार्थीलाई आफ्नो अनुमतिबिनै र्‍यालीमा सहभागी गराएको भन्दै विद्यालयसँग स्पष्टीकरण मागेको छ । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटनका क्रममा बिहीबार निकालिएको र्‍यालीमा घन्टौंसम्म लाम लाग्दा समीक्षा बेहोश भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.