अपमानित आमा
विश्वभरि र नेपालमा खासगरी राजधानीमा महिला हिंसाविरुद्धको सोह्रदिने अभियान औपचारिक समाप्तिको क्रममा छँदा एकजना आमा लक्ष्मी नेपालीको जीवनलीला समाप्त भएको छ, काठमाडौंबाट करिब ४० किमि टाढा काभ्रे जिल्लाका एउटा गाउँमा । उनलाई नियमित रूपमा सञ्चारमाध्यममा आइरहेका अन्य घटनाजसरी 'बोक्सी' को आरोप लगाइयो । अनि केही अपराधीले त्यही आरोपलाई 'फैसला' को रूपमा सुनाए अनि 'दिसा' खुवाए, दण्डका रूपमा । पछि अन्य शारीरिक यातना दिए ।
उनलाई अपमानित गर्ने, दण्ड दिने र हत्यामा विवश गर्ने समूहको नेतृत्व गरे एकजना स्थानीय शिक्षक हिरा लामाले । यातना, अपमान र अन्यायको सिकारका रूपमा दुई बालककी आमा ३३ वर्षीया लक्ष्मी परियारले प्राण त्यागिन् । यो समग्र प्रकरणमा एउटा गाउँलाई जंगलीहरूको बस्ती या कानुन हातमा लिनेहरूको बस्ती या अन्यायमा कसैको ज्यान जाँदा मौन र विवशताद्वारा त्यसलाई अनुमोदन गर्नेहरूको बस्तीका रूपमा मात्र लिन मिल्दैन, काभ्रे जिल्लाको त्यो सानो गौंथली गाउँलाई ।
कानुन हातमा लिन हुँदैन, आमालाई देवतासरह मान्नुपर्छ र 'बोक्सी' भनी कसैलाई सम्बोधन, अपमानित र दण्डित गर्न हुँदैन भनी विद्यार्थीहरूलाई शिक्षा दिँदै आएका एक 'सर' ले नै ती सबै सन्देशको उल्लंघन गरे । राजधानीमा जारी महिला हिंसाविरुद्धको अभियान कति निष्प्रभावी रहेछ त त्यति नजिकै पनि भन्ने सन्देश यो घटनाले दियो । सम्भवतः पढेलेखेका, सहरी र दाता र अन्तर्राष्ट्रिय समुदायसँग साझेदारीमा कार्य गर्नु पर्याप्त हुँदो रहेनछ । महिला हिंसा रोक्न, त्यसको लागि बृहत् चेतनाको सञ्चार र सक्रिय सञ्जाल निर्माण बढी आवश्यक र सान्दर्भिक हुनेछ ।
एउटा अर्को असहज प्रश्न पनि गर्नैपर्ने हुन्छ- राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश तीनवटै पदमा महिलाहरू आसीन भएकोमा गर्व गर्ने कि दुई बालककी आमा अनि मुलुकको संविधान र कार्यकारीले विशेष संरक्षणको प्रतिबद्धता व्यक्त गरेको एक दलित र महिलाको हत्यामा शिर झुकाउने ? योभन्दा निन्दनीय र क्रूर अर्को घटना कल्पना गर्न सकिएला अहिले ? निश्चय पनि यसमा सरकार या उच्च पदमा आसीनहरूको दोष छैन ।
तर जात, लिंग, भूगोल आदिलाई आधार बनाएर राजनीतिक पदमा विशेष कोटाको खोजी गर्नेहरूले महिला, दलित, भौगोलिक सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक रूपमा पछाडि परेकालाई नागरिक बनाउने अभियानको किन थालनी गरेनन् ?
लक्ष्मीको हत्याको आरोपमा प्रहरीले तीन व्यक्तिलाई गिरफ्तार गरेको छ र अझ अरूलाई पनि गर्नेछ, तर निर्दोष आमा र महिलालाई अपमानित र कलंकित गर्ने शृंखलामा यो अन्तिम हुने छैन ।
पद, सत्ता र लेनदेनको राजनीतिमा लागेकाहरूका लागि यो घटना केवल अर्को एउटा 'घटना' बन्नेछ । तर यस्ता घटनामाथि छानबिन गर्न 'सभरी कोर्ट' (या छोटो समय लाग्ने विशेष प्रवृत्तिका स्वतन्त्र अदालत) गठन नगरेसम्म यस्ता घटना भइरहनेछन् र आमा तथा महिला 'बोक्सी' भनिइनै रहनेछन् ।
सामाजिक क्रूरता र उत्पीडनको सिकार लक्ष्मी राजनीतिक दलहरूले उत्पादन गरेका हजारौं सहिदमा पर्र्ने छैनन् । तर यो घटनाले जति अभियुक्त हिरा लामालाई प्रताडित गर्ला, त्योभन्दा कैयौं गुणा बढी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा बद्नाम गराउनेछ । सरकार, न्यायपालिका र महिला अधिकार सञ्जाल सबैको लागि यो 'हत्या' एउटा पाठ बन्न सक्नुपर्छ ।