महासंकटको संकेत
इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाको कार्यकालमा ९३ जनालाई 'विरोधी' भनेर हत्या गरिएको लेखेका छन् । चित्तरञ्जन नेपालीले ७७ जनालाई भीमसेन थापाले मारेको उल्लेख गरेका छन् । १८५५ सालमा सिपाही भएका भीमसेन थापा १७ वर्षपछि सर्वशक्तिमान प्रधानसेनापति भए । नेपालमा 'कमान्डर-इन- चिफ' लेख्ने पहिलो सेनाप्रमुख उनै हुन् । उनको कार्यकालमा सुधार मात्र भएन, राष्ट्रले महासंकट भोग्नुपर्यो ।
काशीको ललिताघाटमा बसेर जोगीसरह जीवन बिताउन बाध्य रणबहादुर शाहलाई नेपाल आउन नदिने षड्यन्त्र गरेको अभियोगमा मुख्तियार (प्रधानमन्त्री) दामोदर पाँडेलाई भद्रकाली मन्दिरछेउमा पोडेको हातबाट हत्या गर्न लगाइयो । त्यही मृत्युदण्ड भोग्न लागेका प्रबल रानामगर भागेर काशी पुगे । बाँकी रहेका कैयन् पाँडेलाई जेल, देशनिकाला र सर्वस्वहरण गरिएको इतिहासकारहरूले उल्लेख गरेका छन् । प्रधानसेनापति भइसकेका शक्तिशाली दामोदरको हत्यापछि अंग्रेज कूटनीतिज्ञहरूको षड्यन्त्र बढ्यो ।
तर राष्ट्रमा केके हुन सक्छ भनेर राजनीतिक वृत्त र सेनाले त्यसबेला समयमै अड्कलसमेत गर्न सकेन । राष्ट्रका जिम्मेवार निकाय विखण्डित र बेखबर हुँदा महासंकट आउँछ भन्ने यस्ता उदाहरण धेरै छन् ।
भीमसेन थापाकै पालामा राजा रणबहादुर शाहको हत्या भयो । राजा मारिएको नवौं दिनमा रानी राजराजेश्वरीलाई जिउँदै जलाइयो । 'सती पठाउने' त्यो निर्णय भीमसेनले एक्लै गरेका थिए । रणबहादुरकी अर्की रानी ललित त्रिपुरासुन्दरी थापाकी छोरी भएकाले कान्छी रानी भए पनि सती जानुपरेन । रणबहादुरका छोरा गीर्वाण सानै थिए । यस्तो परिस्थितिमा भीमसेन थापा सर्वशक्तिमान हुनु स्वाभाविक थियो । उनी तीस वर्ष प्रधानमन्त्री र सेनापति भए । धेरै असल काम पनि गरे । प्रबल देशभक्त थिए उनी, तर नाबालक अवस्थामै राजा भएका गीर्वाण र राजेन्द्रलाई हेपेर सेनाकै बलमा शासन चलाउँदा उनले चरम अहंकारका कारण भविष्यमा हुन सक्ने दुर्घटना, संकट र अनिष्टको लेखाजोखा गर्न सकेनन् । फलतः राष्ट्र झन् कमजोर हुँदै गयो ।
राजदरबारका अधिकांश भारदार अंग्रेजहरूसँग युद्ध गर्नुभन्दा कूटनीतिक तवरले समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा देखिएका बेला प्रधानमन्त्री भीमसेन थापाले 'युद्ध गर्नैपर्छ' भन्ने हठ लिए । टिस्टादेखि सतलज नदीसम्म फैलिएको राष्ट्र नेपाल-अंग्रेज युद्धका कारण अत्यन्त कमजोर बन्न पुग्यो । झन्डै चालीस प्रतिशत भूभाग गुमाउनुपर्यो । नालापानीमा युद्ध गरिरहेको सेनाले सरकारबाट राम्रो सहयोग पाएन ।
राजनीति, कूटनीति, रणनीति र तत्कालको धरातलीय यथार्थ बुझ्न नसक्दा राष्ट्र कुनै पनि बेला महासंकटमा फस्न सक्छ भन्ने उदाहरणका रूपमा सुगौली सन्धिलाई लिन सकिन्छ । तर सन्धिपछिको दुई सय वर्षमा पनि नेपालले आत्मनिर्णयको अधिकार गुमाएको थिएन । पछिल्ला केही वर्षमा नेपालका सम्पूर्ण शक्ति अत्यन्त कमजोर भएका छन् । गणतन्त्रको घोषणापछि त यहाँ विदेशी शक्ति मात्र प्रबल बनिरहेको पाइन्छ । त्यसैले आउँदा दिनहरू झन् भयावह हुन सक्ने संकेत टड्कारो देखिएको छ ।
गोरखाका प्रथम शाहवंशीय राजा द्रव्यशाहलाई गद्दीमा राखेर सलामी अर्पण गर्ने नेपाली सेना राष्ट्रको एकीकरण र पुनर्एकीकरण गर्ने राष्ट्रनिर्माता शक्ति हो । त्यो कालखण्ड ९द्रव्य शाहको राज्याभिषेक १६१६ साल० देखि चार सय वर्षसम्म लगातार राष्ट्रको रक्षामा सेना अहर्निश क्रियाशील रहेको पाइन्छ । इतिहास साक्षी छ, राष्ट्र निर्माणमा राजा, सेना र जनताको योगदान अतुल्य रहेको छ । दलहरू त २००७ सालपछि मात्र उम्रिएका हुन् । त्यसैबेलादेखि सत्तामा पुग्नेबाहेक उनीहरूसँग कुनै महत्त्वपूर्ण योजना देखिँदैन ।
माक्र्स, लेनिन, माओ, गान्धी, जयप्रकाश नारायणलगायतका विदेशीबाट प्रभावित दलहरूले राष्ट्रवाद त्यागेर अरू वादलाई महत्त्व दिएका छन् । पछिल्ला वर्षहरूमा त इसाईवाद नै प्रबल देखिएको छ । छरपस्ट भएका बाईसे-चौबीसे राज्यलाई एउटै मालामा उनेर बलियो राष्ट्र बनाउने पृथ्वीनारायण शाहले 'दक्खिनका चतुर वादशाह' बाट राष्ट्रको रक्षा गर्ने मूल नीति बनाउँदा भारतीय भूखण्डमा पर्ने महाराष्ट्रका राजा छत्रपति शिवाजी जस्ता राष्ट्रवादी शासकलाई पनि माटो, धर्म र संस्कृतिको मर्म बचाउन हम्मेहम्मे परेको थियो । अंग्रेज, फ्रेन्च, मुसलमान, पोर्चुगिज, शक र हुणहरूको हमलाले थिल्थिलो भएको दक्षिणमा ५६५ राजालाई ब्रिटेनको झन्डामुनि राखिएको थियो, तर त्यस्तो अवस्थामा पनि राष्ट्रको अस्तित्व बचाए हाम्रा पुर्खाले ।
आज पृथ्वीनारायण शाहजस्ता प्रतापि पुर्खाप्रति श्रद्धासुमन अर्पण गर्न पनि हामी कन्जुस्याइँ देखाइरहेका छौँ । नेपाललाई पुनर्जीवन दिने पृथ्वीनारायणले आफूले मानेकै धर्म-संस्कृति सबैले स्वीकार गर्नुपर्छ भनेनन् । बोन, बौद्ध, हिन्दु, प्रकृतिपूजक मुसलमान आदि सबै उनका प्रजा थिए । नुवाकोटको दरबारमा भाइ-भारदारलाई राखेर उनले दिएको निर्देशनमा परम्परादेखि चलिआएका 'कुला-धर्म' सबैले मान्नू भनेका छन् । बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, योगी नरहरिनाथ, नयराज पन्त, बालचन्द्र शर्मालगायतका इतिहासकारहरूले पृथ्वीनारायणले नेपाललाई ठूलाठूला संकटबाट बचाएको चर्चा गरेका छन् ।
पृथ्वीनारायण कट्टरपन्थी, जिराहा, हठी, असहिष्णु र कठोर थिए भनेर केही इसाई इतिहासकारले अपव्याख्या गरेको कुरालाई नेपाली इतिहासकारहरूले खण्डन गरेका छन् । उनीहरूको तर्क छ, 'गोर्खा राज्य विस्तीर्ण भएर नेपाल पुनः एकीकरण गर्ने काम पृथ्वीनारायणले गरे, तर राष्ट्रलाई 'गोरखा' नभनेर नेपाल नै भने । किनभने नेपालको लिखित इतिहास पाँच हजार वर्ष पुरानो र यसको पहिचान संसारप्रसिद्ध छ ।' आफ्ना इष्टदेव गोरखनाथका नाममा मुद्रा चलाएका पृथ्वीनारायणले उपत्यकामा प्रवेश गरेर ललितपुरका इष्टदेव मत्स्येन्द्रनाथको नाममा 'लोकनाथ' नामको चाँदीका मुद्रा चलाएको पाइन्छ ।
कुमारीका हातबाट टीका र प्रसाद ग्रहण गरेर नेवारी संस्कृतिप्रति अगाध आस्था र सम्मान व्यक्त गरेको पाइन्छ । त्यसपछि काठमाडौं, पाटन र भक्तपुरका जनताले पनि उनलाई झिँगु जुजु (हाम्रा राजा) भन्न थालेका हुन् । धर्म, संस्कृति र परम्परा नमान्नेहरूले छल-बल र नक्कल गरेर चुनाव त जित्लान् तर जनताले 'हाम्रो' र 'राम्रो' भन्दैन । बलात्कारीले बलात् र क्षणिक भोग गर्छ, मन जिन सक्दैन । मन जित्न त प्रेम र विश्वास चाहिन्छ ।
नेपालको अस्तित्वमाथि नै प्रश्नचिन्ह लागेको अहिलेको परिस्थिति अत्यन्त विषम, विनाशकारी र विग्रहपूर्ण हुने अवस्था देखिएको छ । राष्ट्रका वैधानिक शक्तिहरू कमजोर बनिरहेका छन् । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, चौथो अंगलगायत सबैतिर बाह्य प्रभाव फैलिन थालेको पाइन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पोसाकमा धर्म, सदाचार, नैतिकता, एकता, सद्भाव र देशप्रेममाथि निर्मम प्रहार भइरहेको छ ।
राष्ट्रघात गराउन अर्बौं रुपैयाँ खर्च गरेर विदेशी नियोगहरूले प्रत्यक्ष र परोक्ष प्रहार गरिरहेका छन् । राष्ट्रमा बढेको संकटले समाधान होइन, महासंकटको संकेत गरेको छ । राष्ट्रध्वजा र जंगी निशानलाई घोप्टेभीरमा फ्याँकेर सुडान, अफगानिस्तान, लेबनान, इराक, अंगोला, मोजाम्बिक, कंगो र सियरालियोनमा जस्तै जातीय, क्षेत्रीय र साम्प्रदायिक फौज गठन गर्ने तयारी भित्रभित्रै भइरहेको बुझिन्छ ।
राष्ट्र होइन, लोकतन्त्र मात्र बचाए हुन्छ भनेर विदेशीले शिक्षा दिइरहेका छन् । यो राष्ट्रपतनको अर्को संकेत हो । विदेशीले जथाभावी गर्दा पनि जनताले एकीकृत भएर उनीहरूको करङ भाँच्ने साहस गरेको देखिँदैन । राजालाई दरबारबाट घरवारतिर फर्काउन सक्ने दलहरूले अवाञ्छित व्यक्ति (पर्सोना नन् ग्राटा) घोषणा गरेर नेपालमा गम्भीर षड्यन्त्र गरिरहेका राजदूतहरूलाई फिर्ता पठाउन दबाब दिएनन् भने चाँडै गृहयुद्धको सुरुआत हुने देखिन्छ ।
योगी नरहरिनाथले १७७३ सालको अभिलेखलाई प्रमाण मानेर बारपाक स्यार्तानका गुरुङ घले राजा चाँगे सुर्तानको प्रसंग उठाएका छन् । बारपाकका श्रीप्रसाद घलेका घरमा सुरक्षित रहेको भनिएको त्यो लालमोहरमा नेपालको प्राचीन महत्त्व झल्किने तथ्य छन् । योगी नरहरिनाथ र घान्द्रुक कास्कीका कृष्णबहादुर गुरुङले २०२० सालमा सम्पादन गरेको गुरुङ-मगर वंशावलीमा ती दुई जातिले नेपाल एकीकरणमा गरेको योगदानको चर्चा छ । त्यस्तै गुरुङ राजा अरमुडीको फौजसँग कालीगण्डकी क्षेत्रमा कास्मिरी सेना परास्त भएको उल्लेख छ ।
राष्ट्रका वैधानिक शक्तिहरू कमजोर बनिरहेका छन् । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, चौथो अंगलगायत सबैतिर बाह्य प्रभाव फैलिन थालेको पाइन्छ । राष्ट्रघात गराउन अर्बौं रुपैयाँ खर्च गरेर विदेशी नियोगहरूले प्रत्यक्ष र परोक्ष प्रहार गरिरहेका छन् । राष्ट्रध्वजा र जंगी निशानलाई घोप्टेभीरमा फ्याँकेर सुडान, अफगानिस्तान, लेबनान, इराक, अंगोला, मोजाम्बिक, कंगो र सियरालियोनमा जस्तै जातीय, क्षेत्रीय र साम्प्रदायिक फौज गठन गर्ने तयारी भित्रभित्रै भइरहेको बुझिन्छ ।
कल्हणकृत राजतरंगिणी ग्रन्थमा अरमुडीलाई छिटो-छरितो काम गर्ने विद्वान् पराक्रमी भनिएको छ । कालीगण्डकी पूर्वीतटमा लडाइँ भएको र नदीको पानी घुँडासम्म मात्र भएको अवस्थामा कास्मिरी सेनालाई अनायास ठूलो बाढीले बगायो भनिएको छ । गलेश्वर, तिप्लिङलगायत क्षेत्रमा गल्छी थुनेर बागलुङ, पाङ, पर्वत, कुस्मातिर आएका कास्मिरी सैनिकलाई बगाइदिएको हुन सक्छ भन्ने योगीको तर्क छ ।
आफ्नो माटो बचाउन पुर्खाले रगतसमेत बगाएको इतिहास पढ्दा हामी रोमाञ्चित हुने गर्छौं, तर राष्ट्रको बागडोर सम्हाल्नेहरू नै राष्ट्रघाती भए भने त्यस्तो राष्ट्र कति दिन सुरक्षित रहन्छ भनेर हामीले कल्पनासम्म गरेका छैनौँ । स्वतन्त्र नागरिक भएर होइन, दलको कार्यकर्ता मात्र भएर सोच्ने प्रवृत्तिका कारण बुद्धिजीवीहरूले समेत विश्वसनीयता गुमाइरहेको अवस्था छ । सप्तगण्डकी शुक्ला गण्डकी, त्रिशूली गण्डकी, बूढीगण्डकी, धर्मावती गण्डकी, चम्पावतीगण्डकी, मात्स्येन्द्रीगण्डकी र कृष्णगण्डकी (कालीगण्डकी) नदीका वरपर आज पनि धर्म, संस्कृति र राष्ट्रियताप्रति जुन प्रबल चेतना पाइन्छ, त्यो नमनयोग्य छ । मेची-कोशीतिर धर्म-संस्कृति धेरै कमजोर हुँदै गएको पाइन्छ भने तराईलाई नेपालबाटै अलग गरेर दक्षिणी सुडानजस्तो बनाउन खोजिएको छ ।
भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, 'शत्रुबाट देश, जाति, धर्म, संस्कृति र स्वतन्त्रताको रक्षा जसले गर्छ, क्षेत्री भनेको नै त्यही हो ।' पृथ्वीनारायणले नेपालको इतिहास, भूगोल, परम्परा, धर्म, संस्कृति र राष्ट्रियता बुझेर 'खस-मगर-गुरुङ-ठकुरीको चतुरंगिणी सेना अजेय हुन्छ' भनेका छन् । राष्ट्रको रक्षा गर्न अघि सर्ने सबैलाई भगवान् श्रीकृष्णले 'क्षत्री' भनेको हुँदा युद्ध मैदानमा जाने र राष्ट्र (क्षेत्र) को रक्षा गर्न तत्पर सबैको साझा चरित्रलाई 'क्षत्री' मान्नुपर्छ ।
तसर्थ राष्ट्र बचाउन अघि सर्नेहरूलाई जात, धर्म, सम्प्रदायमा विभक्त गर्न खोज्ने विधर्मी वा अधर्मीका कुरा सुनेर बस्नुभन्दा महासंकटको सामना गर्नुपर्ने बेला आएको छ । 'हामी सबै नेपाली हौँ' भन्ने उदात्त चिन्तनबाट अनुप्रणीत हुँदै नेपाललाई अखण्ड राख्न सके मात्र राष्ट्र सुरक्षित रहन सक्छ । राष्ट्रको पहिचान बिर्सेर ससाना कुरामा विभाजित हुँदा एक दिन नेपाल र नेपालीको पहिचान पनि गुम्न सक्छ । अहिलेको संकटले त्यही संकेत गरेको छ ।
प्रजातन्त्र गुम्यो भने फिर्ता हुन सक्छ तर एकपटक पराधीन वा क्षत्विक्षत् भएको राष्ट्र पुनः स्वाधीन र अखण्ड हुनै सक्दैन । त्यसैले राष्ट्र टुक्र्याउने संघीयता रोज्ने कि अखण्डता र स्वतन्त्रता ? आजको मूल प्रश्न यही हो ।