चलचित्र ‘पर्सनल' पनि होः राैनियार

चलचित्र ‘पर्सनल' पनि होः राैनियार

चलचित्र हाइवेबाट चर्चामा आएका दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य' अहिले चर्चामा छ । ८८ मिनेट लामो यो चलचित्र भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर गरिएको हो । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियामा समेत प्रदर्शन गरिएको यो चलचित्रमा दीपक रौनियार र डेभिट बार्करको सहलेखन रहेको छ । नेपालमा एक दशक चलेको द्वन्द्वकालमा सेना र माओवादीमा रहेका एकैघरका दाजुभाइ परिवर्तित परिस्थितिमा सहमतिको बिन्दु भेट्न गरेको संघर्ष चलचित्रमा उतारिएको छ । अहिले प्रदर्शनमा रहेको यस चलचित्रका बारेमा निर्देशक रौनियारसँग अशोकप्यासी राईले गरेको कुराकानीः

चलचित्र सेतो सूर्यको प्रतिक्रिया ?
यस प्रकारका चलचित्रमा प्रायः क्रिटिक्सको सकारात्मक तर दर्शकबाट नकारात्मक प्रतिक्रिया आउँथ्यो तर सेतो सूर्यबाट दुवैको राम्रो प्रतिक्रिया पाएको छु ।

दर्शकले चलचित्रको कुन पक्ष बढी मन पराए ?
दर्शकले चलचित्रको ‘मेटाफोर' मैले अपेक्षा गरेभन्दा राम्ररी बुझेको पाएँ । यो स्तरको दर्शक पाउनु हाम्रो लागि खुसीको कुरा हो ।

यो स्थितिसम्म आइपुग्न हामीले धेरै मेहनत गरेका छौं । अहिले हाम्रो शैली ‘मेन स्ट्रिम’ मा दरिएको छ । 

यसअघि त्यस्ता दर्शक थिएनन् र ?
थिए होलान् । तर हामीले निर्माण गर्ने शैलीका चलचित्रको सम्पर्कमा थिएन अहिले आउन थाले वा दर्शकले अब चलचित्र नयाँ ढंगमा बुझ्न थालेको हुनुपर्छ ।

यो विषयमा चलचित्र बनाउँछु भन्ने सोच कहिले आयो ?
सन् २००९ तिर मलाई यो विषयले हिट गरेको हो । मेरी श्रीमती आशा मगरातीले काभ्रेको एउटा ‘रिह्याब सेन्टर' को प्रमोसनल वृत्तचित्र बनाएकी थिइन् । एकजना माओवादी र अर्को सेनामा कार्यरत व्यक्ति एकै सेन्टरमा सेल्टर लिए आइपुगेछन् । उनीहरूको कुरा आशाले क्याप्चर गरेकी रहिछन् । त्यसपछि यो विषयमा चलचित्र बनाउन सकिन्छ भन्ने लाग्यो ।

चलचित्र बनाउन यति धेरै ग्याप किन ?
यसको तयारीका क्रममा चलचित्र हाइवेको कुरा आयो । त्यसमा लागें । यो विषय छँदै थियो । पछि परिस्थिति परिवर्तन भएकाले ‘रि थिंक' गरेर सेतो सूर्य बनाएको हुँ ।

सेतो सूर्य फिक्सन कि रियालिटी ?
रियालिटीमा आधारित शतप्रतिशत फिक्सन चलचित्र हो ।

माओवादी द्वन्द्वका विषयमा बनेका कुनै पनि चलचित्रले राम्रो प्रतिक्रिया नपाएको अवस्थामा त्यही विषयमा चलचित्र बनाउन जोखिम लागेन ?
माओवादी जनयुद्ध सुरु हुँदा म १७ वर्षको थिएँ । मेरो उमेरका नेपालीको जीवनमा सबभन्दा ठूलो प्रभाव पारेको घटना यही हो । त्यसैले यस विषयलाई पर्दामा उतार्नु मैले दायित्व सम्झें ।

विषय अर्थात् कथा अरू पनि हुन सक्न्थ्यो नि ?
माओवादी द्वन्द्वका विषयमा मलाई बम पड्काउने द्वन्द्वप्रधान र धेरै निराशाजनक चलचित्र बनाउनु थिएन । त्यसैले यो विषय मेरो रोजाइमा परेको हो ।

माओवादी द्वन्द्वका विषय वरिपरि बनेका चलचित्र हेर्नुभएको थियो ?
कालो पोथी, उमालगायतका चलचित्र हेरें तर ती चलचित्रले मैले भन्न खोजेको कुरा भनेन ।

यदि भनिदिएको भए ?
केही फरक पर्दैनथ्यो । चलचित्र भनेको ‘पर्सनल' पनि हो । यही स्क्रिप्ट अरूलाई दिएर चलचित्र बनाएको भए पनि मैले बनाएजस्तो नहुन सक्छ । किनकि विषयप्रति मान्छेको बुझाइ फरक हुन्छ । त्यसले चलचित्रलाई पनि फरक पार्छ ।

विश्वका दर्शकबाट कस्तो फिडब्याक पाउनुभयो ?
चलचित्रको प्रशंसा गरेका छन् । कथा भन्ने शैली, अभिनयदेखि वास्तविक चलचित्र भनेर प्रतिक्रिया दिएका छन् ।

नेपाली चलचित्रमा कथा भन्ने शैलीमा परिर्वतन आएको हो ?
पाँच वर्षयता धेरै परिवर्तन आएको छ । यस बीचमा निश्चल बस्नेत, रामबाबु गुरुङ, दीपेन्द्र के खनालजस्ता निर्देशक उदाए । यो स्थितिसम्म आइपुग्न हामीले धेरै मेहनत गरेका छौं । अहिले हाम्रो शैली ‘मेन स्ट्रिम' मा दरिएको छ ।

तपाईंले नाम लिएका निर्देशक र तपाईंमा चाहिँ के फरक छ ?
त्यस्तो फरक केही होइन हामी एकै स्ट्रिममा काम गर्ने मान्छे हौं । तर म अलि बढी मेहनत गर्छु, सोसियल्ली कन्सस चलचित्र बनाउँछु । जस्तो सेतो सूर्य बनाउन चार वर्ष लाग्यो । यो चारवटा चलचित्र बन्ने समय हो तर म त्यो सक्दिनँ ।

यो धारका चलचित्रको भविष्य कस्तो देख्नुभएको छ ?
राम्रो छ । पहिले नवीन सुब्बा, छिरिङरितार दाइको पालामा उहाँहरूलाई साथ दिने कमै थिए । तर अहिले एकपछि अर्को गर्दै धेरै प्रतिभावान् व्यक्ति यो स्ट्रिममा देखा परेका छन् । यो स्ट्रिमको चलचित्रलाई हाँक्न सक्ने इन्डिभिजुअल पावरका साथ धेरै निर्देशक आएकाले अब पछाडि फर्केर हेर्नु पर्दैन ।

अभिनेता अभिनेत्रीको पनि त भूमिका होला नि ?
किन नहुनु ? दयाहाङ राईलगायत केही अभिनेता नजन्मिएको भए यो धार यति शक्तिशाली नहुन सक्थ्यो । पाँच, सात वर्षअघिसम्म एउटा मंगोलियन युवा हिरो बन्न सक्छ भन्ने नेपाली चलचित्र उद्योगले कल्पनै गरेको थिएन ।

पुरानो धारका चलचित्रको पनि त दर्शक छन् नि ?
छ, त्यो राम्रो पनि हो । दर्शकका लागि च्वाइस हुनुपर्छ । हरेक शैलीका चलचित्र आउनुपर्छ ।

चलचित्र क्षेत्रतिर कसरी आकर्षित हुनुभयो ?
म पत्रकारितामा क्रियाशील हुँदा चलचित्रका बारेमा लेख्थेँ । चलचित्रका बारेमा पढ्दै जाँदा रुचि बढ्यो । अर्को कुरा त्यसबेलाका चलचित्रले नेपाली समाजलाई सम्बोधन गर्दैनथ्यो । परिवर्तित समयलाई लिएर कसै न कसैले नयाँ ढंगले काम सुरु गर्नुपर्ने अवस्था थियो । म त्यतै लागें ।

चलचित्र क्षेत्रमा लाग्दा परिवारको प्रतिक्रिया ?
बुवा एकदम डराउनुभएको थियो । त्यसबेला म बीबीसीमा काम गर्थें । ‘कर्फटेबल सेलरी' थियो । त्यो छाडेर यता लाग्दा परिवारमा चिन्ता हुनु स्वाभाविकै हो तर श्रीमती यही क्षेत्रको भएकाले साथ पाएँ । हामी मिलेर काम गर्दै अगाडि बढ्यौं ।

जे सोचेर लाग्नुभयो यो अवस्थासम्म आइपुग्दा त्यति गर्न सके जस्तो लाग्छ ?
चलचित्र क्षेत्रका लागि धेरै काम गरेँ । दर्शकले अहिले जसरी हामीलाई स्वीकार्नु भएको छ त्यसैको प्रतिफल हो । हुन त आर्थिक रूपमा अझै पनि संघर्षकै अवस्था छ तापनि यसबीचमा गरेका काम र प्रतिफल ठीकै लाग्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.