एक चीन नीतिमाथि ट्रम्पको आशंका
वासिङटनः अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट व्यापार लगायतका क्षेत्रमा सहयोग नमिलेको स्थितिमा ‘एक चीन' नीति पालना किन गर्ने भन्ने प्रश्न गरेका छन् । ताइवानलाई चीनको भूभाग मान्ने नीतिलाई ‘एक चीन' नीति भनिन्छ ।
चीनले ताइवानलाई आफूबाट अलग भएको एउटा प्रान्त मात्र मान्दै आएको छ । अमेरिकाले सन् १९६९ देखि ताइवानलाई हेर्ने चिनियाँ नीतिको सम्मान गर्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानलाई कहिले पनि सार्वभौम राष्ट्र स्वीकार भने गरेको छैन ।
चीनबाट अमेरिकालाई विशेष सहुलियत नहुने हो भने एक चीन नीति किन पालना गरिराख्ने भन्ने ट्रम्पको भनाइ छ । ट्रम्पले फक्स न्युजलाई भने, ‘म एक चीन नीति राम्ररी जान्दछु । यदि अमेरिकालाई व्यापारलगायतका क्षेत्रमा छुट हुँदैन भने हामी किन एक चीन नीति भनेर बन्धनमा रहने ? '
उनले चीनले अमेरिकामाथि कर लगाउँदै आएको पनि आरोप लगाए । उनले भने, ‘दक्षिण चीन सागरका बीचमा विशाल संरचना र टापु निर्माण गरेको छ । त्यहाँ ठूलो कर लगाउँदै आएको चीनले हामीलाई हानि पुर्याउने काम गरिरहेको छ । अमेरिकाले भने चीनमाथि कर लगाउन सक्दैन ।'
अमेरिकालाई आवश्यक परेको बेला चीनबाट कुनै सहयोग नमिलेको भन्दै उनले आक्रोश व्यक्त पनि गरे । अमेरिकाले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरमा शान्ति कायम गर्न चालेका कदममा चीन सकारात्मक नभएको ट्रम्पको भनाइ थियो । चीनले अमेरिकामाथि शासन चलाउन चाहने कुरा आफूलाई मान्य नभएको उनले स्पष्ट पारे ।
उनले भने, ‘स्पष्ट रूपमा भन्ने हो भने उत्तर कोरियाका विवादमा चीनले सहयोग गरेको छैन । चीन उत्तर कोरियाको छिमेकी र सुमधुर सम्बन्ध भएको देश पनि हो । चीनले यो समस्या समाधान गर्न सक्छ । अहँ, उसले कुनै पनि सहयोग गरेको छैन ।' ताइवानकी राष्ट्रपतिले ट्रम्पलाई बधाई दिएको विषयमा सोधिएको प्रश्नमा आफूले ताइवानी राष्ट्रपति साई इङ वेनसँग कुराकानी गरेको भन्दै उत्तर दिएका थिए ।
चीनले अमेरिकाविरोधीलाई सहयोग गर्ने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘एक चीन' नीतिप्रति प्रश्न उठाएपछि चीनले पनि कठोर कदम चाल्ने चेतावनी दिएको छ । व्यापारमा छुट पाउन ताइवान विवादलाई अमेरिकाले प्रयोग गरेमा अमेरिकाका शत्रुलाई चीनले सैन्य सहायता दिन सक्ने चेतावनी दिएको हो ।
‘ग्लोबल टाइम्स'को सम्पादकीयमा लेखिएको छ, ‘यदि डोनाल्ड ट्रम्पले एक चीन नीति पालना गर्दैनन्, सार्वजनिक रूपमै स्वतन्त्र ताइवानको पक्षमा उभिन्छन् र ताइवानलाई हतियार बेच्छन् भने चीनले पनि अमेरिकासँग अन्तर्राष्ट्रियस्तरमा राखिएको साझेदारी पालना गर्न जरुरी छैन । अमेरिकालाई रोक्न चीनले आफ्नो सेना प्रयोग गर्नेछ ।'
सम्पादकीयमा ट्रम्पलाई सोझो व्यक्ति भएको उल्लेख गरिएको छ । एक चीन नीति प्रयोग गरेर अमेरिकाको व्यापारिक लाभका लागि प्रयोग गर्न खोजेका र त्यसको असरबारे उनले ख्याल नगरेको उल्लेख गरिएको छ । व्यापारिक सोच मात्रै राखेको भनेर सम्पादकीयमा ट्रम्पको आलोचना पनि गरिएको छ ।
एक चीन नीति व्यापार गर्नका लागि नबनाइएको पनि स्पष्ट पारिएको छ । ट्रम्पले प्रत्येक चिज किनबेच गर्न सकिन्छ भन्ने मान्यता राखेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । सम्पादकीयमा भनिएको छ, ‘यदि कसैले अमेरिकाको संविधानको मूल्य तोकिदियो भने अमेरिकी नागरिक आफ्नो संविधान बेचेर साउदी अरेबिया वा सिंगापुरको राजनीतिक व्यवस्था लागू गर्छन् त ? '