गाउँमा महिलाकै भर
लिबाङ: रोल्पा कोर्चाबाङ २ की दलसरी घर्तीमगरलाई सुत्केरी व्यथा लागेपछि महिलाहरू जम्मा भएर उनलाई स्वास्थ्य संस्थामा लैजान डोको तयार पारे । व्यथाले छटपटाइरहेकी दलसरीलाई डोकोमा राखेर दुई घन्टामा स्वास्थ्य संस्था पुर्याइयो । त्यहाँ उनी सुरक्षित रूपमा सुत्केरी भइन् ।
धबाङ ७ की धनकली रोकामगर एक साताअघि बिरामी परिन् । उनलाई गाउँको स्वास्थ्य संस्थामा उपचार सम्भव भएन । बोकेर सदरमुकाम लिबाङ ल्याउनुपर्यो । युवा पुरुष नभएकाले महिला नै कस्सिए । उनीहरूले डोको काटेर बिरामी बोक्न मिल्ने गरी तयार पारे । महिलाले आलोपालो गरी बिरामी बोकेर तीन घन्टामा सदरमुकाम लिबाङ पुर्याए ।
रोल्पाली गाउँमा बिरामी बोक्नुपर्ने बाध्यताका नमुना हुन् यी । गाउँमा सडक नपुगेको र पुगेका ठाउँमा पनि एम्बुलेन्सलगायत सवारीसाधन बेलैमा नपाइँदा बिरामीलाई डोकोमै बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ ।
साँघुरा बाटोमा बिरामी बोक्न गाह्रो हुन्छ । त्यसमा पनि गाउँ 'स्टेचर' नपाएपछि समस्या हुने गरेको छ । 'परम्परादेखि गाउँलेले डोकोमा बिरामी बोक्दै आएका छन्', कोर्चाबाङ २ ज्याङका समाजसेवी कमन बुढामगरले भने, 'गाउँमा यातायातको पहुँच छैन । डोकोमा बोक्नुको विकल्प छैन ।' डोकोमा बिरामी बोक्न जनशक्ति कम लाग्ने उनको भनाइ छ ।
जिल्ला अस्पताल, सामुदायिक प्रहरी, रेडक्रस र केही क्लबसँग एम्बुलेन्स नभएका होइनन् । ती सबै सदरमुकाम आसपासमात्र केन्द्रित छन् । एम्बुलेन्स उपलब्ध भए पनि विपन्न परिवारले बिरामीका लागि एम्बुलेन्स 'रिजर्भ' गर्न सक्दैनन् । 'गरिबको पहुँचमा डोकाको विकल्प छैन । गाउँले सबैले एम्बुलेन्सको खर्च बेहोर्न सक्दैनन्', नेत्र निम्न माध्यमिक विद्यालय कोर्चाबाङकी शिक्षिका अमृता घर्तीमगरले भनिन्, 'गाउँलेले डोकोमा बोकेरै बिरामी स्वास्थ्य संस्था पुर्याउँछन् ।'
धामीझाँक्रीको भर पर्ने चलन कायमै रहँदा धेरैजसो बिरामीलाई उसको अवस्था कमजोर भएपछि मात्रै अस्पताल लगिन्छ । डोकोमा बिरामी बोकेर अप्ठ्यारो बाँटो हिँड्न जोखिम हुने भन्दै कतिपय गाउँमा आमा समूह र स्वास्थ्य संस्थाले स्टेचर वितरण गरेका छन् । ती अपर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव कुलबहादुर डाँगीले बताए । 'अप्ठ्यारो बाटोमा बिरामी बोकेको मान्छे लडेपछि डोकोबाट बिरामी खस्ने जोखिम हुन्छ', उनले भने, 'दुर्घटना हुन सक्ने भएकाले स्टेचरमा लैजाँदा बोक्नेमध्ये कोही लडे पनि बाँकी मान्छेले जोगाउन सकिन्छ ।'
भौगोलिक विकटता र आर्थिक अभावका कारण धेरैजसोले डोकोमै बोकेर बिरामी ल्याउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँका स्वास्थ्य संस्थामा पनि बोकेरै बिरामी ल्याउने गरिन्छ । जिल्ला अस्पताल रेउघामा भने सडकले जोडिएका ठाउँबाट सार्वजनिक सवारीमा बिरामी ल्याउने गरिएको छ । जिल्ला अस्पतालमा दिनहुँ तीन दर्जन बिरामी आउँछन् । रोजगारीका लागि पुरुष विदेशिएपछि गाउँमा महिलामात्र छन् । कोही बिरामी परेपछि स्वास्थ्य संस्थासम्म लैजान महिला नै अग्रसर हुनुपर्छ ।