खबरदार, शिक्षाको बिरुवा ननिमोठ !

खबरदार, शिक्षाको बिरुवा ननिमोठ !

एउटा प्राचीन भनाइ नै छ, सानोभन्दा सानो वृक्ष जोगाउन पनि अनेक दुःखकष्ट सहनुपर्छ । त्यसलाई हुर्कन नदिन अनेक तत्त्व वाधा-अवरोध बनेर आउँछन् । निमोठेर फ्याँक्न चाहनेहरू समाजमा कम छैनन् ।

अवरोधहरूबाट बच्यो भने मात्र त्यो वृक्ष हुर्कन्छ । त्यसमा फूल लाग्न थाल्छ । त्यही फूल चिचिला बन्छ । अनि फल चुँड्नेहरू उद्यत् हुन थाल्छन् । फल झन् आकर्षक बन्दै जान थाल्छ । फल पाक्न थालेपछि त त्यो चित्ताकर्षक नै देखिन थाल्छ । त्यसपछि त्यो आकर्षक, बास्नादार, रसिलो र गुणकारी फल नचाहने कोही हुँदैन । त्यसलाई बेचेर पैसा कमाउन चाहने दलाल, व्यापारी र त्यो रुख भएको जमिनमै कब्जा जमाएर हडप्न चाहनेहरूको संख्या अझ बढी देखिन्छ ।

यही वृक्षको जस्तो हालतमा यतिखेर काठमाडौं विश्वविद्यालय परेको छ । पच्चीस वर्षअघि यो विश्वविद्यालय स्थापना भइरहँदा अरू पनि विश्वविद्यालयहरू खुल्न सक्थे । तिनको नाम यो विश्वविद्यालयको काठमाडौं रहेजस्तै भक्तपुर, ललितपुर वा जुम्ला, हुम्ला वा डोल्पा वा तराई, मधेस वा ताप्लेजुङ, पाँचथर र इलाम विश्वविद्यालय नै हुन सक्थ्यो । काठमाडौं विश्वविद्यालय खुलेजस्तै अरू विश्वविद्यालय खुलेनन् । तर जब काठमाडौं विश्वविद्यालयरूपी बिरुवा हुक्र्यो र फूल फुलेर ढकमक्क भयो ।

फल लाग्यो । देश विदेशमा यो विश्वविद्यालयको हररर बास्ना चल्न थाल्यो तब यो फूल र फलरूपी काठमाडौं विश्वविद्यालय टिप्न चाहनेहरूको संख्या नपत्याउने गरी देखिन थालेको छ । काठमाडौं विश्वविद्यालयरूपी फल र फूल यतिखेर धेरैलाई चाहिएको छ ।

केयूसँग जोडिएपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय रूपमा धेरै इज्जत, प्रतिष्ठा पाइन थालेकाले नै संवेदनशील क्षेत्र र विराधीहरूलाई काठमाडौं विश्वविद्यालय, यसको नेतृत्व चाहिएको हो । केयूको रसपान गर्न नै यस वरिपरि झिँगा भन्कन लागेको हुनुपर्छ । काफल पाकेपछि चरीहरू बोटवरिपरि झुम्मिन थाले झैं केयूमा चरीहरू झुम्मिन थालेका छन् । कहिल्यै नदेखिएका चरा मात्र होइन, घरपालुवा जनावर पनि काफल खान लोभिइरहेछन् । कतिपय त काफलको बोट ढाल्नै उद्यत् देखिँदै छन् ।

तर काठमाडौं विश्वविद्यालय त्यत्तिकै यो अवस्थामा आइपुगेको होइन । यसका संस्थापकहरूले मेहनत, पसिनाको सुनकोसी बगाएका छन् । जीवनको सम्पूर्ण ज्ञान र इमानदारी यसैको श्रीवृद्धिमा लगाएकाले नै देशकै जेठो त्रिभुवन विश्वविद्यालय ओरालो लागिरहँदा काठमाडौं विश्वविद्यालय उच्च स्थान बनाउँदै ख्याति कमाइरह्यो ।

काठमाडौं विश्वविद्यालयका योजनाकार संस्थापक उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्मा हुन् । डा. शर्मा दुई दसकसम्म केयूको प्रमुख रहे । उनले नै यो विश्वविद्यालयको जग हालेर यसलाई फैलाएका हुन् । उनले बिदा लिएपछि चार वर्षअघि प्राध्यापक डा. रामकण्ठ मकाजु केयूका उपकुलपति बने । उनको पहिलो कार्यकाल गत आइतबार सकियो, सोमबारदेखि केयूको भीसी पद रिक्त रहेको छ । न मकाजुको कार्यकाल थपियो न त नयाँ भीसी नै पद बहाल भए । किन काठमाडौं विश्वविद्यालयजस्तो जीवन्त संस्थाको भीसी बनाउने विवाद उत्पन्न भयो ? त्रिभुवन विश्वविद्यालयजस्तै यो पनि उपकुलपतिविहीन के कारणले हुन पुग्यो ? सर्वत्र यही सवाल उठिरहेछ !

जवाफ सरल छ । राजनीतिक भागबन्डा र सत्तामा हुनेहरूको स्वार्थको सिकार बन्न पुगेको हो केयू ! सर्वमान्य भनाइ नै छ, बौद्धिक र प्राज्ञिक बेइमानी भएको देश उँभो लाग्दैन । महत्त्वपूर्ण कुरा के भने प्राज्ञिक र बौद्धिक मानिसले सेतोलाई सेतो र कालोलाई काल भन्न सक्दैन भने त्यो बौद्धिकता पनि उँभो लाग्दैन ।

डा. गोविन्द केसी पटकपटक आमरण अनशन बसेर शिक्षा र स्वास्थ्यको आधारभूत कुरा उठाइरहेछन् । झट्ट सुन्दा उचित जस्तै लाग्छ तर केसीलाई ठडाएर, उनका वरिपरि बस्नेहरूले सिन्डिकेट चलाई कमाउधन्दा मौलाइरहेछन् तर अर्को पक्ष जो रोकिएको छ, उसलाई यसबाट बेफाइदा भइरहेको छ, एक प्राध्यापकले भने । आफ्नो कुरा प्रस्ट पार्न उनले थपे, स्वास्थ्य र शिक्षामा सिन्डिकेट छ र माफिया हाबी छ । गोविन्द केसीको पक्षमा लाग्नेहरू, जसले लाइसेन्स पाएर मेडिकल शिक्षाको सिन्डिकेट चलाउँदै ब्रह्मलुट गरिरहेका छन्, उनीहरू केसीलाई अनसन राख्न उकास्छन् । यसले नै उनीहरूको लुटको दोकान सुरक्षित राख्छ ।

कुरा प्रस्ट छ, ती प्राध्यापकले समस्या औंल्याउदै भने मेडिकल सम्बन्धन जसले दिलाउँछ, उसले अहिले दश करोड रुपैयाँ पाउँछ । मेडिकल शिक्षाको मात्र के कुरा, कलेजको मात्र दिलाउन सके २०/२५ र स्कुलको दिलाउन सके १२/१५ लाख बजार भाउ पुगेको छ । यही बजार भाउ बढाबढमा काठमाडौं विश्वविद्यालयलाई नै पारिएको कारण हो, उपकुलपति नियुक्तिमा ढिलाइ र अन्योल । तर डा. रामकण्ठ मकाजु जस्ता व्यक्तिलाई यो घानमा पारेर गाल्न खोज्नेहरू नै यो घटनामा उदांगिएर पर्दाफास भइरहेका छन् ।

किनभने मकाजु धुलिखेल अस्पतालका स्वप्नद्रष्टा र कुशल व्यवस्थापक हुन् । छँदाखाँदाको विदेशको जागिर छोडेर उनी ०५० सालमा नेपाल आए र आफ्नै गाउँ धुलिखेलमा साथीभाइसँग अलीअली पैसा जम्मा गर्दै अहिलेको चार सय ७६ बेडको अत्याधुनिक धुलिखेल अस्पताल स्थापना गरेका हुन् । माकजुले धुलिखेलकै डा. राजेन्द्रप्रसाद कोजुँलाई सरकारी जागिर छोडेर गाउँमै सामुदायिक अस्पताल चलाउन सहमत गराउँदै चल्न थालेको यो अस्पतालमा अहिले एक सय ५० डाक्टर कार्यरत छन् । राजधानीका ठूला भनिने अस्पताल मात्र होइन, देशभरबाटै बिरामीको जाँचबुझ निम्ति सहयोग लिन आउँछन् ।

मेडिकल कलेजको रूपमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर मेडिकल स्कुल चलिरहेको छ । यहाँबाट हरेक वर्ष ७५ जना एमबीबीएस, नर्सलगायतले शिक्षा पाइरहेका छन् । सरकारले पैसा तिरेर डाक्टरी पढाइरहेको टिचिङ अस्पतालबाहेक यो मेडिकल कलेज नै सबैभन्दा सस्तो हो । यहाँ अहिले ३२ लाख ९० हजारमा एमबीबीएस पढाइ भइरहेको छ ।

सरकारी बजेटमा चलेको अस्पताल होइन यो । सुरुमा पाँच, त्यसपछि दस, पच्चीस र अहिले चालीस रुपैयाँ तिरेर बिरामी अस्पतालमा रजिस्टर गरेपछि उसले जुनसुकै डाक्टरलाई जचाउन पाउँछ । स्पेसलिस्टले हेरे पनि पैसा त्यही हो, अतिरिक्त तिर्नुपर्दैन । गाउँबाट आएका बिरामीले उपचार नगराई फर्कन नपरोस् भनेर डाक्टरहरू साँझसम्म नै बस्छन् र बिहान नौ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी खुलिरहन्छ । यति लामो समयसम्म ओपीडी खुल्ने देशको यो मात्र एक अस्पताल हो ।

भर्ना भएर बेडमा राखेको बिरामीले दैनिक दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । यो शुल्कभित्र बिरामीलाई चार छाक खाना र डाक्टरले जाँचेको र नर्सले सेवा गरेको पनि पर्छ । भर्ना हुने वा जाँचबुझ गराउन आउने सहर वा गाउँका बिरामीले अस्पतालबाट एउटै सेवा पाउँछन् । यहाँ क्याबिनको व्यवस्था पनि छैन । यति ठूलो अस्पतालमा जम्मा एउटा क्याबिन छ र त्यसमा अरू बिरामीबाट अलग्याउनुपर्ने बिरामीलाई मात्र राखिन्छ ।

यो अस्पताल सञ्चालनको अवधारण डा. रामकण्ठ मकाजुको हो । यहाँ धनी, गरिब, दुःखी, सुखी, धेरै तिर्ने र तिर्न नसक्ने बिरामी भनेर वर्गीकरण गरिँदैन । बिरामी आएपछि पैसा डिपोजिट गर अनि मात्र उपचार गरिन्छ पनि भनिँदैन । बिरामीको तुरुन्त उपचार सुरु गरिहालिन्छ ।

पैसा ? पैसामा हामी कसैलाई पनि जबर्जस्ती गर्दैनौं । सकेसम्म जुटाउ भनिन्छ । हामीलाई विश्वास छ, अहिलेसम्म पैसा भएर पनि नतिरेको उदाहरण यहाँ छैन, डा. कोजुले भने । हुँदै नभएकोलाई हामी निःशुल्क गर्छौं ।

गैर नाफामूलक संस्थाको रूपमा स्थापित यो अस्पतालमा कार्यरत डाक्टर, कर्मचारीको संख्या हजार बढी छ । सबैले तलब सुविधा पाउँछन् । डा. कोजुले भने, मकाजु भन्नुहुन्छ- दैनिक अस्पताल खर्च बिरामीले तिरेको पैसाबाट चलाउनुपर्छ र भौतिक पूर्वाधार र उपकरणको लागि हामी बाहिरबाट सहयोग खोज्छौं । यसको अर्थ हो, नेपालीको पसिनाले उत्पादन भएका सामान नेपाली पैसाले नै किन्नुपर्छ र विबदेशीले बनाएका सामान किन्न उनीहरूकै पैसा उपयोग गर्नुपर्छ ।

अस्पतालका डाइरेक्टरदेखि नर्स, विद्यार्थी मात्र होइन, बिरामीहरूले पनि एउटै भान्छामा पाकेको एउटै खाना खाने हुनाले यहाँ विभेद होइन, समता देखिन्छ ।

०७२ वैशाखको भूकम्पमा यो अस्पतालले गरेको उपचारलाई उदाहरणीय मानिन्छ । सरकारले पनि हामीले दिएको सेवालाई हेरेर यो भेगको हब नै भन्यो धुलिखेल अस्पताललाई । तीन हजार घाइतेको उपचार यो अस्पतालबाट भयो । डाक्टर÷नर्सले दिनरात नभनी काम गरे । अचम्म यहाँ एकजनाको पनि मृत्यु भएन । एकदुईको हात/खुट्टा भने काट्नुपर्‌यो ।

त्यतिबेलाको अवस्थाबारे बताउँदै डा. कोजुले भने, भुइँचालो गएको एक घन्टाभित्रै हामीले युद्धस्तरमा उपचार सुरु गर्‌यौं । अस्पताल मानिसहरूले टनाटन भरियो । पैसा सामान कहाँबाट ल्याउने ? मैले डा. मकाजुसँग प्रश्न गरें, उहाँले तत्कालै जवाफ दिनुभयो, अस्पतालको भण्डार खोल । यस्तो बेलामा दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न सक्दैनौं भने यो अस्पताल किन चाहियो ?

नेपालकै नमुना अस्पताल बनाउन मात्र होइन, डा. सुरेशराज शर्माले केयू छाडेपछि अब यो विश्वविद्यालय पनि खत्तम हुन्छ । त्रिभुवन र अन्य विश्वविद्यालय झैं यो पनि ओरालो लाग्छ, बिग्रन्छ र दलदलमा फस्छ भन्नेहरूका भनाइलाई गलत सावित गर्दै मकाजुले आफ्नो उपकुलपतित्वमा विश्वविद्यालयलाई झन् परिमार्जन गर्दै राम्रा काम अगाडि बढाए । केयूलाई विवादरहित रूपमा चलाएर देखाए । केयूको साख जोगाउँदै अझ सुदृढ बनाए । नयाँ कार्यक्रम थपसमेत गरे ।

केयूको बाईसौं दीक्षान्त समारोहमा उपकुलपतिको आसनबाट बोल्दै डा. रामकण्ठ मकाजुले भनेका थिए, प्रत्येक विद्यार्थीको मस्तिष्कमा सार्थक सपनाहरू भरिदिने र असम्भव देखिएका कामलाई सम्भव बनाउन सहयोग गर्ने ठाउँ नै मैले कल्पना गरेको विश्वविद्यालय हो ।

जहाँ पढाएको विषयको भन्दा गरेका कामको बढी मूल्य हुन्छ र सबै विधाका मानिस बसेर प्राज्ञिक बहस गर्ने वातावरण हुन्छ । जसले समुदायमा गाभिएर रोजगार सिर्जना गर्छ र समाज परिवर्तनमा अमूल्य योगदान पुर्‌याउँछ । जसले आपसमा हातेमालो गरेर सहयोग गर्ने संस्कार बसाउँछ र समाजमा मिलिजुली बसेका मानिसबीच फाटो नल्याई एकअर्काको अझ नजिक ल्याउँछ । जहाँ विशेषज्ञ र विद्वान्हरूको जस्तै दिनहुँ माटोमै रहेर परि श्रम गरिरहने विपन्न किसानको पनि सम्मान हुन्छ ।

जहाँ संसार परिवर्तन गर्ने खालको भाषण गरेर पनि काम नगर्ने मान्छेको सट्टा काखमा नानी च्यापेर नदीको किनारमा ढुंगा फुटाइरहेकी गरिब महिलाको श्रमको महत्त्व हुन्छ । जसले विदेशमा श्रमिक बनेका हजारौं युवाको हितको लागि भनेर गरिने फोस्रा गफको सट्टा त्यस्ता युवाहरूले बगाएका पसिनालाई बढी महत्त्व दिन्छ ।

यसकै लागि आफ्नो टिमले गाउँ र विद्यार्थी मैत्री विश्वविद्यालय बनाउने अवधारणाअनुरूप काम गरिरहेको डा. मकाजुले घोषणा गरेका थिए । उनले केयू रजतजयन्ती अवधारणा- २०३० तयार गरेर ६ वटा अवधारणा, गुणस्तर, प्रभाव, समता, विश्वस्तरीय संलग्नता, नवीनता, केयूको ब्रान्डको रूपमा पहिचान बनाउन इतिहासका साक्षी मात्र होइन, इतिहास रच्ने महत्त्वाकांक्षी योजना अगाडि सारेका थिए । यति नै बेला उनले कवि रवीन्द्रनाथ ठाकुरको कालजयी कविता सुनाए-

जहाँ दिमाग डर, भयबिीना रहन्छ, त्यो शिर उच्च रहन्छ
जहाँ ज्ञान स्वतन्त्र हुन्छ, त्यहाँ सिंगो संसार नै
सानासाना सिमानाका पर्खालले विभाजित हुँदैन । - भावानुवाद ।

समाधान के ?

केयू उपकुलपतिको नियुक्तिको यो प्रसंगको समाधान निम्न पाँच बुदा हुन सक्छ, एक प्राज्ञिकले बताए-
- डा. मकाजुको म्याद सकियो, थप एक कार्यकाल उनले सुरु गरेको र गर्न लागेका सुधारका काम पूरा गर्न देऊ, माओवादी स्वार्थ पूरा गर्ने सर्तमा होइन ।
- स्वतन्त्र रूपमा काम गर्न दिँदैनन् भने म बन्दिनँ उपकुलपति भन्ने घोषणा गर डा. मकाजु ।
- केयूलाई सम्बन्धनको व्यापारबाट मुक्त राख्ने हो भने राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै स्वतन्त्र, प्राज्ञिक संरचनाको योजना विधि र कार्य प्रणाली बनाऊ । यहीअनुरूपको नयाँ प्रक्रियामा जाऊ ।
- शिक्षामन्त्री धनीराम पौडेल, पूर्व उपकुलपति डा. सुरेशराज शर्मा र पूर्वसभामुख दमननाथ ढुंगानाको उपकुलपति सिफारिस समितिले पेस गरेको नामलाई दायाँबायाँ नगरी तत्काल नियुक्त गर ।
- पाँचौं विकल्पको रूपमा माथिको कुनै एक विकल्प कार्यान्वयन गर । यसबाट केयूको साख जोगिन्छ । प्राज्ञिक मर्यादा कायम हुन्छ र सिफारिस गर्न गठन भएको सिफारिस समितिका सदस्यहरूको पनि हाम्रो सिफारिस सही भएकोले त्यो कार्यान्वयन हुनुपर्छ भन्ने उत्तरदायित्व पनि सुनिश्चित हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.