राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश

गत साता सामाजिक सञ्जाल एवं टीभी च्यानलहरूमा एउटा खबर प्रसारित भयो । त्यो थियो– नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईलाई पोखरामा एकजना विबद्यार्थीले जुत्ता प्रहार गरेको घटना । अर्को दिन भट्टराईमाथि जुत्ता प्रहार गरिएको नभई उनीविरुद्ध कालो झन्डा प्रदर्शन मात्र गरिएको रहेछ भन्ने सुनियो ।

यसैबीच भट्टराईले ट्विट्मार्फत सञ्चारमाध्यमप्रति लक्षित गर्दै पोखरा कार्यक्रममा एकजना व्यक्तिले कालो झन्डा देखाएको प्रसंगलाई अनावश्यक प्रचारबाजी गर्नेहरूले आफूलाई अनेकौं व्यक्तिहरूले सोही कार्यक्रममा इज्जत र सम्मान गरेको विषय भनी प्रसारण नगर्नु दुःखद र पूर्वाग्रही व्यवहार हो भन्ने सार्वजनिक गरेछन् ।

भट्टराईलाई उनका समर्थकहरूले जयजयकार गरेको भनाइ प्रसारण नगरेर एकजना असन्तुष्ट नागरिकले कालो झन्डा प्रदर्शन गरेकोलाई प्राथमिकता साथ प्रसारण गर्ने कार्यको पछाडि सञ्चारमाध्यमहरूको के उद्देश्य थियो, त्यो छुट्टै छलफलको विषय होला ।

जुत्ता प्रकरणसँग सम्बन्धित अर्को के पनि छ भने जतिबेला सञ्चारमाध्यममा भट्टराईमाथि जुत्ता प्रहार भएको समाचार प्रसारण भइरहेको थियो, त्यसै अवधिमा एउटा टीभी च्यानलको जनअभिमत कार्यक्रममा मत व्यक्त गर्नेहरूले भट्टराई (नेता) लाई कथित जुत्ता प्रहार गरिएको विषयलाई गलत भनेनन् । उनीहरूले त्यस किसिमको कार्यलाई राजनीतिक नेतृत्वको भ्रष्ट, जनविरोधी, राष्ट्रघाती क्रियाकलापविरुद्ध स्वाभाविक प्रतिक्रिया हो भन्दै यस्तै अवस्था रहिरहेमा भविष्यमा जनताले राजनीतिक नेताहरूविरुद्ध खुकुरी प्रहार गर्न पछि पर्ने छैनन् सम्म भने ।

जनताद्वारा व्यक्त यस किसिमको विचारलाई सामान्य मान्न मिल्दैन । किनभने यो पूर्वाग्रहवश व्यक्त नभएर राजनीतिक नेतृत्वको व्यवहारबाट सिर्जित प्रतिक्रिया थियो ।

राजनीतिक नेताहरूप्रति नेपाली जनताद्वारा आक्रोश प्रकट गरिएको यो नौलो घटना भने होइन । यसअघि एमाले नेता झलनाथ खनाल, कांग्रेस नेता सुशील कोइराला एवं माओवादी नेताहरू झक्कुप्रसाद सुवेदी र पुष्पकमल दाहालमाथि कार्यकर्ता एवं जनताद्वारा थप्पड एवं कुर्सी प्रहार भएको थियो । अनि भट्टराई घटनामा जस्तै उनीहरूका समर्थकहरूले त्यस किसिमको प्रहार गर्नेलाई कुटपिट गरी प्रहरीलाई जिम्मा लगाउने कार्यसमेत गरेका थिए ।

त्यसो गर्दा पनि नेतृत्वविरुद्ध आक्रोशका घटना रोकिएका छैनन् । अझ कुरो यतिमै टुंगिदैन । यस सम्बन्धमा चर्चा गरिरहँदा, यसरी एक्लो र निहत्था नागरिक नेतामाथि जाइलाग्ने कार्य एउटा व्यक्तिको सनक हो वा राजनीतिक नेतृत्वले गर्ने व्यवहारलाई दण्डित वा नियन्त्रित गर्ने प्रयास भन्नेबारेमा स्पष्ट हुनुपर्छ ।

कारण जनता नेताहरूका व्यवहारबाट आजित भएर आफैँ तिनीहरूलाई भौतिक रूपबाट दण्डित गर्न अगाडि सरेका हुन् भने यो गम्भीर विषय हो । यसबारे नेतृत्वले नचाहिने तर्क झिकेर आफूलाई निर्दोष र आक्रोश व्यक्त गर्नेहरूलाई सनकी एवं अपराधी साबित गर्न खोज्नुभन्दा समयमै सचेत हुनु र आफ्ना राष्ट्र एवं जनविरोधी गतिविधि सच्याउन आवश्यक छ ।

हुन त नेपाली समाजमा हिजोआज नागरिकहरूले सहनुपरेका अपमान र व्यथाहरू हेर्ने हो भन्ने राजनीतिक नेताहरूको विरोधमा प्रकट भइरहेका यस किसिमका घटनाहरूलाई सामान्य र स्वाभाविक मान्नुपर्दछ । यतिबेला नेपाली समाज असहिष्णु र अराजक बन्न पुगेको छ । जसको प्रत्यक्ष मार सर्वसाधारणले व्यहोर्नु परिरहेको छ ।

यो प्रवृत्ति कुनै एक क्षेत्रमा मात्र नभएर समाजको हरएक क्षेत्रमा देख्न पाइन्छ । जसको परिणाम समाजको जुनसुकै क्षेत्रका सदस्यहरू तर्क र औचित्यमा भन्दा हठ, बल र जबर्जस्तीमा विश्वास गर्ने भएका छन् । कहीँ-कसैले अर्कोलाई सम्मान र इज्जत गर्दैन । यो कुरा यातायातका साधनहरूमा यात्रा गर्दा बढी देख्न पाइन्छ । त्यहाँ यातायातकर्मीहरूद्वारा यात्रुहरूप्रति अशिष्ट व्यवहार, गालीगलौज र बल प्रयोगजस्ता कुरा सामान्य हुने गर्दछन् । यही अवस्था उपभोक्ताहरूले बजारबाट उपभोग्य वस्तु खरिद गर्दा पनि भोग्नुपर्ने हुन्छ ।

अझ नागरिकले सरकारी कार्यालयबाट कुनै सेवा वा काम लिँदा कर्मचारीहरूबाट खेप्नुपर्ने अपमानको कुरा गरिसाध्य छैन । ‘राष्ट्रसेवक’ भनिने कर्मचारीहरूले नागरिकलाई सेवा प्रदान गर्दा अपमान गर्ने मात्र नभई उनीहरूबाट रीसवत नलिई कुनै कार्य नै गर्दैनन् । एवं प्रकारले राजनीतिक पार्टी एवं तिनका जनवर्गीय संगठनका सदस्यहरूले चन्दा एवं आर्थिक सहयोग लिन सर्वसाधारण एवं पेसाकर्मीहरूलाई तर्साउने, जबर्जस्ती गर्ने कार्य गर्दछन् ।

कहाँसम्म भने गुन्डा एवं आपराधिक समूहका सदस्यहरूले व्यापारी, व्यवसायी, पेसाकर्मी र नागरिकलाई तर्साएर रकम असुल्ने गरेका घटनाहरू सामान्य हुने गरेका छन् । उनीहरूले यी सबै कार्य राजनीतिक दलका नेताहरूको आडभरोसामा गरिरहेका हुन्छन् । तर दलका नेता एवं सदस्यहरूले जनताका पक्षमा आवाज उठाउँदैनन् ।

बरू उल्टै प्रहरी कारबाहीमा मारिएका डनहरूलाई सहिद घोषणा गर्ने र सार्वजनिक स्थलमा तिनको सालिक राख्न माग गर्ने गर्दछन् । यी र यस किसिमका क्रियाकलापले राजनीतिक नेताहरू कुन उद्देश्यको लागि परिचालित छन् भन्ने प्रस्ट हुन आउँछ ।

समाजमा विशेष स्थान ओगट्नेहरू नै जनतालाई प्रताडित गर्ने कार्यमा संलग्न हुन थालेपछि जनता तिनीहरूप्रति आक्रोशित हुनु स्वाभाविकै हुन जान्छ । कथित नेतृत्वको यस किसिमको व्यवहारका दुईखाले परिणाम देखिन्छन् । एउटा, यसले नेपाली समाजको तल्लो तहसम्म असहिष्णुतालाई संस्थागत गरेको छ ।

जनताको आक्रोशले भयानक स्वरूप ग्रहण नगर्दै राजनीतिक नेतृत्वले आफ्नो आचरण एवं कार्यशैली सुधार्ने र समाजमा कुनै पनि स्वरूपमा जनतामाझ भेदभाव गर्ने, अव्यवस्था फैल्याउने, उनीहरूमाथि बल प्रयोग गर्ने र उनीहरूलाई सताउने कार्य रोक्नेतर्फ लाग्नुपर्दछ ।

यसबाट शान्ति र सद्भाव विशेषता मानिएको नेपाली समाजमा अशान्ति र असहिष्णुताले प्रवेश पाएको छ । दोस्रो, आजसम्म यस किसिमको हिंसात्मक प्रवृत्तिबाट जनता मात्र पीडित हुने गरेको भए पनि अब यसको दिशा राजनीतिक नेतृत्वतर्फ निर्देशित हुन लागेको छ । दलीय नेताहरूप्रति जनताले बेलाबेलामा प्रदर्शन गर्ने आक्रोशलाई यसैको प्रमाणको रूपमा लिनुपर्ने हुन्छ ।

उल्लिखित विषयसँगै हामीकहाँ राजनीतिक नेतृत्वले सत्ता स्वार्थसिद्धिको लागि नांगो रूपमा विदेशीको दलाली गर्ने गरेको छ, जुन नेतृत्वको हरएक क्रियाकलापबाट प्रकट भइरहन्छ । उनीहरूले देशभित्रका आन्तरिक विषयमा समेत विदेशीहरूलाई हात हाल्ने अवसर प्रदान गरेर स्वाभिमानी नेपाली जनताको नजरमा आफूलाई नराम्रोसँग गिराएका छन् । त्यति मात्र नभएर दुई निकट छिमेकी राष्ट्रहरूबीच समान सम्बन्ध कायम गर्नुको सट्टा एउटाको पिछलग्गु भई अर्कोलाई चिढाउने कार्य गरेर नेपालको छवि अन्तर्राष्ट्रिय रूपमै अविश्वसनीय तुल्याएका छन्, जुन राष्ट्रवादी विरासत बोकेका नेपाली जनताले सहने कुरै भएन ।

नेपाली जनतालाई लागेको थियो-देशमा प्रजातन्त्र स्थापना भएपछि राजनीतिक नेतृत्व राष्ट्र एवं जनताप्रति उत्तरदायी हुनेछ, राज्य कानुनद्वारा शासित हुनेछ अनि जनताले समान व्यवहारको अनुभूति गर्नेछन् । तर विडम्बना, राजनीतिक नेतृत्व जनइच्छाविपरीत आफूले गरेको राजनीतिक लगानीको उच्च मुनाफा लिन ज्यान छोडेर लाग्न पुग्यो । उनीहरूले यसो गर्ने क्रममा राष्ट्र सबैको साझा हो भन्ने मान्यतासमेत झूटो साबित गर्दै राष्ट्रिय सम्पत्तिमा केही व्यक्तिको एकाधिकार कायम गर्दैछन् ।

उनीहरू राष्ट्रिय सम्पत्तिमा ब्रह्मलुट मच्चाउँदै छन्, जुन कार्यमा समाजविरोधी एवं राष्ट्रविरोधीहरू तिनीहरूका मतियार भएका छन् । दलीय नेतृत्वको यस किसिमको व्यवहार राष्ट्रप्रेमी जनहरूलाई सह्य हुने कुरै भएन । यसको परिणाम जनआक्रोशको रूपमा प्रकट हुन पुगेको छ । अहिलेको स्थितिमा सुधार नआउने हो भने यसले अझ विकराल रूप लिन सक्छ । तर पराइहरूको फन्दामा नराम्रोसँग जेलिएको दलीय नेतृत्वलाई यसप्रति कुनै चासो रहेको पाइँदैन ।

हुन त सरकारी तलब, भत्ता र सुविधा उपभोग गर्दै सरकारद्वारा उपलब्ध गराइएका सुरक्षाकर्मीहरू र आफ्ना पाल्तु गुन्डाहरूको सुरक्षा घेराभित्र रहेर राष्ट्र एवं जनविरोधी क्रियाकलापमा संलग्न नेताहरूलाई आफूहरूले जस्तोसुकै हर्कत गरे पनि कसैले केही गर्न सक्दैन भन्ने लागेको हुन सक्छ । तर अब जनताको धैर्यले सीमा नाघिसकेको छ । राजनीतिक शक्तिको बलमा हुने आपराधिक क्रियाकलापलाई सहन र छुट दिन जनता तयार देखिँदैनन् ।

त्यसैले जनताको आक्रोशले भयानक स्वरूप ग्रहण नगर्दै राजनीतिक नेतृत्वले आफ्नो आचरण एवं कार्यशैली सुधार्ने र समाजमा कुनै पनि स्वरूपमा जनतामाझ भेदभाव गर्ने, अव्यवस्था फैल्याउने, उनीहरूमाथि बल प्रयोग गर्ने र उनीहरूलाई सताउने कार्य रोक्नेतर्फ लाग्नुपर्दछ । जनताको भावनालाई सम्मान गर्नेहरूले जनताबाट असुरक्षित महसुस गर्नुपर्ने कुरै छैन ।

किनभने त्यस्तो नेतृत्वको सुरक्षा जनताले नै गर्दछन्, तर समाजलाई अपराधीकरण गर्न खोज्ने र जनतालाई असुरक्षित तुल्याउनेहरू भने आफैं असुरक्षित भइरहेका हुन्छन् । व्यापक सुरक्षा घेराभित्र रहँदारहँदै पनि समयसमयमा नेताहरूले जनआक्रोशको सिकार बन्नुपरेका घटनाहरूले यसैलाई प्रदर्शित गर्दछ । कथित राजनीतिक नेतृत्वले यसबाट केही शिक्षा लिन्छ वा अझ ठूला र खतरनाक घटनाहरूलाई निम्त्याउँछ ? यो भने हेर्न बाँकी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.