दुई बजे नै बन्द हुन्छन् स्वास्थ्य केन्द्र

दुई बजे नै बन्द हुन्छन् स्वास्थ्य केन्द्र

कपिलवस्तु: सरकारले सबै स्वास्थ्य संस्थाहरूको ओपीडी सेवा अनिवार्य रूपमा पाँच बजेसम्म खोल्नुपर्ने निर्देशन दिएको भए पनि जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रहरू निर्धारित समयसम्म खुल्ने गरेका छैनन् । नागरिक मैत्री स्वास्थ्य नीति लागू गर्दै सरकारले सुरु गरेको यो प्रयास जिल्लाका विभिन्न स्थानका स्वास्थ्यकर्मीहरूले लत्याएका हुन् । सरकारी नीतिविपरीत स्वास्थ्य केन्द्रहरू दुई नबज्दै बन्द गर्ने गरिएका छन् ।

जिल्लाको सोमडिह, बैदौली र गोटिहवा स्वास्थ्यचौकी दुई बजे नै बन्द गरिएको अनुगमनका क्रममा भेटिएको हो । स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट, अहेब, अनमी, कार्यालय सहयोगीलगायत सातजना कर्मचारीको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा भने दुई बजेपछि कुनै पनि कर्मचारी भेटिएनन् ।

कर्मचारी नियमित आउने गरे पनि स्वास्थ्यचौकी भने दुई बजेतिरै बन्द हुने गरेको सोमडिह ५ सुल्तनवापुरकी भोनु रैदासले बताइन् । सञ्चारकर्मी सोमडिह ५ स्थित सुल्तनवापुरमा बन्द अवस्थामा रहेको स्वाथ्यचौकीमा पुग्दा त्यहाँ आइपुगेका स्वास्थ्यचौकी इन्चार्ज अशोक कुमार मि श्रले अर्को गाउँमा कुष्टरोगी फेला परेकाले स्वास्थ्य केन्द्र बन्द गरेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले कार्यालय समयसम्म स्वास्थ्यचौकी खोल्न परिपत्र गरेको भए पनि आफूहरूले चाँडै स्वास्थ्य केन्द्र बन्द गर्नु त्रुटी भएको उनले स्वीकार गरे ।

बैदौली गाविस ५ मा रहेको बैदौली स्वास्थ्यचौकी पुग्दा त्यहाँ पनि दुई बजे नै स्वास्थ्यचौकी बन्द गरिएको अवस्थामा भेटिएको थियो । स्थानीय राधेश्याम पाठकले सरकारले कार्यालय समयसम्म स्वास्थ्य केन्द्र खोल्न निर्देशन जारी गरेको भए पनि हरेक दिन दुई बजे नै स्वास्थ्यचौकी बन्द गरिने गरेको बताए । स्वास्थ्य सेवा प्रदायकले सरकारको नीति उलंघन गर्दा स्थानीय मर्कामा परेको उनले बताए । आफूहरूले पटकपटक तोकिएको समय अवधिसम्म स्वास्थ्य केन्द्र सञ्चालन गर्न निर्णय गरेको भए पनि कर्मचारीहरूले अटेर गर्ने गरेको सोही गाविसका स्वास्थ्य व्यवस्थापन समितिका सदस्यले आरोप लगाए ।

कपिलवस्तु नगरपालिका १५ मा रहेको गोटिहवा स्वास्थ्यचौकीमा पुग्दा कर्मचारीहरू दुई बजे नै स्वास्थ्यचौकी बन्द गरेर हिँडिसकेका थिए । कपिलवस्तु नगरपालिकाको वडा कार्यालयमा कार्यरत कर्मचारी हरिकिशोर यादवले हरेक दिन दुई बजे नै स्वास्थ्यचौकी बन्द हुने गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरूप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रलाई जाडोको समयमा चार बजे र अन्य समयमा पाँच बजेसम्म स्वास्थ्य केन्द्र सञ्चालन गर्न परिपत्र गरिएको बताए । उनले समयअगावै स्वास्थ्य केन्द्र बन्द गर्ने कार्य भएको भए कारबाही प्रक्रिया अगाडि बढाइने बताए । सदरमुकामदेखि १५ किलोमिटर दूरीका स्वास्थ्य केन्द्रको अनुगमन गर्ने गरेको उनले बताए ।

कार्यालयका अनुसार १५ किलोमिटरभन्दा बढी दूरीमा रहेका स्वास्थ्य केन्द्रको अनुगमन गर्न जाँदा राजपत्र अंकित कर्मचारीले दैनिक एक हजार ६ सय र राजपत्र अनंकित कर्मचारीले दैनिक एक हजार दुई सय रुपैयाँ दैनिक भत्ता र यातायात खर्च पाउने व्यवस्था रहेको छ । भत्ता नपाउने भएकै कारण जिल्लाका कर्मचारीले सदरमुकामसँग १५ किलोमिटरको दूरीमा रहेका दुई दर्जनभन्दा बढी स्वास्थ्यचौकीमा अनुगमन गर्न जाँदैनन् ।

सदरमुकामबाट १५ किलोमिटरको दूरीमा रहेका लबनी, बासखोर, पकडी, अभिराव, डुमरा, धरमपनिया, दोहनी, हरनामपुर, पिपरा, गोटिहवा, पर्सोहिया, वसन्तपुर, रंगपुर, सोमडिह, सिहोखोर, बैदौली, सौराहा, गौरी, तितिर्खी, बलुहवा, तिलौराकोट, निग्लिहवा, कोपवा, हथौसा, जहदी र फुलिकामा कार्यालयको अनुगमन हुने गरेको छैन । पछिल्लो समय जिल्लाका सबै स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट, अहेब, अनमी, ग्रामीण स्वास्थ्य कार्यकर्ता, मातृशिशु कार्यकर्ता र कार्यालय सहायक गरी कम्तिमा पनि ७ जना कर्मचारी खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.