काठ तस्करीमा महिला पनि सक्रिय
सुर्खेतः पछिल्लो समय सुर्खेतमा काठ तस्करीमा संगठित गिरोह नै सक्रिय भएको छ । तस्करको गिरोहले रातको समयमा जंगलबाट काठ तस्करी गर्न थालेको हो । तस्करले अवैध रुपमा मध्यरातमा काठ सदरमुकाम वीरेन्द्रनगर भित्राउन थालेका हुन् । सोही क्रममा सात जना महिला पक्राउ परेका छन् भने ठूलो परिमाणमा काठसमेत बरामद भएको छ ।
रातको समयमा काठ तस्करी हुन थालेपछि वन कार्यालयले पनि रात्री गस्ती सुरु गरेको छ । जिल्ला वन कार्यालयका कर्मचारीले मध्यरातमा गस्ती गरी आइतबार रातीमात्र वीरेन्द्रनगरको वामेखोलाबाट अवैध काठसहित सात जना महिलालाई पक्राउ गर्यो ।
त्यसको २४ घण्टा बित्न नपाउँदै सोमवार जिल्लाकै छिन्चुबाट खोल्सामा लुकाई राखिएको ठूलो परिमाणमा काठ बरामद गरिएको छ । कार्यालयले दुई दिनमै एक सय ४० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरेको छ । यसले पनि वन कार्यालय काठ तस्करीमा संगठित गिरोह नै सक्रिय रहेको निस्कर्षमा पुगेको हो ।
आइतबार र सोमबारका यी दुई वटा घटना त उदाहरण मात्रै हुन् । पछिल्लो समय जिल्ला वन कार्यालयले जंगलमै गस्ती गरी धमाधम काठ र तस्करहरू पक्राउ गर्दै आएको छ । एक वर्षको अवधिमा करिब पाँच सय क्युफिट काठ बरामद भइसकेको कार्यालयले जनाएको छ ।
त्यसैगरी तस्करीमा संलग्न पाँच दर्जनभन्दा बढी व्यक्तिहरू यो अवधीमा काठसहित पक्राउ परेका छन् । उनीहरुलाई ऐन अनुसार मुद्दा दर्ता गरी सकिएको छ भने ३६ वटाको गत वर्ष मात्रै फैसला भएको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।
एकपछि अर्को गर्दै धमाधम काठ तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ पर्नु र लुकाई राखिएका काठ फेला पर्न थालेपछि जिल्ला वन कार्यालय काठ तस्करीमा संगठित गिरोह नै सक्रिय रहेको निश्कर्षमा पुगेको छ ।
जिल्ला वन अधिकृत विष्ट भन्छन्,‘जिल्लामा तस्करको संगठित गिरोह नै सक्रिय छ, पछिल्लो समय हामीले पक्राउ गरेको काठ र तस्करीमा संलग्न व्यक्तिहरूको तथ्यांकले पनि यसलाई पुष्टी गर्दछ ।' आइतवार पक्राउ परेका महिलाहरूले आफूहरू भरियाको रूपमा काम गर्दै आएको बयान दिएका छन् ।
तर रातको साढे दुई बजे पक्राउ परेकाले उनीहरू भरिया मात्र नभएर विगतदेखि नै तस्करीमा संलग्न भएको हुनसक्ने आंकलन वन कार्यालयले गरेको छ । ‘यस्तो चिसो मौसम छ, मध्यरातमा जंगलबाट काठ ओसार्न जाने व्यक्ति सामान्य भरिया मात्र होलान् भन्न मुस्किल छ' विष्टले भने,‘तर महिलाहरूले मुख्य नायिकेको रूपमा अर्को व्यक्तिको नाम लिएकाले पनि थप अनुसन्धान भइरहेको छ ।'
पक्राउ परेका महिलाहरूमाथि पनि कार्यालयले अनुसन्धान जारी राखेको छ । रातको समयमा महिलाहरु काठ तस्करीमा भेटिनु अनौठो भन्दै वन कर्मचारीले जिल्लामा काठ तस्करीको गिरोहलाई समात्ने प्रयास भइरहेको जनाएको हो ।
यस्तै सोमबार जिल्लाकै भेरीगंगा नगरपालिका १२ मा पर्ने तालवारी वन क्षेत्रमा लुकाएर राखिएको ठूलो परिमाणको चिरान र गोलिया काठ वनका कर्मचारीले बरामद गरेका छन् । इलाका वन कार्यालय छिन्चुका रेन्जर अशोक खत्रिसहितको टोलीले एक सय २० क्युफिट काठ बरामद गरेको हो ।
बरामद गरिएको काठमा ८८ थान अर्थात ४४.२८ क्यूफिट सालको चिरान काठ, ८.१७ क्युफिट सल्लोको चिरान काठ, साल गोलिया र फन्टा ९ को ६८.५४ क्युफिट रहेको वन अधिकृत विष्टले जानकारी दिए । ‘मानिसहरूको आवातजावत खासै नहुने खोल्साहरूमा चिरान गरी लुकाएर राखिएको रहेछ' अधिकृत विष्टले भने,‘अवस्था हेर्दा तस्करको गिरोहले नै यो काम गरेको देखिन्छ ।'
जिल्लाको ग्रामीण भेगबाट तस्करहरूले विभिन्न नाका प्रयोग गर्दै काठ सदरमुकाम भित्र्याउने गरेका छन् । सुचनाका आधारमा यस्ता नाकाहरूमा रातको समयमा पनि गस्ती गरी वन कार्यालयले काठ र तस्करहरू पक्राउ गरिसकेको छ ।
‘तस्करहरूको जालो फैलिएको छ' अधिकृत विष्टले भने,‘त्यसलाई तोड्न हामीले हाम्रो जनशक्ति र क्षमताले भ्याएसम्म प्रयास गरिरहेका छौं ।' तर नागरिकस्तरबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो उनले गरे । वन संरक्षणको जिम्मेवारी नागरिकको पनि भएको भन्दै उनले नागरिकहरू नै सचेत भएमा तस्करहरू आफै हतोत्साहि हुने बनाए ।
काठ तस्करी बढ्न थालेपछि वन कार्यालयका कर्मचारीहरुले रातभर जाग्राम बसेर गस्ती गर्न थालेका छन् । तस्करहरुले रातको समयमा भेरी नदीबाट समेत काठ वारपार गरेर तस्करी गर्ने गरेको वन कार्यालयले जनाएको छ । यस्तै सदरमुकामका विभिन्न नाकाबाट समेत काठ वीरेन्द्रनगर भित्रिने गरेको छ ।