दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
राजविराजः सप्तरीको कञ्चनपुरमा मोटरसाइल दुर्घटनामा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
बाटो काटिरहेको साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार सुनसरी ईनरुवा २ का ५९ वर्षिय नारायण भट्टराईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा गएराति मृत्यु भएको हो । त्यसैगरी मोटरसाइकल चालक मृतकका छोरा महेश भट्टराई र साइकलयात्री सप्तरी कञ्चनरुप ७ का २८ वर्षिय मधु साह सामान्य घाइते भएका छन् ।
घाइते मोटरसाइकल चालक भट्टराईको राजविराजस्थित अञ्चल अस्पतालमा र साहको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भएको छ । कञ्चनरुप ७ स्थित पूर्व–पश्चिम राजमार्गमा साइकलयात्रीलाई जोगाउन खोज्दा को. १७ प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।