गरिब अर्थमन्त्रीः एक तले गोठ र आठ रोपनी सुख्खा पाखो
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषद्का अर्थमन्त्री कृष्णबहादुर महरा गरिब देखिएका छन् । बुधबार सार्वजनिक सम्पत्ति विवरणमा उपप्रधानमन्त्री समेत रहेका महरा गरिब देखिएका हुन् ।
महराले हस्ताक्षर गरेर सार्वजनिक भएको सम्पत्ति विवरणमा रोल्पाको लिवाङ गाविस ८ मा नेपाली शैलीको दुई तले घर र एक तले गोठ भएको उल्लेख छ । उक्त सम्पत्ति पैतृक भएको सम्पत्ति विवरणमा लेखिएको छ ।
अन्य सम्पत्तिमा भने महराले लिवाङमै ८ रोपनी जग्गा भएको उल्लेख गरेका छन् । तर, उक्त जग्गा सुख्खा पाखो भएको र त्यहाँ केही पनि उत्पादन नहुने उल्लेख गरिएको छ ।
महराले सम्पत्तिका नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । महराको सम्पत्ति विवरणमा सुन र चाँदी हुँदै नभएको देखिएको छ । महराको बैंकमा रहेको ८० हजार रुपैयाँ मन्त्रीभएपछिको पारिश्रमिक भएको उल्लेख छ ।